रौतहट, १४ कात्तिक । बाराको फेटा गाउँपालिका–३ स्थित नवनिर्मित फेटा अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक रूप लिएको छ। गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले शनिबार नै अस्पताल उद्घाटन गर्ने अडान लिएपछि स्थानीयवासी र अध्यक्ष पक्षबीच तनाव बढ्दै झडप भएको हो।
झडपका क्रममा प्रहरीले बल प्रयोग गर्नुका साथै गोली चलाउँदा स्थानीय धर्मेन्द्र पासवानका करिब १४ वर्षीय छोरा अजित पासवान गम्भीर घाइते भएका छन्। अस्पताल उद्घाटन कार्यक्रमका लागि मञ्च व्यवस्थापनमा खटिएका किशोरको पेटमा गोली लागेको स्थानीय पत्रकार राजु चौरसियाले जानकारी दिएका छन्।
घाइते पासवानलाई तत्काल उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज पुर्याइएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

स्थानीयवासीका अनुसार अस्पतालमा आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था, उपकरण र अन्य आधारभूत पूर्वाधार पूर्ण रूपमा तयार नभएकाले तत्काल उद्घाटन नगर्न माग गरिएको थियो। उनीहरूले आवश्यक तयारी पूरा गरेर मात्रै अस्पताल सञ्चालनमा ल्याउनुपर्ने भन्दै विरोध गर्दै आएका थिए।
तर, गाउँपालिका अध्यक्ष अन्सारी आफ्ना समर्थकसहित उद्घाटनस्थल पुगेपछि विवाद थप चर्किएको स्थानीयको भनाइ छ। स्थानीय प्रशासनले समेत परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै तत्काल उद्घाटन कार्यक्रम रोक्न आग्रह गरेको स्थानीयको दाबी छ। यद्यपि अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले कार्यक्रम अघि बढाउन खोजेपछि दुई पक्षबीच तनाव बढेको बताइएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीबाट ढुंगामुढा भएको बताइएको छ। त्यसपछि प्रहरीले भीड नियन्त्रण गर्न गोली चलाएको हो।
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीका अनुसार अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले हवाई फायर गरेको थियो। तर, घाइते किशोरलाई लागेको गोली प्रहरीकै हतियारबाट चलेको हो वा अन्य स्रोतबाट लागेको हो भन्नेबारे प्रहरीले स्पष्ट पारेको छैन।
घटनापछि आक्रोशित स्थानीय युवाहरूले एक दर्जनभन्दा बढी मोटरसाइकलमा आगजनी गरेको स्थानीयले बताएका छन्। झडप र आगजनीपछि फेटा क्षेत्र तनावग्रस्त बनेको छ। सम्भावित थप घटनालाई ध्यानमा राख्दै घटनास्थल तथा आसपासका क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ।
सार्वजनिक स्वास्थ्य संस्थाको उद्घाटनलाई लिएर भएको विवादमा एक नाबालक गम्भीर घाइते हुनुका साथै सवारीसाधनमा आगजनीसमेत भएपछि घटनाले गम्भीर प्रश्न खडा गरेको छ। अस्पतालको सञ्चालन तयारी, उद्घाटन कार्यक्रम रोक्न गरिएको आग्रह, प्रहरीको बल प्रयोग र गोली प्रहारको अवस्थाबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग उठ्न थालेको छ।
घटनामा प्रहरीको बल प्रयोगको औचित्य, किशोरलाई लागेको गोलीको स्रोत र सार्वजनिक सम्पत्तिमा भएको क्षतिको वास्तविक विवरणबारे सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी छ।







प्रतिक्रिया