Banner news

सहाराको कामले राष्ट्रलाई ठुलो योगदान : कँडेल

सहाराको कामले राष्ट्रलाई ठुलो योगदान : कँडेल


देशभरका सहकारीमध्ये सहारा नेपाल ठुलो , एनएमसीलाई मर्जका लागि आव्हान

विर्तामोड । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले देशभरको सहकारी संस्थामध्ये सहारा नेपाल शेयर सदस्य, पुँजी र कार्यक्रमका हिसावले सबैभन्दा अगाडि रहेको बताएका छन् । उनले देशभरका ३० हजार सहकारीमध्ये सहारा नेपालले आफुलाई उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्न सफल भएको बताए ।

सहारा नेपालको २५ औं वार्षिक साधारणसभाको माइन्युट प्रमाणिकरण समारोहमा बोल्दै उनले सहकारीको अभियानमा बौल्दा सहारालाई कहिल्यै पनि नछुटाएको उनको भनाई छ । सहाराले अगाडि सारेका काममध्ये उत्कृष्ट १० योजनाले संस्थालाई थप उचाईमा पुराउने अध्यक्ष कँडेलको भनाई थियो । सहारा नेपालले सामाजिक क्षेत्रमा गरिरहेको योगदान राष्ट्रका लागि उदाहरणीय भएको बताउँदै उनले आगामी दिनमा आम सदस्यको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । सहकारी सफलताको बाटोमा अघि बढिरहेको भन्दै उनले लक्ष्य हासिल गर्न योजनाको प्रभावकारी कार्यान्वन गर्न आग्रह गरे । शिक्षा , स्वास्थ्य र रोजगार सिर्जनामा सहाराको भूमिका प्रभावकारी पाएको उनको भनाई छ ।

सहकारी अभियानका अगुवा समेत रहेका कँडेलले सहकारीको एकीकरण जरुरी रहेको बताए । सहाराले अघि सारेको ‘विग मर्जर’ कार्यक्रम स्वागतयोग्य रहेको धारणा राखे । सहकारी धेरै हुनुभन्दा पनि सदस्यलाई धेरै सहज रुपमा सेवा दिनु अहिलेको आवश्यकता रहेको कँडेलको भनाई छ । उनले सानो पुँजीका सबै सहकारीलाई एकीकरण गर्नुको विकल्प नरहेको धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति उद्वव थापा, नेकपा एमालेका अध्यक्ष चिन्तन पाठक, राप्रपाका अध्यक्ष केशव ओझा र प्रमुख जिल्ला अधिकारी श्रवणराज तिमिल्सिनाले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्दै उनीहरुले संमृद्धिको आधार स्तम्भ नै सहकारी भएको बताए । सहारा सहकारी क्षेत्रमा अब्बल संस्थाको रुपमा स्थापित भइरहेको भन्दै उनीहरुले संस्थाको प्रगतिमा आआफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले सहाराको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न आग्रह समेत गरेका छन् ।
सहारा नेपालका कार्यकारी निर्देशक महेन्द गिरीले कार्यक्रममा संस्थाले गर्दै आएका काम र आगामी योजना बारे जानकारी गराएका थिए । शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा गरेका काम र आगामी योजना सुनाएका गिरीले जिल्लाभित्रका ठुला सहकारी संस्थालाई मर्जका लागि आव्हान समेत गरे । कार्यकारी प्रमुख गिरीले एनएमसी, पूर्व नेपाल सहितका ठुला संस्थालाई एकीकरणका लागि आव्हान गरेका हुन् । उनले अल्पसंख्यक र अति विपन्न सदस्यका सन्तानलाई चिकित्सा शिक्षा (एमबिबिएस) अध्ययनका लागि १० जनालाई सहयोग गर्ने लक्ष्यसहितको कार्यक्रम अघि सारेको जानकारी दिए । सोअन्तर्गत पहिलो चरणमा दुई जनाबाट सुरु गरिनेछ ।

३७ करोड ५७ लाख रुपैयाँको अन्य कोष रहेको सहारा नेपालले संस्थाका दुई सय अति विपन्न सदस्यलाई रासन कार्डको माध्यमबाट चामल, दाल, तेल, नुन, चिनीमा ५० प्रतिशत अनुदान राहत उपलब्ध गराउने लक्ष्य लिइएको प्रतिवेदनमा उल्लेख छ । यो वर्षदेखि ‘मेरो गौरव, मेरो सहारा’ र ‘सधैँका लागि, सबैका लागि’ नयाँ नारा तय गरेको संस्थाले अघिल्ला वर्षहरुमा सञ्चालित स्वास्थ्य, सामाजिक, कृषिलगायतका कार्यक्रमहरुलाई अझ परिस्कृत गर्दै निरन्तरता दिने योजना बनाएको छ ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत उदयपुर र पाँचथरका विकट गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष चारवटा वितरण गरिने गिरीद्वारा प्रस्तुत हुने प्रतिवेदनमा छ । संस्थाले सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभूत डाइग्नोसिस सेवा प्रदान गर्न भवन निर्माण गर्ने योजना बनाएको छ । त्यस्तै, स्वास्थ्य र सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ । संस्थाले सदस्यहरुको उत्पादनलाई बजारीकरणमा सहज बनाउन सम्भाव्यता अध्ययन गरी कृषकका १० वटा उत्पादनलाई प्रशोधन, बजारीकरण र उत्पादन प्रविधिमा सहयोग गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा ४५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । गिरीद्वारा प्रस्तुत प्रतिवेदनअनुसार आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य बनाइएको छ । हाल संस्थाको वासलात १२ अर्ब ७१ करोड ८१ रुपैयाँ पुगेको छ ।

प्रतिवेदनअनुसार संस्थाले रणनीतिक योजनाअनुसार कार्य क्षेत्र विस्तार गरी प्रदेश १ भरि १३७ वटा स्थानीय तहमा पुग्ने लक्ष्य राखिएको छ । हाल सहारा नेपाल छ वटा जिल्लामा पूर्ण रुपमा र पाँच जिल्लाका दुईदुईवटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।
संस्थाले एकीकरण प्रयासअन्तर्गत सहाराको कार्य क्षेत्रभित्रका एक सयवटा राम्रा सहकारी संस्थाहरुसँग मर्ज गर्ने रणनीतिक योजना अघि सारेको छ । त्यस्तै, बचतमा बैंकको भन्दा उच्च ब्याजदर प्रदान गर्ने र ऋणमा बैंकसरह ब्याज दिने, सदस्यलाई मोबाइल बैंकिङ, क्युआर कोड, इटेलर, एटिएम सेवासहितको प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

गत असार मसान्तसम्म एक लाख ५० हजार ३५४ शेयर सदस्य रहेको सहाराले यो आर्थिक वर्षमा दुई लाख सदस्य र १६ अर्बको वासलात बनाउने प्रक्षेपण गरेको छ । एक अर्ब ४६ करोड ६५ लाख रुपैयाँ शेयर पुँजी रहेको सहाराले ‘म पनि उद्यमी’ कार्यक्रम अघि सार्दै आगामी चार वर्षभित्र १० हजार उद्यमी तयार गर्ने लक्ष्य लिएको छ । यो कार्यक्रमले सम्भाव्यता अध्ययन, तालिम, सीप, ऋण, बजार र प्राविधिक ज्ञानमा सहयोग गर्नेछ । संस्थासँग ९४ करोड एक लाख रुपैयाँ जगेडा कोष रहेको छ ।

सोही अवसरमा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मानबाट सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाललाई एक लाख १ हजार रुपैयाँसहित कदरपत्रले सम्मान गरिएको छ । सहकारी आन्दोलनमा बडाललाई सम्मन गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares