बिर्तामोड

प्रधानमन्त्री रोजगार कार्यक्रम बारे अभिमुखिकरण

प्रधानमन्त्री रोजगार कार्यक्रम बारे अभिमुखिकरण


झापा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक दिने अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा आर्थिक वर्ष २०७८-७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत वडागतरुपमा छनोट भएका आयोजनाहरु सञ्चालन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिकाका नगरप्रमुख धु्रवकुमार शिवाकोटीले नगरभित्रका उद्योग तथा कल कारखानाहरुमा स्थानीय कामदारहरुले काम पाउनु पर्ने धारणा राखेका छन् । भारतबाट आएका मजदुरहरुले काम गरिरहेको भन्दै उनले स्थानीय क्षेत्रमा स्थानीय कामदारहरुले काम पाउनु पर्ने बताए । यसबारेमा उद्योग तथा कलकारखानाहरुसंग समन्वय गर्न सम्बन्धित शाखालाई आग्रह समेत गरेका छन् । कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख पवित्रा महतारा प्रसाईले सबै वेरोजगारहरुलाई राज्यले सकेसम्म धेरै रोजगारको व्यवस्था गर्नु पर्ने बताइन् । उनले रोजगार दाताले दिएको काममा सबैले ध्यान दिएर गर्न पनि सहभागिहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले नेपाल सरकारबाट सञ्चालित भएका योजना तथा कार्यक्रमहरुमा वेरोजगारहरुलाई वर्षमा एक सय दिन रोजगार दिने नीति रहेको बताए । उनले रोजगारसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु नगरका १० वटै वडामा छनोट भईसकेको पनि जानकारी दिए ।

अभिमुखिकरण कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर १,२,३ र ४का १५ जना भन्दा बढीले सहभागिता जनाएको नगरको रोजगार सेवा केन्द्रका प्रमुख होमनाथ भट्टराईले जानकारी दिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares