बिर्तामोड । झापामा नयाँ मतदाता नामावली दर्ता गर्नेहरुको सहभागिता उत्साहजनक देखिएको छ । निर्वाचन आयोगले असार १ देखि शुरु गरेको मतदाता नामावली दर्तामा झापा जिल्लाभित्र उमेर पुगेकाहरु धमाधम नाम दर्ता गराइरहेका छन् ।
निर्वाचन कार्यालय भद्रपुरमा नाम दर्ता गराउनेहरुको ठुलै भिड लागिरहेको छ । कतिपयले भिडभाडका कारण नाम दर्ता नगराई फर्किएको पाइएको छ । भिड घटेपछि जाने भन्दै धेरै युवाहरु फर्किएका थिए ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी प्रसाद नेपालका अनुसार हरेक दिन नाम दर्ता गराउनेहरुको संख्या उल्लेख्य छ । असार १ देखि १० गतेसम्म दैनिक ९ सयको हाराहारीमा नयाँ मतदाता थपिएका छन् । यस्तै, १० देखि २२ गतेसम्म दैनिक ७ सय र सोमबार मात्रै करिव १२ सयले मतदाता नामावलीमा नाम दर्ता गराएको प्रमुख नेपालले जानकारी दिए ।
निर्वाचन कार्यालयले यतिवेला नामावली दर्ता, बसाईसराई आएकाहरुको ठाउँसारी गर्ने काम गरिरहेको छ । प्रमुख नेपालका अनुसार प्रदेश र केन्द्रको निर्वाचनको मिति नतोकिएसम्म मतदाता नामावली दर्ता चलिरहनेछ ।







प्रतिक्रिया