बिर्तामोड । बिर्तामोडमा कौशी तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । वडा नम्बर १ को कार्यालयमा सोमबार देखि आयोजना गरिएको २ दिने तालिम मंगलवार सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा महिला उद्यमी संघ नेपालले आयोजना गरेको तालिममा वडा नम्बर १ का विभिन्न टोल विकास समितिहरुबाट ३० जनाले सहभागिता जनाएका थिए ।

सहभागिहरुलाई पट, बक्स तथा ग्रो व्यागको तयारी, विरुवा रोप्ने तरिका, कौशी खेतीका लागि आवश्यक सामग्री, प्रयोग गर्ने विधि, विरुवाको हेरचाह, मल खाद दिने तरिका, काटछाँट गर्ने तरिका लगायतका बारेमा जानकारी गराइएको आयोजक संस्थाकी अध्यक्ष नैनकला भट्टराईले जानकारी दिइन् ।
तालिममा सहभागिहरुलाई हजारी ३० थान, ग्रो व्याग ७० थान, निमको विषादी ३० थान, फेरोमिन ट्रयाक ३० थान, पहेलो पासो ३० थान, सिड ट्रे, स्प्रे र गड्यौला मल १० किलोका दरले प्रदान गरिएको छ । तालिममा बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरिया, कृषि प्राविधिक अनु मोते, सुजित शाह र विषय विज्ञ विमल तामाङ्गले प्रशिक्षण प्रदान गरेका थिए ।
तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडाध्यक्ष तथा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले सिकेको सिपलाई सबैले सदुपयोग गर्न आग्रह गरेका छन् । कौशी खेतीबाट तरकारीमा लाग्ने खर्चमा धेरै कटौति हुने बताउँदै उनले तालिम उपलव्धिमुलक बन्नेमा विश्वास व्यक्त गरे । तालिम समापन कार्यक्रममा महिला उद्यमी संघ नेपालकी संस्थापक अध्यक्ष गोमा भट्टराई, वर्तमान अध्यक्ष नैनकला भट्टराई लगायतले मन्तव्य राखेका थिए ।







प्रतिक्रिया