बिर्तामोड । फोहोरमैलाको दीगो व्यवस्थापनका लागि निर्माण गरिएको कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा सञ्चालनको तयारीमा पुगेको छ । कुनै प्राविधिक समस्या नआए माघ अन्तिमदेखि सञ्चालन गर्ने सञ्चालक दिपक चापागाईले जानकारी दिए ।
०७५ देखि कनकाईमा निर्माण भइरहेको उर्जा प्लान्ट सञ्चालनको सम्पूर्ण तयारी पुरा गरिएको बताइएको छ । प्लान्टको संरचना निर्माणको काम सकिएको छ, चापागाईले भने – ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी काम सकेर माघ अन्तिमबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

काम सम्पन्न गर्न साथ प्लान्टको परीक्षण गरिने छ । त्यसपश्चात फोहोर संकलन गरेर प्लान्टबाट बायोग्यास, ठोस मल र झोल मल उत्पादन गरिनेछ । मल बाहेक निर्माण सामग्री (पेवर्स) बनाइने कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीका प्राविधिक जीवन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ४ हजार टन क्षमताको प्लान्टबाट हरेक दिन १ हजार केजी ग्यास, ४ हजार केजी ठोस मल र ३० हजार लिटर झोल मल उत्पादन गरिनेछ ।
ज्वलन क्षमता, तापिय शक्ति राम्रो भएको बायोग्यास सो प्लान्टबाट उत्पादन गरिने श्रेष्ठको भनाई छ । सरकारी र समुदायको लगानीबाट निर्माण भएको उर्जा प्लान्टमा कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिका समेतले लगानी गरेका छन् । सो उर्जा प्लान्टमा समुदायको ठुलो लगानी रहेको छ ।
६० प्रतिशत सरकारी लगानी हुने कनकाई नविकरणीय उर्जामा तीनै पालिको २ करोड ५४ लाखका दरले लगानी गर्नेछन् । त्यसमध्ये कनकाई ९१ लाख, अर्जुनधारा ४० लाख र बिर्तामोड नगरपालिकाले ७० लाख लगानी गरिसकेको छ । कुल २२ करोड लगानी हुने उक्त परियोजना सञ्चालनमा आएपछि फोहोरमैलाको दीगो व्यवस्थापन हुने बताइएको छ । पहिलो चरणमा जिल्लाका तीन पालिकाले लगानी गरे पनि थप तीन पालिकाहरु लगानीका लागि इच्छुक भएका छन् ।
शिवसताक्षी, मेचीनगर र भद्रपुर समेतले आफ्नो नगरको फोहोरमैला व्यवस्थापनका लागि कनकाई उर्जासँग सहकार्य गर्ने मनासाय बनाएका छन् । त्यसका लागि कम्पनी र पालिकाबीच छलफल पनि भइसकेको छ । इच्छुक पालिकाहरुले कार्यपालिकामा छलफल गरेर अघि बढन्े बताएका छन् ।

कनकाई उर्जा सञ्चालनपछि उत्पादित ग्यास ठुलो होटल र उधोगहरुमा निर्यात गरिने सञ्चालक मिनाल तिम्सिनाले जानकारी दिए । उनले प्लान्टबाट उत्पादित मल किसानलाई विक्रि गरिने बताए । ‘यहाँबाट उत्पादित मल अर्गानिक हुनेछ, यो मल प्रयोग गरेर किसानले पनि अर्गानिक उत्पादन गर्न सक्नेछन्’, तिम्सिनाले भने ।
परियोजनाका प्राविधिक श्रेष्ठले फोहोरको स्रोतमै वर्गीकरण हुन आवश्यक भएको बताएका छन् । स्रोतमा वर्गीकरण गरिएको फोहोर संकलन गरेर प्लान्टमा प्रयोग गरिनेछ । आम नागरिकले कुहिने, नकुहिने र धातुजन्य फोहोर अलग्गै छुट्टाएर दिनुपर्ने बताए ।
बिर्तामोड नगरपालिकाले वडागत रुपमा फोहोरमैलाको वर्गीकरणका लागि छलफल समेत सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले जानकारी दिए ।







प्रतिक्रिया