Banner news

शी लिड्सले महिला जनप्रतिनिधिलाई कुरा राख्न र बोल्न सिकायो

शी लिड्सले महिला जनप्रतिनिधिलाई कुरा राख्न र बोल्न सिकायो


गगन ढकाल

झापा । झापामा महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धिमा दलित महिला केन्द्र नेपाल (सिडिडब्लुएन) द्वारा सञ्चालित कार्यक्रम शी लिड्सले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

विर्तामोडको सिद्धार्थ होटलको सभा कक्षमा सम्पन्न ‘राजनीतिक दलममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था र कार्यान्वयनमा अन्तर’ विषयक अन्तरक्रियाको क्रममा झापाका महिला जनप्रतिनिधिहरुलाई शी लिड्सले क्षमता विकासमा मनग्ये सहयोग गरेको पाइएको हो ।

कार्यक्रममा बोल्दै दमक नगरपालिका ७ की पूर्व जनप्रतिनिधि गायत्रा लामिछाने घिमिरेले शी लिड्सले आफ्नो क्षमता अभिवृद्धि गराइदिएको बताइन् । उनले शी लिड्सले महिला जनप्रतिनिधिको घरमै गएर परिवारलाई पनि सामाजिक क्षेत्रमा महिलाले किन काम गर्नुपर्छ भन्ने बुझाएर आफूलाई राजनीतिमा लाग्न र सामाजिक काम गर्नमा सहयोग गरेको बताइन् । यसैगरी कमल गाउँपालिकाकी जनप्रतिनिधि कल्पना राईले शी लिड्ले जनप्रतिनिधि हुनुको गरिमा बोध गराएको बताइन् । उनले भनिन्, ‘शी लिड्सले हामीलाई जनताले के अपेक्षा राख्छन् र तिनीहरुको सम्बोधन कसरी गर्न सकिन्छ भनेर सिकाएको छ । हामीले के काम गर्नपर्छ र त्यसको योजना कसरी बनाउने समेत सिकाएको छ ।’

यसैगरी विर्तामोड २ की पूर्वजनप्रतिनिधि निता घतानीले शी लिड्ले क्षमता वृद्धिमा धेरै सहयोग गरेको बताइन् । उनले शी लिड्सले क्षमता भएका र कम क्षमता भएका महिलाहरुलाई एकै ठाउँमा ल्याएर समान–समान क्षमता बनाउने काम गरेको बताएन् । साथै उनले शी लिड्सले महिलाहरुलाई हामी पनि पुरुष समान छौं हैं भन्ने बुझाएको बताइन् ।

बुद्धशान्ति ३ की जनप्रतिनिधि नर्बदा बास्कोटाले शी लिड्सले महिला जनप्रतिनिधिहरुलाई अगाडि आएर कुरा राख्न र बोल्न सक्ने बनाएको बताइन् । उनले भनिन्, ‘शी लिड्सले हाम्लाई बजेटमा सहभागी हुन देखि लक्ष्य निर्धारण योजना तर्जुमा गर्नसम्म सिकाएको छ । यो संस्थाले हाम्रो परिवारसम्म पुगेर हाम्रो पारिवारिक स्थिति पनि बुझेको छ ।’

यसैगरी विर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य तिला गौतमले शी लिड्सले विभिन्न चरणमा तालिम दिएर उनीहरुलाई जागरुक बनाएको बताइन् । उनले आफू अगाडि उभिएर निर्धक्क बोल्न सक्नुको सम्पूर्ण जस शी लिड्सलाई दिएकी छिन् ।

यसरी शी लिड्स कार्यक्रम मार्फत महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिमा निरन्तर कार्यरत सिडिडब्लुएनले शनिबार महिला जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा नेताहरुसँग अन्तक्रिया गरेको हो । उक्त अन्तरक्रिया कार्यक्रममा संस्थाकी महासचिव गौरा नेपालीले कार्यक्रमको औचित्य पुष्टि गरेकी थिइन् । उनले नेतृत्वमा महिलाहरुको प्रभावकारी उपस्थिति र भूमिका स्थापित गराउन यो संस्थाले निरन्तर काम गरिरहेको बताइन् । उनले यस संस्थाले राजनीतिमा लैङ्गिक समानतालाई केन्द्रमा राखेर काम गर्ने बताइन् । साथै उत्पीडित महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नै संस्थाको स्थापना भएको बताइन् ।

कार्यक्रममा संविधान सभा सदस्य तथा संस्थाकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी परियारले दलहरुले आफ्नो नीति तथा घोषणा पत्रमा महिलाका पक्षमा लेखेका कुरा र दलहरुमा महिलाहरुको स्थितिको आधिकारिक तथ्यांक प्रस्तुत गरेकी थिइन् । उनले तथ्यांक प्रस्तुतको क्रममा राजनीतिक दलहरुले चुनावी गठबन्धनको क्रममा महिला नेतृत्व स्थापित गर्ने कुरालाई थप उपेक्षा गरेको बताइन् ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष दिपक कार्कीले राजनीतिमा महिलाहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराउन समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताए । उनले प्रत्येक निर्वाचनका लागि चिठ्ठा मार्फत आरक्षण क्षेत्र छुट्याइनु पर्ने बताए । उनले भने, ‘लक्षित वर्गलाई यसकै वर्गसँग चुनावी प्रतिस्पर्धा गराउदा मात्र राजनीतिमा उक्त वर्गको प्रत्यक्ष सहभागिता हुन्छ । नत्र अभिजात वर्गलाई मजदुरसँग, पुरुषलाई महिलासँग प्रतिस्पर्धा गराउँदा अपवाद बाहेक प्रायः लक्षित वर्गले हार्ने समस्या छ ।’ उनले भने, ‘हाम्रो पार्टी समावेशिताको नेतृत्व गर्ने पार्टी हो । हामी समाजका सबै लक्षित वर्गलाई राजनीतिक नेतृत्वमा स्थापित गराउन लागिपरेका छौं ।’

यसैगरी नेपाली काङ्ग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईले जातीय आरक्षण भन्दा पनि आर्थिक वर्गको आधारमा आरक्षणको व्यवस्था गरिनुपर्ने बताए । उनले आजको राजनीतिमा आर्थिक कुराले स्थापित हुने की नहुने भन्ने निर्धारण गर्ने गरेको बताए । साथै समानुपातिक प्रणालीमा पनि अभिजात वर्गको वर्चश्व हुँदै गएकाले यो प्रणली खारेज गर्नुपर्ने बताए । उनले पनि चिठ्ठा मार्फत आरक्षणमा क्षेत्र निर्धारण गरेर चुनाव गराउनु पर्ने बताए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला सचिव कुमार थापाले एमाले र काङ्ग्रेसका नेताहरुको विचारप्रति बिमती राख्दै आरक्षण र समानुपातिक निर्वाचन पद्धति दुबै गलत भएको धारणा व्यक्त गरे । उनले राप्रपामा महिलाको सहभागिता चाँडै ५० प्रतिशत अनिवार्य गरिने बताए । साथै उनले आरक्षण गरेर सहानुभूति देखाउनु भन्दा लक्षित वर्गको सम्बोधन बजेट मार्फत गरिनु पर्ने बताएका छन् ।

यसका साथै नेकपा माओवादीमा जिल्ला सचिवालय सदस्य माधव अर्यालले निर्वाचन प्रणली पूर्ण समानुपातिक हुनुपर्ने बताए । उनले देशलाई नै एउटा निर्वाचन क्षेत्र बनाएर समानुपातिक ढंगले नेतृत्व स्थापित गराउनु पर्ने बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज र पूर्व जनप्रतिनिधि डिल्लीराम घिमिरे लगायतका नेताहरुले आफ्नो विचार राखेका थिए ।

संस्थाका झापाका प्रमुख प्रशिक्षक सोमराज ढकालले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाकी जिल्ला संयोजक सम्झना पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन् ।

शेयर गर्नुहोस :

0
Shares