Banner news

विचारको शक्ति र मानव जीवनको रूपान्तरण

विचारको शक्ति र मानव जीवनको रूपान्तरण

फादर जगत वाग्ले


मनको शुद्धता, आत्मिक अनुशासन र त्रिएक परमेश्वरसँगको सङ्गतिबाट जीवनमा आउने परिवर्तन मानव जीवनको दिशा निर्धारण गर्ने अदृश्य शक्तिमध्ये विचार एक महत्वपूर्ण शक्ति हो । मानिसले जे सोच्छ, त्यसले उसको दृष्टिकोण निर्माण गर्दछ । दृष्टिकोणले निर्णयलाई प्रभावित गर्छ, निर्णयले कर्मलाई जन्म दिन्छ र कर्मले अन्ततः उसको चरित्र तथा जीवनको मार्ग निर्धारण गर्छ । त्यसैले विचार भनेको मनमा उत्पन्न हुने क्षणिक कल्पना मात्र होइन, यो व्यक्तिको आन्तरिक संसार र बाह्य व्यवहारलाई जोड्ने एउटा महत्वपूर्ण सेतु हो ।

मानिसको जीवनमा विचारको प्रभाव कति गहिरो हुन्छ भन्ने कुरा धर्मशास्त्रका विभिन्न प्रसङ्गबाट पनि बुझ्न सकिन्छ । आमोस ४ः१३ मा परमेश्वरलाई मानिसको विचार जान्नुहुने र सृष्टिमाथि सार्वभौम अधिकार राख्नुहुने प्रभुका रूपमा प्रस्तुत गरिएको छ । अय्यूब ३२ः७ मा उमेर र अनुभवको सम्बन्धमा विचार व्यक्त गरिएको छ । त्यहाँ ज्येष्ठ व्यक्तिहरूले बोल्नु र दीर्घ अनुभव भएकाहरूले बुद्धि प्रकट गर्नु स्वाभाविक मानिएको छ । त्यस्तै, १ कोरिन्थी १ः२६ मा सन्त पावलले विश्वासीहरूलाई आफ्नो बोलावट र परमेश्वरको अनुग्रहबारे विचार गर्न आह्वान गरेका छन् ।

यी धर्मशास्त्रीय सन्दर्भहरूले हामीलाई एउटा महत्वपूर्ण सत्यतर्फ डोर्याउँछन्, मानिसले आफ्नो जीवनलाई बाहिरी परिस्थितिका आधारमा होइन, आफ्नो अन्तरात्मा, विवेक र विचारको शुद्धताका आधारमा पनि मूल्याङ्कन गर्नुपर्छ ।
विचार भनेको अदृश्य तर प्रभावशाली शक्ति हो, विचार आँखाले देख्न नसकिने भए पनि त्यसको प्रभाव मानिसको जीवनमा स्पष्ट रूपमा देखिन्छ । एउटा सानो विचारले ठूलो निर्णय जन्माउन सक्छ । एउटा सकारात्मक दृष्टिकोणले निराश व्यक्तिमा आशा जगाउन सक्छ भने एउटा नकारात्मक धारणाले सम्बन्धमा दूरी र हृदयमा अशान्ति उत्पन्न गर्न सक्छ ।

मानव अस्तित्वलाई बुझ्दा शरीर, मन, बुद्धि र आत्मिक जीवनबीचको सम्बन्धलाई गम्भीरतापूर्वक विचार गर्न आवश्यक छ । मानिस भौतिक शरीर मात्र होइन; ऊ विवेक, चेतना, नैतिक जिम्मेवारी र आत्मिक खोज भएको अस्तित्व हो । पूर्वीय अर्थोडक्स ख्रीष्टियन परम्पराले मानिसलाई परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि गरिएको प्राणीका रूपमा बुझ्दछ, उत्पत्ति १ः२६–२७)। यस अर्थमा मानिसको विचार, इच्छा र स्वतन्त्र निर्णयले उसको आत्मिक यात्रामा महत्वपूर्ण स्थान राख्छ ।

मानिसले आफ्नो विचारलाई जुन दिशामा अभ्यस्त बनाउँछ, उसको व्यवहार पनि क्रमशः त्यही दिशातर्फ उन्मुख हुन थाल्छ । प्रेमको विचारले करुणा जन्माउँछ, क्षमाको विचारले सम्बन्धलाई पुनःस्थापित गर्न सहयोग गर्छ र सत्यको विचारले इमानदारीपूर्ण जीवनतर्फ डो¥याउँछ । यसको विपरीत, घृणा, ईष्र्या, अहङ्कार र प्रतिशोधले मानिसको आन्तरिक शान्ति खल्बल्याउन सक्छन् ।

त्यसैले विचारको शुद्धता व्यक्तिगत जीवनको मात्र विषय होइन, यो परिवार, समाज र समग्र मानव सम्बन्धसँग पनि गहिरोसँग सम्बन्धित भएर जोडिएको छ ।

विचारले चरित्र निर्माण गर्छ, मानिसको वास्तविक व्यक्तित्व उसको बाहिरी पहिरन, पद, प्रतिष्ठा वा सम्पत्तिले मात्र निर्धारण गर्दैन । उसको हृदयमा रहेका विचार, व्यवहारमा देखिने विनम्रता र अरूप्रतिको दृष्टिकोणले उसको वास्तविक परिचय दिन्छ ।

एउटा सुन्दर भनाइ छ, “जस्तो भित्र, त्यस्तै बाहिर ।” यसको आशय के हो भने मानिसको आन्तरिक अवस्था उसको बाह्य व्यवहारमा कुनै न कुनै रूपमा प्रतिबिम्बित हुन्छ । हृदयमा करुणा भएको मानिसको बोलीमा कोमलता देखिन्छ । सत्यप्रति प्रतिबद्ध मानिसको व्यवहारमा इमानदारी झल्किन्छ र परमेश्वरप्रति श्रद्धा राख्ने मानिसको जीवनमा नम्रता तथा सेवाभाव प्रकट हुनुपर्छ ।

हितोपदेश ४ः२३ मा भनिएको छ, “सबै कुराभन्दा बढी आफ्नो हृदयको रक्षा गर, किनकि जीवनका मूल स्रोतहरू त्यसैबाट निस्कन्छन् ।” यो वचनले मानव जीवनमा हृदयको केन्द्रीय महत्त्वलाई स्पष्ट पार्छ ।

हाम्रो हृदयमा प्रवेश गर्ने विचार र धारणाहरूले हाम्रो बोली तथा व्यवहारलाई प्रभावित गर्छन् । त्यसैले अरूको निन्दा गर्ने, अपमान गर्ने, चोट पु¥याउने र द्वेष फैलाउने प्रवृत्तिबाट टाढा रहनुपर्छ । मानिसका शब्दहरू कहिलेकाहीँ तीरजस्तै हुन्छन् । ती अरूको हृदयमा गहिरो घाउ बनाउन सक्छन् । त्यसको प्रभाव सम्बन्धमा मात्र सीमित रहँदैन, बोल्ने व्यक्तिको आफ्नै आत्मिक अवस्थालाई समेत प्रभावित गर्न सक्छ ।

यसकारण विचारको शुद्धता भनेको राम्रो सोच राख्नु मात्र होइन, अरूको मर्यादा स्वीकार गर्नु, न्यायपूर्ण व्यवहार गर्नु र आफ्नो बोलीलाई प्रेम तथा विवेकको अधीनमा राख्नु पनि हो ।

क्रोधभन्दा करुणा, घृणाभन्दा प्रेम, मानव जीवनमा क्रोध, भय, चिन्ता, शोक र निराशाजस्ता भावनाहरू स्वाभाविक रूपमा आउन सक्छन् । तर ती भावनाले हाम्रो विवेक र निर्णयमाथि स्थायी नियन्त्रण जमाउन दिनु हुँदैन । क्रोधले सम्बन्ध बिगार्न सक्छ, घृणाले हृदयलाई कठोर बनाउन सक्छ र निरन्तर चिन्ताले मानिसको मानसिक शान्तिमा प्रतिकूल प्रभाव पार्न सक्छ ।

यसको विपरीत, प्रेम, दया, उदारता र क्षमाले मानिसलाई आन्तरिक रूपमा बलियो बनाउँछन् । प्रेम भनेको भावनात्मक अनुभूति होइन, प्रेम भनेको अरूको दुःख बुझ्ने, आवश्यकतामा सहयोग गर्ने, गल्तीमा क्षमा प्रदान गर्ने र न्यायपूर्ण व्यवहार गर्ने जीवनपद्धति हो ।

प्रभु येशू ख्रीष्टको सम्पूर्ण जीवन प्रेम, करुणा, क्षमा र सेवाको सर्वोच्च उदाहरण हो । उहाँले शत्रुलाई समेत प्रेम गर्न र सताउनेहरूका निम्ति प्रार्थना गर्न सिकाउनुभयो (मत्ती ५ः४४)। उहाँको शिक्षाले मानिसलाई बाहिरी धार्मिक आचरणमा सीमित राख्दैन, बरु हृदयको रूपान्तरणतर्फ डोर्याउँछ ।

अर्थोडक्स आत्मिक परम्परामा मानिसको रूपान्तरणलाई अत्यन्त महत्व दिइन्छ । पापबाट फर्केर परमेश्वरतर्फ उन्मुख हुनु, हृदयलाई शुद्ध बनाउनु, नम्रता धारण गर्नु र प्रेममा वृद्धि हुनु नै आत्मिक जीवनको मूल यात्रा हो । यसलाई मानवीय इच्छाशक्तिको उपलब्धि नभई परमेश्वरको अनुग्रहसँगको सहकार्यका रूपमा बुझिन्छ ।

विचारको खेती र आत्मिक अनुशासन, हाम्रो मनलाई एउटा उर्वर खेतसँग तुलना गर्न सकिन्छ । खेतमा जस्तो बीउ रोपिन्छ, समय र हेरचाहअनुसार त्यस्तै फल प्राप्त हुन्छ । त्यसैगरी मनमा बारम्बार पोषण दिइने विचारहरूले हाम्रो स्वभाव र चरित्रमा प्रभाव पार्छन् ।

यदि हामीले मनमा ईष्र्या, घृणा, प्रतिशोध र अहङ्कारलाई स्थान दिइरह्यौँ भने तिनले हाम्रो सम्बन्ध र आत्मिक जीवनलाई कमजोर बनाउँछन् । तर प्रेम, क्षमा, सत्य, धैर्य र सेवाका विचारलाई निरन्तर अभ्यास ग¥यौँ भने तिनले हाम्रो चरित्रलाई सुन्दर बनाउँछन् ।

सन्त पावल लेख्छन् : फिलिप्पी ४ः८ मा विश्वासीहरूलाई सत्य, आदरणीय, न्यायपूर्ण, शुद्ध, प्रेमयोग्य र प्रशंसनीय कुराहरूमा ध्यान केन्द्रित गर्न आग्रह गर्छन् । यो शिक्षा आजको समयमा पनि उत्तिकै सान्दर्भिक छ ।
विशेषगरी आधुनिक समाजमा मानिस अनेकौँ सूचना, दृश्य, विचार र प्रभावहरूको बीचमा बाँचिरहेको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यम र विभिन्न प्रकारका सामग्रीले हाम्रो सोचाइलाई प्रभावित गरिरहेका छन् । त्यसैले हामीले के पढिरहेका छौँ, के हेरिरहेका छौँ, कस्तो सङ्गत गरिरहेका छौँ र कस्ता कुरालाई आफ्नो हृदयमा स्थान दिइरहेका छौँ भन्ने विषयमा सचेत हुन आवश्यक छ ।

मनको अनुशासन भनेको नकारात्मक विचार कहिल्यै नआउनु होइन । बरु त्यस्ता विचार उत्पन्न हुँदा तिनलाई विवेकपूर्वक पहिचान गर्नु, गलत धारणालाई त्याग्नु र सत्य तथा सदाचारतर्फ आफ्नो मनलाई पुनः निर्देशित गर्नु हो ।

आत्मिक स्वास्थ्य र परमेश्वरसँगको सङ्गति, मानिसको स्वास्थ्यलाई शारीरिक अवस्थाबाट मात्र मापन गर्न सकिँदैन । मानसिक शान्ति, भावनात्मक सन्तुलन, सामाजिक सम्बन्ध र आत्मिक सन्तुष्टिले पनि जीवनको गुणस्तर निर्धारण गर्छन् ।
यद्यपि सबै रोग वा दुःखलाई नकारात्मक विचारको परिणाम ठान्नु उचित हुँदैन । रोगका शारीरिक, जैविक, वातावरणीय र अन्य विभिन्न कारण हुन सक्छन् । त्यसैले बिरामी वा पीडित व्यक्तिलाई दोष दिनुको सट्टा सहानुभूति, उपचार, प्रार्थना र आवश्यक सहयोग प्रदान गर्नु हाम्रो मानवीय तथा ईश्वरी दायित्व हो ।

प्रेम, क्षमा, प्रार्थना र आशाले कठिन परिस्थितिमा मानिसलाई धैर्य धारण गर्न तथा जीवनप्रति सकारात्मक दृष्टिकोण कायम राख्न सहयोग गर्छन् । विशेषगरी दुःख र निराशाको समयमा मानिसले आफू एक्लो छैन भन्ने अनुभूति पाउनु अत्यन्त महत्त्वपूर्ण हुन्छ ।

भजनसंग्रह ४६ः१० मा भनिएको छ, “शान्त होओ, र म नै परमेश्वर हुँ भनी जान ।” यो वचनले बाहिरी कोलाहलबीच पनि परमेश्वरको उपस्थितिमा शान्त भएर आफ्नो जीवनलाई आत्मिक रूपमा मूल्याङ्कन गर्न आमन्त्रण गर्छ ।

प्रार्थना भनेको माग्ने मात्र कार्य होइन, यो परमेश्वरको उपस्थितिमा आफ्नो हृदय खोल्ने, आफ्ना कमजोरी स्वीकार गर्ने, उहाँको इच्छालाई बुझ्ने र उहाँको अनुग्रहमा भरोसा राख्ने आत्मिक अभ्यास हो । नियमित प्रार्थना, पवित्र धर्मशास्त्रको अध्ययन, पवित्र चर्चको आराधना, पवित्र संस्कारहरूमा सहभागिता र आत्मिक सङ्गतिले मानिसलाई विश्वासमा दृढ बनाउँछन् ।

पूर्वीय अर्थोडक्स परम्परामा मानिसको जीवनलाई परमेश्वरसँगको सङ्गतिमा निरन्तर रूपान्तरण हुँदै जाने यात्राका रूपमा हेरिन्छ । यस यात्राको केन्द्रमा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ ।

जीवन परिवर्तनको आरम्भ आफ्नै हृदयबाट हुनुपर्छ, धेरै मानिस आफ्नो जीवनमा देखिएका कठिनाइ र असफलताको कारण बाहिरी परिस्थितिमा मात्र खोज्ने गर्छन् । निश्चय नै समाज, परिवार, आर्थिक अवस्था र विभिन्न परिस्थितिले मानिसको जीवनमा गहिरो प्रभाव पार्छन् । तर ती परिस्थितिका बीचमा हामीले कस्तो दृष्टिकोण राख्ने, कस्तो निर्णय गर्ने र कस्तो व्यवहार अपनाउने भन्ने विषयमा हाम्रो व्यक्तिगत जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

अतीतका गल्तीहरूलाई बारम्बार सम्झेर आफूलाई निरन्तर दोषी ठहर्याउनु समाधान होइन । बरु तिबाट शिक्षा लिएर वर्तमानलाई सुधार्नु र भविष्यप्रति आशावादी हुनु आवश्यक छ ।

पवित्र धर्मशास्त्रले मानिसलाई पश्चात्ताप, क्षमा र नयाँ जीवनको आशा प्रदान गर्छ । पश्चात्ताप भनेको गल्ती स्वीकार गरेर दुःखी हुनुमा मात्र सीमित हुदैन, यो गलत मार्गबाट फर्केर सत्य र धार्मिकताको बाटोमा अघि बढ्ने जीवन्त निर्णय हो ।
रोमी १२ः२ मा सन्त पावलले यस संसारको चालमा नचल्न, तर मनको नवीकरणद्वारा रूपान्तरित हुन आग्रह गरेका छन् । यो वचनले वास्तविक परिवर्तन बाहिरी देखावटबाट होइन, मानिसको आन्तरिक सोचाइ र आत्मिक चेतनाको नवीकरणबाट सुरु हुन्छ भन्ने सन्देश दिन्छ ।

हामीले आफ्नो जीवनमा परिवर्तन चाहन्छौँ भने सर्वप्रथम आफ्नो विचार, उद्देश्य र व्यवहारको इमानदार समीक्षा गर्नुपर्छ । अरूको कमजोरी खोज्नुभन्दा आफ्ना कमजोरी पहिचान गर्नुपर्छ । अरूलाई दोष दिनुभन्दा आफूले सुधार गर्न सक्ने पक्षमा ध्यान दिनुपर्छ। अरूको जीवनमा अन्धकार देखाउनुभन्दा आफ्नै जीवनमा सत्य र प्रेमको प्रकाश प्रकट गर्नुपर्छ ।
हाम्रो विचारलाई ख्रीष्टमा केन्द्रित गरौँ, मानिसको जीवन जन्मदेखि मृत्युसम्म विभिन्न अनुभव, सङ्घर्ष, निर्णय र परिवर्तनको यात्राबाट अघि बढ्छ । यो षयात्रामा विचारले महत्वपूर्ण भूमिका निर्वाह गर्छ। विचारले हाम्रो दृष्टिकोणलाई प्रभावित गर्छ, दृष्टिकोणले निर्णयलाई र निर्णयले हाम्रो चरित्र तथा व्यवहारलाई आकार दिन्छ ।

त्यसैले हामीले आफ्नो हृदयमा कस्ता विचारलाई स्थान दिइरहेका छौँ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । हाम्रो सोचाइमा सत्य होस्, बोलीमा नम्रता होस्, व्यवहारमा करुणा होस् र जीवनमा प्रेम प्रकट होस् ।

हामी परमेश्वरलाई जान्न चाहन्छौँ भने उहाँको वचनमा मनन गरौँ । प्रेमको अनुभव गर्न चाहन्छौँ भने प्रेम बाँढौँ । क्षमा पाउन चाहन्छौँ भने अरूलाई क्षमा गर्न सिकौँ । शान्ति खोज्छौँ भने परमेश्वरको उपस्थितिमा आफ्नो हृदयलाई स्थिर राखौँ ।
हामीले स्मरण गर्नुपर्ने कुरा के हो भने मानिसको वास्तविक महानता सम्पत्ति, पद वा प्रतिष्ठामा होइन, उसको शुद्ध हृदय, सद्विचार, विनम्रता र प्रेमपूर्ण जीवनमा निहित हुन्छ ।

प्रभु येशू ख्रीष्टले दिनुभएको प्रेम र सत्यको मार्गमा हिँड्दै हाम्रो मन तथा विचारलाई नवीकरण गरौँ । किनकि परमेश्वरसँगको जीवित सङ्गतिले मानिसको हृदयलाई रूपान्तरण गर्छ र रूपान्तरित हृदयबाट नै शान्ति, क्षमा, सद्भाव र सेवाको जीवन प्रवाहित हुन्छ ।

आज हामीले आफैँलाई एउटा प्रश्न सोध्नुपर्छ, हाम्रा विचारहरूले हाम्रो जीवनमा कस्तो फल फलाइरहेका छन् ? यदि ती विचारले प्रेम, सत्य, क्षमा र शान्तिको फल दिइरहेका छैनन् भने आजैदेखि तिनलाई सुधार्ने यात्रा सुरु गरौँ ।

यरुशलेम बिलिभर्स इस्टर्न चर्च, भद्रपुर, झापा

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu