Banner news

झापामा आगलागी हुँदा दमकललाई सधैं पानीकै पिरलो, छैन ‘फायर हाइड्रेन्ट’

झापामा आगलागी हुँदा दमकललाई सधैं पानीकै पिरलो, छैन ‘फायर हाइड्रेन्ट’

प्रदीप परियार


बिर्तामोड । झापाको बिर्तामोडस्थित सिद्धार्थ होटल नजिकै बुधबार बिहान राजेश मण्डलको दुईतले घरमा आगलागी भयो । आगलागी नियन्त्रणका लागि जिल्लाभरका ७ वटा दमकल बिर्तामोड आए । बिर्तामोड नगरपालिकाको सहित ७ वटा दमकलले साढे पाँच घण्टामा आगो नियन्त्रणमा लिए । आगलागीबाट ६ करोड बराबरको क्षति भएको छ ।

आगो नियन्त्रणका लागि दमकललाई पानीको जोहो गर्न धौधौ भयो । कुनै दमकल पानी भर्नका बुट्टाबारीतिर कुदे भने कुनै दमकल बिर्ताबजार तिर । बिर्तामोड नगरपालिकाले पानी भर्न बनाएको मोटर एक पटक भरेपछि लाइन गयो । लाइन गएपछि फेरि पानीसहितको खोल्सा खोज्नुपर्ने भयो ।

बुट्टाबारीको चिया बगानभित्र खोल्साको पानी ल्याउन समय धेरै लाग्ने भएपछि आगो फैलिने जोखिम झनै बढ्यो । पानी भर्न आपत परेपछि सिद्धार्थ होलटको व्यवस्थापन पक्षले स्वीमिङ पुलको पानी प्रयोग गर्न अनुमति दियो ।

नविन मेचे

७ वटा दमकललाई पानी भर्न असहज भइरहेको बेला सिद्धार्थ होटलले आफ्नो स्वीमिङ पुलको पानी प्रयोग गर्न दिएको व्यवस्थापक उत्तम खत्रीले जानकारी दिए । होटल नजिकै भएकाले दमकलमा पानी भर्दै निभाउन स्वीमिङ पुल प्रभावकारी बन्यो । दमकलले स्वीमिङ पुलको पानी भर्दै गयो, होटल व्यवस्थापन पक्षले स्वीमिङमा पानी भर्दै गयो, व्यवस्थापक खत्रीले भने ।

आगलागीका हरेक घटनामा दमकललाई बजार क्षेत्रमा पानीको स्रोतमा सधैं समस्या हुने गरेको छ । दमकललाई पानी भर्ने फायर हाइड्रेन्ट नहुँदा आगो नियन्त्रण सधैं चुनौतिपूर्ण हुँदै गएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई फायर हाइड्रेन्ट भनिन्छ । फायर हाइड्रेन्टको व्यवस्था गर्न नसक्दा आगलागी भएको दिन दमकलको दौडधुप हुने गरेको छ । तत्काल पानीको व्यवस्था नहुँदा निभाउन समय लाग्ने गरेको दमकलका कर्मचारीहरु बताउँछन् ।
बिर्तामोडमा भएको आगलागी नियन्त्रण गर्न ५० प्रतिशत पानी सिद्धार्थ होटलबाट प्रयोग गरिएको बिर्तामोड नगरपालिकाका दमकल इञ्चार्ज नविन मेचेले जानकारी दिए । उनका अनुसार होटलको पानी चलाउन नपाएको भए आगो निभाउन अझै धेरै समय लाग्ने थियो ।

बिर्तामोडमा मात्र होइन, जिल्लाका अन्य ठाउँहरुमा पनि दकमललाई पानी भर्न निश्चित ठाउँ अर्थात फायर हाइड्रेन्ट पोइन्टहरु बनाइएको छैन । काम चलाउन मोटरहरु राखेर पानीको जोहो गर्नुपर्ने बाध्यता छ । मोटर बाहेकको विकल्पमा दमकलहरु घटनास्थल नजिक रहेका खोल्साहरु दौडिने गरेका छन् ।

भद्रपुर नगरपालिका परिसरमा ४ इन्चको मोटरबाट पानी भर्ने व्यवस्था मिलाइएको छ । जहाँ आगो लागेपनि भद्रपुरमा नगरपालिका नै आउनुपर्ने बाध्यता छ । विधुत नभएको समयमा उक्त मोटर चल्दैन । नगर प्रहरी समेत रहेका टोइला मर्डीले २० मिनेटमा पानी भरेर घटनास्थल जाने गरेको बताउँछन् । भीडभाड हुने बजार, चोकहरुमा पानीका लागि निश्चित स्रोत नभएको उनको भनाई छ । उनी भन्छन्, – नगरपालिकाबाट नजिकै छ भने पालिका नै आउँछौं, टाढा छ भने नाला खोल्साको भर पर्नुपर्छ । भद्रपुरमा पनि फायर हाइड्रेन्ट पोइन्ट नरहेको मर्डीले जानकारी दिए ।

‘फायर हाइड्रेन्ट’

यस्तै, दमक नगरपालिकाका दमकल चालक रोशन तामाङले वडा नं. ३ र ४ मा पानी भर्ने ठाउँ रहेको जानकारी दिए । त्यो ठाउँ बजारभन्दा टाढा हो । नगरपालिकामा ३ इन्चको मोटरबाट पनि पानी भर्ने गरिएको छ । विधुत अवरुद्ध भएको समयमा जेनेरेटरबाट मोटर चलाएर पानी भर्ने गरिएको छ । दमकको बजार क्षेत्रमा पनि दमकलका लागि पानी भर्न फायर हाइड्रेन्ट नबनाएको तामाङले जानकारी दिए ।

दमकलका लागि फायर हाइड्रेन्ट पोइन्ट नहुँदा दमक बाहिर जाँदा पनि समस्या हुने गरेको उनको भनाई छ । बुधबार बिर्तामोडमा पनि उस्तै समस्या भोग्नुपरेको तामाङ बताउँछन् । होटलको पानी तानेर आगो निभाइयो, उनले भने – टाढा जानु परेको भए निभाउन समय लाग्ने थियो ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले यस क्षेत्रमा दमकललाई पानी व्यवस्था गर्न फायर हाइड्रेन्ट बनाउने तयारी गरिएको बताए । उनले बिर्तामोडको चारै क्षेत्रमा पायक पर्ने गरी विभिन्न स्थानमा उक्त व्यवस्था मिलाउने जानकारी दिए । बिर्तामोड चोक, चारपाने, बुट्टाबारी लगायतका क्षेत्रहरुमा फायर हाइड्रेन्ट पोइन्ट राख्ने योजना रहेको बताए । यसअघि पनि केही ठाउँमा राखिएको थियो, अहिले सडक निर्माणको क्रममा समस्या भएको छ, बाँस्तोलाले भने – फेरि बनाउने गरी लागेका छौं ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu