बिर्तामोड । नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीको आयोजनामा अन्तरपार्टी मैत्रीपूर्ण भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ ।
शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको पावन अवसर पारेर शुभकामना आदानप्रदान तथा एक दिवसीय अन्तरपार्टी मैत्रीपूर्ण भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गरिएको नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले जानकारी दिए ।

राजनीतिक दलहरुबीभ आसपी सद्भाव कायम गर्न मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । प्रतियोगिता आगामी कार्तिक २१ गते शनिबार बिहान १० बजेदेखि पशुपति माध्यमिक विद्यालय राजगढको खेलमैदानमा सञ्चालन हुनेछ ।
अध्यक्ष सापकोटाका अनुसार उमेरले केही पाका भए पनि जोस र उत्साहले भरिएका नेता तथा कार्यकर्ताहरूबीच हुने यो मैत्रपूर्ण खेल अत्यन्तै मनोरञ्जनात्मक र चाखलाग्दो हुने अपेक्षा गरिएको छ । बाह्रदशीमा क्रियाशिल प्रमुख ६ राजनीतिक दलहरू रास्वपा, कांग्रेस, एमाले, राप्रपा, नेकपा र श्रम संस्कृति पार्टीबीच खेल सञ्चालन गरिने जनाइएको छ । खेल अवलोकनका लागि केन्द्र, जिल्ला तथा पालिका तहका नेता एवं कार्यकर्ताहरूको उत्साहजनक सहभागिताका लागि आयोजक नेकपा एमाले बाह्रदशीले अपील समेत गरेको छ ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि खेलसम्बन्धी विभिन्न नियम सार्वजनिक गरिएको छ । खेलमा बाह्रदशीमा स्थापित ६ वटा दलका भेट्रान्स खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ र खेल अवधि १५–१५ मिनेटको रहनेछ । फिफा नियम अनुसार खेल सञ्चालन गर्ने एमालेले जनाएको छ ।
प्रत्येक टिममा ३५ देखि ४० वर्षसम्मका २ जना, ४० देखि ५० वर्षसम्मका ४ जना र ५० वर्षभन्दा माथिका ४ जना खेलाडी अनिवार्य रूपमा सहभागी हुनुपर्नेछ । खेलाडीहरूले आफू आबद्ध राजनीतिक दलको चुनाव चिह्न अंकित जर्सी लगाउनुपर्नेछ भने मैत्रीपूर्ण खेल भएका कारण एम्पायरको निर्णयलाई नै अन्तिम निर्णयको रूपमा स्वीकार गरिनेछ । विशुद्ध मेलमिलाप र सहकार्यका लागि आयोजित खेलमा खेलाडीहरू पार्टीको जुनसुकै भूगोल र जिम्मेवारीमा रहेको भए पनि सहभागितामा कुनै आपत्ति नरहने स्पष्ट पारिएको छ ।
खेलको टाइसिट निर्धारणका लागि कार्तिक १८ गते बुधबार दिउँसो ठीक ४ः०० बजे राजगढस्थित मिनी क्याफेमा गोलाप्रथा कार्यक्रम राखिएको छ । खेल अवधिभर कुनै गम्भीर प्रकृतिको चोटपटक लागेमा खेलाडी स्वयं नै जिम्मेवार बन्नुपर्नेछ भने अन्य नियम तथा निर्णयहरू आपसी समझदारीमा तय गरिने जनाइएको छ ।







प्रतिक्रिया