बिर्तामोड । राजवंशी समुदायको मौलिक भाषा, धर्म, संस्कृति तथा ऐतिहासिक पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा ‘हुकाहुकी सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ ।
राजवंशी युवा समिति झापाको आयोजनामा आगामी कार्तिक २१ गते बिर्तामोड नगरपालिका–९, गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयको खेलमैदानमा सो कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ । उक्त कार्यक्रममा १० हजार राजवंशी र अन्य समुदायले अवलोकन गर्ने जनाइएको छ ।

राजवंशी समुदायमा हुकाहुकी पुख्र्यौली धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा विशेषगरी तिहार (दीपावली) को समयमा मनाउने गरिन्छ । कुस वा जुटको सन्ठीबाट निर्मित हुक्का (राँको) बालेर सामूहिक रूपमा खेल्ने, दिवंगत पुर्खा तथा अग्रजहरूको सम्झना गर्ने, कुलदेवता र ग्रामदेवताको स्मरणका साथै परिवार र समाजको सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा यस पर्वसँग जोडिएको छ ।
आधुनिकताको प्रभावसँगै मौलिक परम्पराहरू ओझेलमा पर्दै गइरहेको अवस्थामा हुक्काहुक्कीको महत्व नयाँ पुस्तामाझ परिचित गराउँदै यसको संरक्षण र पुस्तान्तरण गर्न कार्यक्रमको आयोजना गरिएको युवा समितिका अध्यक्ष विश्वदिप राजवंशीले जानकारी दिए । कार्यक्रममार्फत राजवंशी समुदायको लोकगीत, लोकसंगीत, नृत्य, भेषभूषा तथा मौलिक कलाको संरक्षण गर्दै समुदायबीच एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।
पुर्खाहरूको स्मरण, धार्मिक आस्था, कृषि संस्कृति तथा प्रकृतिप्रतिको सम्मान, सांस्कृतिक पहिचानको निरन्तरता र सामाजिक एकता सुदृढ बनाउन हुकाहुकी पर्वको ठूलो योगदान रहने राजवंशी युवा समितिका सचिव सन्दिप राजवंशीले जानकारी दिए ।
कार्यक्रमलाई सम्पूर्ण राजवंशी समुदायको साझा सांस्कृतिक अभियानका रूपमा अघि बढाइएकाले सम्पूर्ण अग्रज, बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि तथा आम नागरिकहरूलाई उपस्थिति भई ‘हुकाहुकी सांस्कृतिक कार्यक्रम’ लाई सफल बनाउन कोषाध्यक्ष रोजिन राजवंशीले आग्रह गरिएको छ ।
पत्रकार सम्मेलनमा राजवंशी समुदायका अगुवा विष्णुप्रसाद राजवंशीले हुकाहुकीको महत्वबारे जानकारी गराएका थिए ।







प्रतिक्रिया