बिर्तामोड । सधैं संगठन विस्तार र आसनभाषणमा सक्रिय हुने दलका अगुवाहरु तरकारी उत्पादनमा क्रियाशिल भएका छन् । कृषि क्षेत्रमा किसानलाई प्रोत्साहन गर्न नेकपा एमाले बाह्रदशीका अगुवाहरु यतिवेला तरकारी उत्पादनका लागि खेतवारीमा भेटिन थालेका छन् ।
असोजको सुरुबाट सागसब्जीको विरुवा उत्पादनमा लागेको नेकपा एमाले बाह्रदशीले अहिले विरुवा रोप्न सुरु गरेको छ । कतिपय विरुवाहरु लगाइसकिएको छ, पार्टी अध्यक्ष अनिल सापकोटा भन्छन् – केहि विरुवाहरु लगाउने काम भइरहेको छ । संगठन निर्माण, विचार प्रवाह र उत्पादनमा सामुहिक एकता जागृत गर्न नेकपा एमाले बाह्रदशी तरकारी खेतीमा लागेको अध्यक्ष सापकोटाको भनाई छ ।

अध्यक्ष सापकोटाका अनुसार पार्टी राजनीतिसँगै कृषि उत्पादनमा लागेर आर्थिक उपार्जन गर्न २ विघामा सामुहिक तरकारी खेती गरिएको छ । एमाले बाह्रदशीले टमाटरका ३ हजार विरुवा, कोपीका १६ हजार र खोर्सानीका २ हजार विरुवा लगाइएको उनको भनाई छ । एमालेले पार्टीका टोल कमिटी अध्यक्ष गंगा काफ्लेको जमिनमा तरकारी खेती गरिरहेको छ ।
तरकारी खेती गर्नुको मुख्य उद्देश्य कृषि क्षेत्रमा हौसला प्रदान गर्न रहेको छ । खेतीका लागि पार्टीले लगानी गरेको छ भने पार्टी मातहतबाटै विक्री गरिने जनाइएको छ । बाह्रदशी वडा नं. ५, बद्री गाउँमा पार्टी सदस्य, शुभेच्छुक, अगुवा कृषकहरुले तरकारी खेतीमा सहयोग गरिरहेका छन् ।







प्रतिक्रिया