बिर्तामोड । राजनीतिक दलहरुबीच आपसी एकता कायम गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरपार्टी मैत्रीपूर्ण भेट्रान्सको उपाधि राप्रपा बाह्रदशीले जितेको छ ।
नेकपा एमाले बाह्रदशी गाउँकमिटीले आज आयोजना गरेको मैत्रीपूर्ण भेट्रान्स फुटवल म्याचमा एमालेलाई ट्राइबेकरमा हराउँदै राप्रपा बाह्रदशी विजयी भएको हो ।
राप्रपाले नेपाली कांग्रेसविरुद्ध ३ गोल गर्दै सेमीफाइनल प्रवेश गरेको थियो । सेमीफाइनलमा नेकपा बाह्रदशीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । यस्तै, रास्वपा बाह्रदशीलाई ३–० गोल अन्तरले पराजित गर्दै श्रम संस्कृति पार्टी बाह्रदशी सेमीफाइनल प्रवेश गरेको थियो । सेमीमा एमालेले श्रम संस्कृतिविरुद्ध १ गोल गर्दै फाइनलको यात्रा गरेको थियो । मैत्रीपूर्ण फुटवलमा एमाले र नेकपा वाईमा परेका थिए । उपाधि विजेता राप्रपा र उपविजेतालाई ट्रफी प्रदान गरिएको थियो ।

मैत्रीपूर्ण फुटवलले आपसी एकता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको अतिथिहरुको धारणा थियो । अन्तरपार्टी एकताले मात्रै समाज रुपान्तरणमा मद्दत पुग्ने उनीहरुको भनाई थियो ।
नेकपा एमाले बाह्रदशीका खेलकुद समिति संयोजक युवराज राजवंशीको अध्यक्षतामा सम्पन्न मैत्रीपूर्ण भेट्रान्समा एमाले केन्द्रीय सदस्य मनोज ताम्ली लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रामकुमार सिंह राजवंशी, एमाले नेता हरि बहादुर राजवंशी, हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन, एमाले कोशी प्रदेश सदस्य बसन्त बाँनिया, एमाले झापाका सचिव तुलसी कार्की, नेपाली कांग्रेसका महासमिति सदस्य राम दुलाल, नेकपा कोशी प्रदेश सदस्य पदम थापा, रास्वपाका क्षेत्रीय सभापति कमल बाँनिया, श्रम संस्कृति पार्टी बाह्रदशीका अध्यक्ष लिलादेव राई, बाह्रदशी जेसीजबाट सदिक्षा खड्का, उद्योग वाणिज्य संघ बाह्रदशीका खगेन्द्र कार्की र पशुपति माविका प्रअ गुणनिधि लुईटेलले शुभकामना मन्तव्य राखेका थिए ।

नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन खेलकुद समिति सचिव आकाश क्षेत्रीले गरेका थिए । खेल पशुपति माविको खेल मैदानमा भएको हो ।








प्रतिक्रिया