Banner news

कथा : इच्छा – २

कथा : इच्छा – २


गगन ढकाल

 

गणतन्त्र घाँडो भो
संघीयता घाँडो भो
छोटे राजा चाइँदैन
सयौं राजा पाल्न पाइँदैन
लोकतन्त्र मुर्दावाद, लोकतन्त्र मुर्दावाद
सारा जन्ता के भन्छन्, हाम्रो राजाले भन्छन्
राजा आउँ देश बचाउ !!

फाँट भरी धान पाकेका छन् । किसानलाई धान काट्न, बिटा बान्न, कुनिउ लाउन, धान थन्काउन, भकारी बान्न यस्तै यस्तै चटारो छ । गाउँमा युवाको नाममा त्यही गोडा तीनएक तन्नेरी र गोडा तीन एक तरुणी छन् । जो खेतीको लगभग काम जान्दैनन् । खेतीको काम जन्ने नै गन्दा त एकै हातको औला काफी छन् । तिनलाई खेतीको कामबाट फुर्सद छैन । धमाधम काममा छ गाउँ ।

भर्खरै पर्व सकिएर होला गाउँमा मौसम र मन दुवै ठिहिरिँदोे छ । मौसम मंसिर लागेर ठिहिरिएकोे हो । त्यसैगरी मन चाहिँ सहरबाट आएका केही थान आफन्त भर्खरै सहर फिरेकाले ठिहिरिएको हो । व्यस्त गाउँमा रमाइला गफ छन् । सबै सँग आ–आफ्नो पर्वको कथा छन् । … व्यथा छन् !

यस्तै व्यस्ततामा पनि गाउँमा विभिन्न विषयमा तर्क हुन्छन् । प्रायः सबैको आफ्नो आफ्नो विचार हुन्छन् । आज लेखक अचम्ममा छ । ए… गाठे के हो यस्तो ? किन सबै गाउँमा सबै विषयका विज्ञ हुन्छन् हँ ? फेरि गाउँका विज्ञहरुको कुरा किन मनासिव लाग्छन् ? कसरी उनीहरुको तर्कमा वौद्धिकता झल्किन्छ ? आँखिर डाँडाघरे गुरुङ्नी बोजुलाई राजनीतिक व्यवस्थाको पाठ कस्ले पढायो ? यि गाउँलेहरुले इतिहास र समाज विज्ञान कहिले पढे ?

हाम्रो गाउँमा भट्टीको परम्परा छैन । तर, चिया बिना लगभग कसैको प्राण छैन । यहाँका हरेक मान्छे चियाका निम्ति सायद सती जान नि तयार छन् । हाम्रो गाउँलाई चिया गाउँ भने फरक पर्दैन । धान काट्ने काम दिउँसो भएसी बिहान एकछिन गाउँ फुर्सद मै हुन्छ । फुर्सदमा सबैको गन्तव्य राई बाजेको चिया पसल हुन्छ । गाउँमा तरुणदेखी बृद्धसम्मको बिहानीको चुस्की लिने ठाउँ यही हो । हामी यसलाई प्रेमले भेटघाट चौतारा भन्छौं ।

गाउँको दुःख र सुखको प्रत्यक्षदर्शी भएको नाताले मेरो पनि बिहानीको सुरुवात भेटघाट चौतारीको गाउँ प्रसिद्ध चियाकै चुस्कीबाट हुन्छ । सदैं उत्रो चर्का–चर्की र नोक–झोक नहुने यो चौतारी आज तर्कहरुले गुल्जार छ । हरेक मुण्ड आफ्नो बौद्धिकता देखाउन तल्लिन छ । कुनै मुण्ड उक्साउन तल्लिन छ, कुनै म जस्तै अवाक छ । कुनै मुण्डलाई दोहोरीमा सुर मिलाए झैं हो मा हो मिलाउनु छ । कुनै मुण्डलाई आफ्नो तर्क नै सर्वोपरी बनाउनु छ । कोही सबैलाई समेट्न चाहान्छन्, कोही मेट्न । …बिचारबाटै !

म ताजुवमा छु । आश्चर्य साथ यि सबैको तर्क सुनिरहेको छु । विकास काठमाडौंमा कमर्स पढ्छ । हरेक दिन समाचार अपडेट हुने पत्रपत्रिकाको आलेखहरु पढ्ने उसको नित्य कर्मलाई यसले भूलेको वर्षै भयो । आजकल उ सामाजिक सञ्जाल र युटुबमा आएको तर्क बितर्क हेर्न मै व्यस्त छ । हाम्रो पुस्तामा उ पढाकुको रुपमा परिचित थियो । आज भेटघाट चौतारीलाई गुल्जार बनाउँदै विचार चौतारी बनाउने कामको सुरुवात उसैले गरेको हो । विकासले सबै सामु एक प्रश्न छाड्यो, ‘हाम्रो देशमा संघीयताको अर्थ के ?’, ‘यत्रो खर्चिलो प्रदेशको के काम ?’, ‘यत्रा सांसद किन पाल्न पर्ने ? यो संघीयता खारेज गर्न पर्छ ।’, ‘आखिर शक्तिहीन प्रदेशको औचित्य के ?’

माथ्लाघरे साल्दाइ फ्याट् बोलिहाले ‘ठिक कुरो गरो केटोले । यो पार्टीका झोले पाल्ने प्रदेशको के काम । यो देशमा प्रदेशको औचित्य के ?’ साल्दाइले सबैलाई चुप लगाएर केही समय लोकतन्त्रमा भित्रिएका वेधितिहरुको व्यख्या गरे । समय–समयमा आइरहने विभिन्न काण्डहरुको चर्चा गरे । उनले विविध काण्डहरुको जननी मानेर लोकतन्त्रको औचित्य माथि प्रश्न उठाए । वेथिति माथिको उनको प्रश्न व्यवस्था माथिकै अविश्वास हुँदै यस व्यवस्था नै खतम गरेर राजतन्त्र ल्याउन पर्नेमा गएर टुङ्गियो । साल्दाइले संकलन गरेको सूचनाहरु र उनको प्रस्तुतिशैलीले म अवाक भए । त्यहाँ उपस्थित प्रायः सबै चुपचाप भए । साच्चै साल्दाइले क्या सानदार तर्क राख्यो, मनमनै सोचेँ । के साच्चै यो व्यवस्थाको अर्थ छैन ? के पहिले साच्चै राम्रो थियो ?

चर्कै लोकतन्त्रवादी हर्केले साल्दाइलाई हियाएर भन्यो, ‘२१औं शताब्दीमा आएर पनि एक परिवारको दास हुन खोज्नेहरु त मान्छे हुन् जस्तो लाग्दैन हौं मलाई त । यो युगमा आएर नि के एउटा परिवारको दास हुनु ।’ हर्कै चल्तापुर्ता विद्यार्थी नेता हो । उ क्रान्तिकारी छ । प्रायः हरेक कुरामा उसलाई चित्त बुझ्दैन । चित्त नबुझेको कुरा फ्याट् भनिहाल्छ । उ लोकतन्त्रका निम्ति मर्न पनि तयार एक प्रखर लोकतन्त्रवादी हो ।

हर्केको कुरो भुँइमा झर्न साथ साल्दाइ चर्के, ‘तेरा गणेहरुले गरेका छन् नि खुब । बेसी हेपेर बोल्दो रछ ए…। घोडा चड्न नपाएर काङ्ग्रेस बन्ने र सत्ताको वरपर ढुल्न नपाएर कम्युनिष्ट भएकाहरुले यो देश बनाउनेको बिरुद्ध बोल्न लाज हुन्न ? बडामहाराज श्री ५ पृथ्वीनाराण शाहाले अर्जेको मुलुक हो यो । दलका झोलेहरुले लुछि खान बनाएको देश हैन ।’

साल्दाइको चर्काइले भेटघाट चौतारीमा केही बेर सन्नाटा छायो । सन्नाटालाई चिर्दै विकासले भन्यो, ‘अब राजा ल्याउने आन्दोलनमा लाग्न पर्छ सबै । यि छोटेराजा धेरै भए । धेरै छोटेराजाको भन्दा एक बडामहाराजको शासन ठिक हो । हाम्रा बाले त उहिले राजा मर्दा पनि कपाल काटेर छाक छाडेको रे । अब लोकतन्त्र मासी पुनः राजसंस्था ल्याउन हामीले छाक छाड्न परे पनि तयार हुनुपर्छ ।’

पर्तिर मुडामा बस्नुभएको गुरुङ्नी आमाले हास्दै भन्नूभयो, ‘ए तेरा बाले सामान्ति मर्दा कपाल काटेर छाकै पो छाडे ?’ बाबु तलाई लाग्दो हो देश अहिले बिग्रियो पहिले ठिक थ्यो । तर, त्यस्तो होइन । पहिलैबाट बिग्रिएको हाम्रो देश अहिले पनि बन्न नसकेको मात्र हो । बडा महाराज पृथ्वीनारायणलाई यो देशमा स्कूल बनाउन कस्ले रोकेको थियो ? शाहा कालमा न बोल्न पाइन्थ्यो न लेख्न, न त मन लाग्दी किताब पढ्न नै पाइन्थ्यो । दरबारको भजनमात्र गाउन पर्ने ।

सपना देख्दा नि दरबारकै पूजा गरेको देख्नपर्ने । उ बेला एक हुल मान्छेले शासन गर्थे हामी सबै रैति थियोैं । म त अचम्ममा परे त्यस्ता सामान्ति मर्दा पनि तेरा बाले कपाल काटेर छाक छाडे भन्दा त । उ बेला दरबारमा खुरापात मात्र भयो । कसरी एउटालाई पन्साएर आफूले शासन गर्ने भन्नेमा मात्र ध्यान गयो । त्यसैले कस्ता कस्ता काण्डहरु भए तलाई थाहा छ ? यत्तिको पढेलेखेको मान्छे छस् केटो अझ पढ है । धेरै पढेर मलाई पनि तैले पढेको कुरा सिका है भन्दै आमै लजाउँदै मुख छोपेर पसल बाहिर निस्किनु भयो ।

गुरुङ्नी आमैको प्रस्तुति र कुराले मलाई प्रभाव पारो । अघिसम्म साच्चै लोकतन्त्र गलत रैछ भन्ने मेरो धारणामा प्रश्न चिन्ह खडा भयो । मैले सबै सामू जिज्ञासा राखे ‘तुलनात्मक रुपमा लोकतन्त्र राम्रो होला कि राजतन्त्र ?’ ‘आखिर खर्च बढाउने संघीयताको के नै काम होला र हैन ?’

मेरो प्रश्न भुँइमा झर्न साथ हर्केले भन्यो करिब ४००० पालिकालाई संघीयताले ७५३ मा झारेको छ । पाँच विकास क्षेत्र र १४ अञ्चल गरी १९ बिचौला राज्य संरचना थिए । ती सबैलाई ७ प्रदेशले प्रतिस्थापन ग¥यो भने खर्च घट्यो कि बढ्यो ?

यहाँनेर प्रश्न उठ्ला ‘अञ्चल र विकास क्षेत्रमा प्रदेशमा जस्तो सभा र सांसद थिएनन् भन्ने तर, सबै मन्त्रालयका क्षेत्रीय निर्देशनालय र अञ्चल कार्यालयहरु थिए । विकास क्षेत्र प्रमुखको पद थियो । अझ पञ्चायत र राजा ज्ञानेन्द्रको पालामा त अञ्चलाधिशको पनि कार्यालय थियो । अञ्चलाधिशहरुले अहिलेको मुख्यमन्त्रीले भन्दा कम शक्ति, स्रोत, साधन प्रयोग गर्थे ? झन् धेरै गर्थे । त्यो बेलाका विकास क्षेत्र र सबै अञ्चलहरुमा, मन्त्रालयका तहगत कार्यालय र निर्देशनालय थिए । क्षेत्रीय प्रमुख र अञ्चलाधीश थिए ति सबै अहिले खारेज भएका छन् । यो खर्च बढेको हो कि घटेको ? त्यतिखेर ती सबै राजाले रोजेका मान्छे हुन्थे । अहिले जनताले रोजेका ।

हर्केले कुरा राखे पछि चिया पसलमा केही बेर मौनता छायो । यो मौनता यति निखुर थियो कि हरेकको चियाको चुस्की सुनिन्थ्यो सु..रु.प सु..रु.प ! केही समयको मौनतालाई भंग गर्दै विकासले भन्यो ल ठिक छ यति त माने तर प्रदेशको शक्ति के ? शक्ति हिन राज्यको निकाय राख्नुको अर्थ के ?

विकासको प्रश्न पछि सानो स्वरमा नजिकैको विद्यालयमा करिब ३० वर्षदेखि सामाजिक पढाउँदै आउँनुभएको थापा सरले भन्नु भयो ‘लोकतन्त्र र राजतन्त्रको तुलना गर्नु नै गलत हो । यहाँबाट काठमाडौं जानका निम्ति बयलगाढि ठिक कि कार ठिक भन्ने पनि प्रश्न हुन्छ र ?’ आम नेपाली जनताले उखालेर फ्याँकेको व्यवस्थासँग आमजनताले ल्याएको व्यवस्थाको तुलना गर्नु नाजायज मात्र हैन प्रगतिशील नेपाली जनताको भावनालाई कुल्चनु हो । हामी नै हौं गहकिला पुस्तक र प्रगतिशील गीत गाउन नपाएको पुस्ता । कालो पञ्चायत देखि ज्ञानेन्द्रको निरंकुश शासनसम्म भोगेको पुस्ता ।

सञ्चारमाध्यममा सेन्सर लगाउने, सम्पादकको कन्चटमा पोस्तोल दागेर आफ्नो पक्षमा समाचार लेखाउने त्यो शासनसँग यस स्वतन्त्र युगको कुनै तुलना हुनै सक्दैन । हजारौं नेपाली युवाहरुको बलिदानिपूर्ण क्रान्तिले जन्माएको लोकतन्त्र, जनताको शासनमा तिमीलाई कोही नेता गलत लागे आवधिक निर्वाचनमा हराउन पाउने छुट छ । नेताले गरेका गल्ति र बदमासीहरु प्रति स–प्रमाण प्रश्न उठाउन पाउने छुट तिमीमा छ । यसका साथै प्रदेशमा शक्ति छैन भन्नु अध्ययनको कमी हो । हाम्रो संविधानमा यसको अधिकार क्षेत्रको बारेमा स्पष्ट व्यख्या गरिएको छ । के तिमीले हाम्रो संविधान पढेका छौं ? हालका केही नेताहरुले यस अधिकारलाई स्थापित गर्न सकेनन् भन्दैमा यो शक्तिहीन भन्न मिल्दैन बरु यसको प्रभावकारी प्रयोगको निम्ति हामी जस्ता मान्छेहरुले निरन्तर खबरदारी गर्दै सूझाव दिन जरुरी । साथै….

कसैको मोवाइल बज्यो
‘लोकतन्त्र मुर्दावाद, बहुदल मुर्दावाद
राजा आउ देश बचाउ
जय नेपाल, जय नरेश…’

त्यसै पसलको कुनामा बसेका सबैले पागल भनेका ठानेका कार्की बुढा जोक्किएर कराउन थाले, ‘ए मूर्ख हो, अझैं पनि तिमीहरु लोकतन्त्र कि राजतन्त्रको तर्कमा छौं ? कति चाहन्छौं ए त्यो अत्यचारीलाई सत्ता सुम्पिन ? के तिमीहरुलाई स्वतन्त्रताले पुग्यो ? के तिमीहरुले मुक्तिको शास फेरि सक्यौं ? पोल्ला तिमारुलाई सहिदका रगतले पोल्ला । यो युगमा पनि अध्याँरो र उज्यालो छुट्याउन नसक्ने मूर्खहरु हो तिमारुलाई सहिदले सराप्लान् । जे गर बरा तिमीहरु जे गर बस मलाई मर्नुपूर्व त्यो अत्यचारीको दास नबनाऊ । मलाई यही लोकतान्त्रिक नेपालमा नागरिक भई मर्न देउ ।
(लेखक : मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्नातक तहमा मानविकी संकायमा अध्ययनरत विद्यार्थी हुन् ) 

शेयर गर्नुहोस :

0
Shares