काठमाण्डाै – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाण्डाैमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने घोषणा गरेको छ ।
काठमाण्डाैकाे चुनदेवीमा आज आयोजित पत्रकार सम्मेलनमा इतर समूहले पार्टी एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्व एकलौटी ढङ्गले अघि बढ्न खोजेको आरोप लगाएको छ ।
पार्टीभित्र उत्पन्न ‘नियमित कि विशेष महाधिवेशन’ भन्ने विवादले कांग्रेसलाई विभाजनको सङ्घारमा पुर्याएको बैठकको निष्कर्ष छ ।

संस्थापन इतर पक्षले निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयहरूलाई ‘बदनियतपूर्ण र अन्यायपूर्ण’ ठहर गर्दै विधिको शासनका लागि अझै पनि एकताको पहल गरिरहेको दाबी गरेको छ ।
संस्थापन पक्ष व्यवहारमा फरक ढङ्गले प्रस्तुत हुँदा एकता प्रक्रियामा बाधा पुगेको इतर पक्षको ठहर छ । यद्यपि पार्टी उपसभापति विश्वप्रकाश शर्मामार्फत आएका प्रस्तावहरूमाथि छलफल गर्दै इतर पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र क्रियाशील सदस्यता विवाद समाधान गर्नेलगायतका बुँदामा सहमति हुन सक्ने स्पष्ट पारेको छ ।
यसैगरी बैठकले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस यही साउन ६ गते काठमाण्डाैको प्रज्ञा भवनमा भव्य रूपमा मनाउने निर्णय गरेको छ ।
नेता मीनबहादुर विश्वकर्माका अनुसार कार्यक्रम व्यवस्थापनका लागि पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन भएको छ । त्यही कार्यक्रममार्फत राष्ट्रिय भेलाको मिति र ठाउँ सार्वजनिक गरिने इतर समूहले जनाएको छ ।







प्रतिक्रिया