Banner news

गणतन्त्र मासेर राजतन्त्र ल्याउने कुरामा समय नखर्चन सिटौलाको आग्रह

गणतन्त्र मासेर राजतन्त्र ल्याउने कुरामा समय नखर्चन सिटौलाको आग्रह

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा आफ्नो पार्टीको धारणा राख्दै नेपाली कांग्रेसका नेता कृष्ण सिटौला । तस्बिरः प्रदीपराज वन्त÷रासस

झापा –  नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र मासेर राजतन्त्र ल्याउने कुरा असम्भव रहेको बताउँदै यस्तो बेकारको बहसमा समय नखर्चन आग्रह गर्नु भएको छ ।

नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको आयोजनामा विहीबार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिटौलाले राजाको शासनकालमा जनताले दुःख मात्रै पाएको र अब पनि त्यो ब्यवस्था स्वीकार नगर्ने दावी गर्नुभयो ।

आवश्यकताको आधारमा संविधान संसोधन हुने र देश अघि बढ्ने उहाँको भनाई छ । ‘सबैको हित हुने ब्यवस्था भनेकै लोकतान्त्रिक ब्यवस्था हो’– नेता सिटौलाले भन्नुभयो–‘लोकतन्त्र देश र जनताको समृद्धिका लागि ल्याइएको हो । जनताले यही सोचेर कठोर संघर्षमा साथ दिएका हुन् ।’

पार्टीका सबै नेता कार्यकर्तालाई आपसी मेलमिलाप र सहकार्यका साथ अघि बढ्न आह्वान गर्नु भएका नेता सिटौलाले एकतामा मात्रै बलियो शक्ति बन्न सकिने स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले पार्टीको क्रियाशिल सदस्यता नवीकरण कार्यलाई तीव्रता दिन तहगत समितिलाई आग्रह गर्दै आगामी फागुन मसान्तसम्ममा जिल्लामा बुझाइसक्न आह्वान गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो, झापाका उपसभापति केशवराज पाण्डे, महासमिति सदस्य भक्ति सिटौला र मचिन्द्र शेर्मा, महाधिवेशन प्रतिनिधि सन्तोष मेनेङ्बो लगायतले मन्तब्य राख्नुभएको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

शिवसताक्षी नगर सभापति अशोक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत रमेश राई र सञ्चालन होम दुलालले गर्नुभएको सूचना तथा प्रचार–प्रसार विभाग संयोजक रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस :

0
Shares