प्रदीप परियार
गत साउन १४ गते दिउँसो १ बजे बिर्तामोड नगरपालिकामा भएको एउटा घटनापछि यहाँको राजनीतिक एवम् सामाजिक वृत्तमा त्यो घटना चर्चाको प्राथमिकतामा छ । चर्चाको प्राथमिकतामा मात्र होइन, यस नगर माओवादी र राप्रपाले राजनीतिक बिजनेश नै पाएको छ । उनीहरु शुक्रवार सानो झुण्डसहित बिर्तामोड नगरपालिका अगाडि आन्दोलन गर्न पुगे । खासगरी माओवादी र राप्रपा आफ्नो उपस्थिति देखाएर बिर्तामोडमा हामी पनि छौँ भन्ने सन्देश दिन चाहन्छन् । यि सबै घटनाक्रमहरुलाई मज्जाले बुझ्न अलि अगाडि फर्कनुपर्छ ।
साउन १४ गते बिर्तामोड नगरपालिका वडा नं. ८ का वडाध्यक्ष अजय कार्की दादागिरी शैलीमा उपप्रमुखको कार्यकक्षमा केटाहरुसहित प्रवेश गरेर गालीगलौच गरे, धम्की दिए । त्यहाँ उपप्रमुखले पनि जवाफ फर्काए । बाहिरबाट हेर्दा हातपात गर्न नै गएको जस्तो देखियो । तर, हातपात भएन । बैठक चलिरहेको बेला त्यसरी प्रवेश गर्नु बेठिक थियो । प्रवेश गरे पनि आफ्नो विषय सौहार्द ढंगबाट राख्न सकिन्थ्यो । यदि त्यसरी आफ्नो विषय राखिएको थियो भने वडाध्यक्षप्रति सबैको सहानुभूति हुने थियो ।

उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेको विषय नै विवादको कारण थियो । कमेन्ट कहाँ, किन गरे त ? यो विषय बारे जानकारी लिन फेरि अझै अगाडि फर्कनुपर्छ ।
बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकको फोटो फेसबुकमा सार्वजनिक गरिएको ठाउँमा कार्की चिरन नाम गरेका व्यक्तिले एउटा प्रश्न उठाएका थिए । कार्कीले बिर्तामोड नगरपालिकाको बोर्डको पहिलो बैठकको फोटोहरु प्रशस्त देखिरहेको छु । तर, बिर्तामोड नगरपालिका वडा नं. ८ का एक जना पनि जनप्रतिनिधिहरु देख्दिन कि बिर्तामोड ८ लाई खवर नै प्राप्त नभएको हो कि के हो ? भन्ने प्रश्न उठाएको ठाउँमा उपप्रमुख संग्रौलाले असान्दर्भिक जवाफ फर्काए ।
वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीमाथि नागरिकताको मुद्धा छ । यो मुद्धा अहिले सर्वोच्च पुगेको छ । फैसला पनि भइसकेको छैन । यो नागरिकता काण्ड दुनियालाई थाहा छ । तर, उपप्रमुखले प्रश्नमा असान्दर्भिक जवाफ दिएकै छन् । जुन प्रश्नले त्यो जवाफ मागेको छैन । यो असान्दर्भिक जवाफ कसरी आयो प्रष्ट बनाउनुपर्छ ।
वडाध्यक्ष अजय कार्कीलाई कार्यपालिका बैठकमा खवर नगर्ने विषय पक्कै रहँदैन । यदि, खवर गर्ने गरिएको छैन भने त्यो नगरपालिकाले सच्याउने विषय हो । यदि, खवर गर्दा पनि कार्यपालिका बैठकमा अनुपस्थिति भएको हो भने त्यो जनप्रतिनिधिको हिसावले वडाध्यक्ष कार्कीको ठुलो गैरजिम्मेवारी कार्य हो । नगरपालिकाको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यले आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउनुपर्छ । मन्त्री बनाएको छ तर मन्त्री परिषद बैठकमा जादैन, कार्यपालिका सदस्य छ तर, कार्यपालिका बैठकमा जादैन भने त्यो स्वमय् व्यक्तिको गैरजिम्मेवारी हो, यसलाई अन्यथा धेरै भन्न जरुरी ठान्दिन ।
अब, १४ को घटनामा फर्कौ, त्यो दिन कुनै अप्रिय घटना भएन । कतिपयले कुटपिट गर्नुपर्ने थियो, तह लगाउन जरुरी थियो, बडि नै भएको थियो जस्ता प्रतिक्रियाहरु सञ्जालमा लेखे । उपप्रमुख संग्रौलाले सामाजिक सञ्जालमा लेखेका कुराहरु बेठिक भए । कति निच कुराहरु लेखेको भन्दै अर्ति उपदेश दिनेहरुले नै त्यो दिन त्यस्ता प्रतिक्रिया दिए । अर्थात, उनीहरु उपप्रमुखभन्दा पनि निच भएर प्रतिक्रिया दिइरहेका थिए । अरुलाई सम्झाउने तर आफु चै कार्यान्वयन नगर्ने भनेको चै बड्दा जान्ने हो । चल्तीको भाषामा त्यसलाई ‘ओजे’ भन्छन् । उपप्रमुख मात्रै होइन, आम नागरिक सञ्जालमा सभ्य हुनुपर्छ । यसमा दुईमत छैन ।
सञ्जाललाई मर्यादिन बनाउनुपर्छ । सन्दर्भभन्दा बाहिर लेख्न हुदैन । उपप्रमुखका लेखाईहरुमा मेरो पनि धेरै विमतिहरु छन् । कम लेख्नुपर्छ भन्ने मान्यता मेरो पनि छ । म पनि लेख्ने मान्छे नै हो । लेखेर मात्र पनि नहुने रहेछ । कतिपय कुरा मनमा सम्हालेर राख्नुपर्छ । मैले मात्र लेखेर पनि नहुने रहेछ । त्यसैले धेरै लेख्ने भन्दा पनि कम लेखौं । ज्ञानगुनका कुरा लेखौं । जनताको निम्ति गरेका कामहरुका बारेमा लेखौं । लामो यात्रा गर्ने मान्छेहरुले सोचेर लेख्नुपर्छ, सोचेरै बोल्नुपर्छ । गन्तव्यको कुनै ठेगाना नभएकाहरुले जे बोले पनि हुन्छ, जे गरे नि हुन्छ ।
उपप्रमुख र वडाध्यक्षबीचको आपसी विवादलाई समाधान गर्न संवाद गर्न सकिन्थ्यो । दुई पक्षबीच छलफल गर्न सकिन्थ्यो । स्थानीय सरकारको कार्यालयमा जनप्रतिनिधिले नै त्यो हदको दादागिरी देखाउनु त संस्थामाथिको धावा हो । जनप्रतिनिधि, नियम कानुनमाथिको धावा हो । त्यसैले वडाध्यक्षको पक्षबाट कमजोरी भयो । उपप्रमुखले असान्दर्भिक जवाफ लेखेर बेठिक गरे । उपप्रमुखले गरेको बेठिकमाथि वडाध्यक्षले अर्को बेठिक काम गरे । उपप्रमुखले बेठिक गरे, वडाध्यक्षले ठिक गरेको भन्ने ठाउँ एकरति छैन ।
अब, बाहिरका सन्दर्भहरुलाई कोट्याउने हो भने त अचम्म छ । हाम्रो समाज अहिले कसैको लाप्पा पर्यो भने छुट्याउने भन्दा पनि कसले जित्छ भनेर मज्जा लिने ठाउँमा पुगिसकेको छ । त्यसैले यो घटनामा पनि कसैले उपप्रमुखलाई खच्चिङ भने त कसैले वडाध्यक्षलाई खुच्चिङ भने । त्यो माहोलमा गएर हेर्न थाल्यो भने सबैलाई लडाई झगडा नै मन पर्नसक्छ । तर, हामीले चाहेको समाज त्यस्तो होइन । शान्तिपूर्ण, सद्भावपूर्ण समाज हामीले चाहेका छौं ।
जहाँसम्म माओवादी र राप्रपाको आन्दोलनको सवाल छ । बिर्तामोडमा माओवादीलाई यस्तै ढोक्सा चाहिएको छ । के लफडा हुन्छ र ताली बजाउ भन्ने । एक थान सदस्य समेत नरहेको माओवादीले बिर्तामोडमा आन्दोलन गरेर पार्टीको उपस्थिति जनाउन चाहन्छ । भरसक, आन्दोलनको नेतृत्व चै आफै गर्न पाए हुन्थ्यो भन्ने माओवादीको मक्सद छ । तर, बिर्तामोडमा माओवादीको चिच्याहट आफ्नो संसदीय उपस्थिति नभएसम्म अर्थहिन नै हुन्छ । यहाँ आन्दोलन आफै गर्ने, आफै सुन्ने काम बाहेक केहि हुनेवाला छैन ।
राप्रपा त एउटा वडाध्यक्ष भएको पार्टी हो, बिर्तामोडमा । आफ्नो वडाध्यक्षको बचाउमा आउनुलाई असान्दर्भिक भन्न मिल्दैन । आफ्नो मागहरु राख्न पाइन्छ । विरोध र समर्थन गर्न सकिन्छ । तर, राप्रपाले त्यहाँ दिएको अभिव्यक्ति गम्भीर छ । यसलाई सबैले ख्याल गर्न जरुरी छ । बिर्तामोडको अहिलेको विवादमा घ्यू थप्ने काम माओवादी र राप्रपाबाट भइरहेको छ । दुवै जनाले गल्ती गरिसके । अब, आगोमा घ्यू थप्न जरुरी छैन । उपप्रमुखमाथि कुटपिट हुन सक्ने अभिव्यक्ति राप्रपा नेतृ रञ्जु प्याकुरेलबाट आयो । कसैले पनि कुटपिट गर्न सक्छन्, तर त्यसको जिम्मेवारी राप्रपाले लिदैन भन्ने आसयको रञ्जु प्याकुरेलको अभिव्यक्ति थियो । उचाल्नेहरुले त्यसको जिम्मेवारी लिनैपर्छ । उपप्रमुखमाथि आगामी दिनमा कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी रञ्जु प्याकुरेल र उनको पार्टी राप्रपाले लिनुपर्छ । किनभने, उनले शान्त बन्दै गएको माहोलमा घ्यू थप्ने काम गरेकी छन् । जसका माओवादीले पनि साथ दिएको छ । उनले उपप्रमुखलाई मानसिक रोगी हो भन्ने पनि आरोप लगाइन् । के उपप्रमुख मानसिक रोगी हुन् ? स्वास्थ्य जाँच गरेर प्याकुरेलले यस्तो बोलेको हो ? यसरी बोल्न मिल्छ ? यो भाषाले उपप्रमुख भन्दा प्याकुरेल नै अराजक र असभ्य भएको स्पष्ट हुन्छ ।
जनप्रतिनिधिहरु मर्यादिन बन्नुपर्छ । दलहरु झनै जिम्मेवार बन्नुपर्छ । जनप्रतिनिधिहरुको पनि अभिभावक संस्था दलहरु भनेको उचाल्ने पछार्ने, उल्काउने र भिडाउने हुनु हुदैन । जसरी बिर्तामोडमा राप्रपा र माओवादीले त्यो भूमिका निर्वाह गरिरहेको छ । अझै पनि समय छ, सच्चिनुपर्छ ।
जनताका बीचमा के कस्ता कामहरु हुन सकेनन्, स्थानीय प्रदेश र केन्द्र सरकारसम्म पुगेर आवाज उठाउनुपर्छ । जनताको जनजीविकाको सवालमा मुद्धा उठाउनुपर्छ । सधैं लडाई झगडाले मुलुक बन्दैन । मुलुक बनाउन जिम्मेवार दलको रुपमा प्रस्तुत हुनु आवश्यक छ ।







प्रतिक्रिया