टिकाराम मंग्राती
वर्गीय समाजमा प्रेम पनि वर्गीय हुन्छ । एउटा गरिब परिवारमा जन्मिएको युवतीले देख्ने सपना र राजकुमारीले देख्ने सपनामा समानता हुन्न । गरिब परिवारमा जन्मिएको युवतीले देख्ने सपनामा एउटा आफु जस्तै परिवारको युवासँग मायाप्रेम गरेको सपना देख्न सक्छिन भने राजकुमारीले एउटा राजकुमार जो वायुपंखी घोडा चडेर आएको आफुलाई मायाप्रेम गरेको देख्न सक्छिन् । यो हाम्रो वर्गले जन्माएको भिन्नता हो । यस्तै छ, विदेशीको पनि सपनाको वर्गीयता ।
राम्रो भनिएको देशहरुमा योग्यता दक्षता सहित जानेहरूको सपना मलाई लाग्छ निश्चित रुपमा उच्च स्तर कै छ । बाँकी देशमा जानेहरूको सपना, सपनाभन्दा पनि बाध्यताको छ । एक त आफ्नो घरपरिवारसँग छुटेर बस्नु, सुखदुखमा परिवारको सथमा नहुनु ,अझ भनौं आफ्ना सपनाहरुलाई जिउँदै मारेर देश देखि ठगिदै, बेचिदै बिदेश पुग्नु र मेशिनसँगै काम गर्नु सामान्य स्थिति होइन । देश मै रोजगारीको अवसरहरु किन सृजना भएन ? यो बाध्यता कसरी जन्मियो ?जटिल परिस्थितिहरु परिवारमा वा राज्यमा कसरी जन्मन्छन् ? यो बिषय आजको युवाको चिन्तनको बिषय बन्नुपर्छ ।

यो मुल रूपमा हाम्रो वर्तमान विकृत राजनीतिसँग सम्बन्धित छ । कतिपयलाई लाग्छ – यो हाम्रो चासोको विषय होइन । चिन्ता गरेर केहि हुन्न । कतिपय यो राजनीतिक विषयमा हामीले ध्यान दिने होइन । अहिले आफ्नो भविष्य बनाउने हो । यस्ता वाइयत बिषयमा ध्यान दिन हुन्न ।
यस सन्दर्भमा राजनीतिक विष्लेशक ,मेरो गुरु आदरणीय केशव दाहालले आफ्नो लेखमा चर्चा गर्नुभएको हिन्दी फिल्मको कथा उल्लेख गर्नु उपयुक्त लाग्यो । फिल्म हो ‘द आर्चिच’ सरल साधारण तर रोचक फिल्म । कथामा एउटा सुन्दर नगर छ । रिभेडियल । सन १९१४ मा बनेको यो नगरमा मिश्रित परिवार बस्दछन् । अर्थात आधा ईन्डियन र आधा ब्रिटिस । एङ्लो ईन्डियन । खासमा यो नगर उनिहरुकै लागि बनाइएको थियो जो प्रेममा थिए र जो प्रकृतिलाई मनैबाट अनुभुत गर्न सक्थे । जब भारत स्वतन्त्र भयो धेरै ब्रिटिसहरु स्वदेश फर्किए । तर उनिहरु फर्किएनन् जो रिभेडियललाई आफ्नै घर सम्झन्थे ।
उनीहरु फर्किएनन् जस्ले यो शहरलाई सजाए । उनिहरु फर्किएनन् जस्ले यहीँ आफ्नो संसार बनाए र बसाए ।
नगरमा एउटा सुन्दर स्कुल छ । स्कुलमा निक्कै रमाइला विद्यार्थी छन् । किशोर उमेरका ति विद्यार्थी आफ्नै मोजमस्तिमा छन् । गानाबजाना, पिकनिक, डेटिङ्, लेख्न पढ्न, राम रामाइलो, प्रेम रोमान्स । सह्यक भुमिकामा उनीहरुका अभिभावक पनि छन् । जोसँग आफ्नै गृहस्थिका झमेला छन् । फिल्म हेर्दा लाग्छ, साधारण सरल र प्रेममय जीवनको सुन्दर क्यानभास हो । द आर्चिच ।
नगरको केन्द्र भागमा छ, एउटा सुन्दर पार्क । अर्थात गृनपार्क । पार्कमा प्रत्येक परिवारले रुख रोपेका छन् । त्यसलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाएका छन् । जहाँ नगरको बासिन्दा खेल्ने घुम्ने भेटघाट गर्ने र रमाउने गर्छन् । जहाँ केटाकेटी खेल्छन् र आनन्द लिन्छन् । त्यो पार्कसँग नगरका अनेक कथा र परम्परा जोडिएका छन् । अर्थात उनीहरुको लागि पार्क यस्तो सार्वजनिक स्थल हो, जहाँ सर्वत्र प्रेम लहराउछ । त्यसलाई अनुभुत गर्दै मान्छेहरु आफ्ना सपना सजाउछन् ।
एकदिन एउटा व्यापारीलाई पैसा नकमाउने पार्कको के काम ? नगरको बिचमा त्यति धेरै जमिन पार्कको नाममा ओगटेर राख्नु के अर्थ ? यो त जमिनको सत्यनास हुनु हो । उसले पार्क भएको ठाउँमा भव्य होटल बनाउने योजना बनाउछ । उसलाई लाग्छ नगरको बीचमा पार्क हुनु आर्थिक हिसाबले वाहियत हो र झुर कुरा हो ।
पार्क भएको ठाउँमा होटल किन आवश्यक छ ? भन्ने कुरा व्यापारीले नगरप्रमुख (काउन्सलर) लाई सम्झाउछ । उसले भन्छ, यसरी कसरी नगरको बिकास हुन्छ ? नाथे पार्कले के हुन्छ ? नत नगरमा पर्यटक आउछन् ,नत रोजगारी सृजना हुन्छ । पार्कको ठाउँमा एउटा भव्य होटल बनाउन पाए पर्यटक आउछन् । रोजगारी सृजना हुन्छ आर्थिक गतिविधि बढ्छ ।
नगरप्रमुख प्रलोभनमा पर्छ । उसले अरु अधिकारीहरुलाई समेत प्रलोभनमा पार्छ । र बोर्डको बहुमत को निर्णयबाट पार्कको जमिन होटललाई दिने निर्णय हुन्छ । अन्ततः पार्कको जमिनमा होटेल बन्ने पक्का हुन्छ ।
ग्रीन पार्क मासिने खबरले साधारण मान्छेको मनमा उथलपुथल चल्छ । मुख्य कुरा पार्क चाडैं समाप्त हुनेछ भन्ने कल्पनाले नगरका बासिन्दा उदास र उराँठ हुन थाल्दछन् । कफिसप, पुस्तक पसल र आइस्क्रिमका पसलहरु बन्द हुन थाल्छन् । तर पनि उनिहरु चुपचाप हुन्छन् । काउन्सिलको निर्णयलाई चुनौती दिने सामथ्र्य र जाँगर कसैसँग हुदैन । तर नगरका किशोर किशोरीलाई लाग्छ केहि त गर्नै पर्छ । किन कि पार्क उनीहरुको जीवन हो । पार्क छ, त्यसैले नगर हराभरा छ ।
पार्क छ त्यसैले पर्यावरण छ । पार्क छ त्यसैले उनीहरुको सन्सार छ । पार्क छ ,उनीहरुको प्रेम छ ।
उनीहरुलाई लाग्छ पार्कलाई पार्क कै रुपमा रहन दिनुपर्छ । उनीहरु काउन्सिलको निर्णय विरुद्ध उभिन्छन् । उनीहरुलाई थाहा हुन्छ काउन्सिलको यो निर्णय उल्टाउन वयस्कहरुको बहुमत चाहिन्छ । नगरका बहुमत वयस्कहरुले काउन्सिलको निर्णयलाई अस्वीकार गरेपछि त्यो निर्णय स्वतःबदर हुन्छ । जब केटाकेटीले यति कुरा बुझ्छन् त्यसपछि फिल्म कथाले खास लय समाउछ । किशोर किशोरीहरु आफ्ना अभिभावकहरुलाई काउन्सिल बिरुद्ध उभिन आव्हान गर्छन् । त्यसपछि फिल्म द आर्चिच बन्दछ । पार्क बनाउने नयाँ पुस्ताको अभियानको कथा ।
हामीले राजनीतिलाई बेवास्ता गरेर अस्वीकार गरे पनि हाम्रो दैनिक जीवनलाई राजनीतिले प्रभाव परेको हुन्छ । जसरी रिभेडियलबासीको जीवनमा पारेको छ । हाम्रो खुशी, हाम्रो सफलतामा देशको राजनीति र व्यवस्थाको प्रत्यक्ष प्रभाव हुन्छ । दुख कष्ट र संकटहरुमा पनि यसले उत्तिकै असर गरेको हुन्छ । राजनीति असल भयो । त्यसका परिणामहरु पनि सकारात्मक हुन्छन् । राजनीति गलत भयो त्यसका परिणामहरु पनि गलत हुन्छन् । जुन हामी भोग्न बाध्य हुन्छौ ।
देशमा रोजगारीका अवसरहरु कति सृजना गर्ने ? कस्ले सृजना गर्ने ? तलव कति निर्धारण गर्ने ? उत्पादन कति गर्ने ? मुल्य कति निर्धारण गर्ने ? कर कति तिर्ने ? खर्च कति गर्ने आदि आदि सबै कुरा राजनीतिले निर्धारण गर्छ । कस्तो शिक्षा पढाउने ? कस्तो नागरिक बनाउने ? स्वास्थ कस्तो ? समाजको चेतना कस्तो बनाउने सबै सबै कुरा राजनीतिले निर्धारण गर्छ । यदि यसो हो भने राजनीति प्रति बेवास्ता गर्नु भनेको आफ्नो बारेमा बेवास्ता गर्नु हो । आफ्नो भविष्यप्रति बेवास्ता गर्नु हो । तपाई आफ्नै भविष्य प्रति चिन्तन नगरी, नसोची बस्न सक्नु हुन्छ ? सक्नु हुन्न । यदि सक्नु हुन्न भने तपाई हाम्रो भविष्य बनाउने राजनीतिलाई पक्कै पनि सोच्नपर्छ र सुधार गर्नुपर्छ ।
जसरी ‘द अर्चिचमा ’ काउन्सिलको निर्णय विरुद्ध किशोर किशोरी उठे र निर्णय परिवर्तन गराए । आफ्नो सपनाको लागि ,आफ्नो सुन्दर संसारको लागि, आफ्नो खुशीको लागि , आफ्नो पर्यावरणको लागि ,आफ्नो प्रेमको लागि । हामीले यो अविकास, बेरोजगार, बेचैन र निराशताको दोष अरुलाई मात्र देखाएर उम्कने छुट छैन । युवाहरूको हुंकारले ठुला र बलिया भनिएका शासकहरु घुडाटेकेको इतिहास साक्षी छ । आफ्नो वर्तमानको लागि , देशको वर्तमानको लागि र भावी पुस्ताको लागि युवाहरुको राजनीतिमा सचेत, हस्तक्षेपकारी पहल कदमी आवश्यक छ ।







प्रतिक्रिया