मेरो प्यारो विद्यार्थी सरिता
विगत केही दिनदेखि नेपालमा भैरहेको घटनामा तिमीले देखाएको चासो चिन्ताप्रति खुसी छु । सबै नेपालीले देशलाई माया गर्नुपर्छ र देशको निम्ति चासो, चिन्ता र खबरदारी गर्नुपर्छ । तिमीले त्यो गुण देखाएकोमा गर्व गर्छु । यो आन्दोलनमा घुसपैठ भएता पनि निर्दोष राष्ट्रवादी विद्यार्थीहरुको जुन हत्या भएको छ त्यसप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
तिमीले चिन्दा म तिम्रो शिक्षक थिए । तर म आज सक्रिय राजनीतिमा छु । म राजनीतिमा योजनाबद्ध रुपमा लागेको होईन । परिस्थिति र समयले मलाई राजनीतिमा डो¥याएर ल्यायो । म समयसँगै अगाडि बढे । जब म राजनीतिमा लागे मैले थाहा पाए समाजमा विभेद र अन्याय छ । हामीले समाजलाई बदल्नु पर्नेछ । तिमीलाई थाहा नै होला म तिमीहरुलाई पढाउदा नेपालमा नै बसेर मेहनत गर्नेहरुले कमाउन सक्ने जति कमाउथे । स्कुलसँगै टिउसन कोचिङ पढाएर आर्थिक रुपमा सन्तुष्ट थिए ।

मैले समाज बुझ्दै जाँदा म मेरो परिवारका लागि मात्र सिमित हुनुहुन्न भन्ने लाग्यो । मैले समाज रुपान्तरणमा योगदान गर्नुपर्छ । मेरो उर्जा, मेहनत, सीप र बौद्धिकता परिवारमा मात्र सिमित गर्नुहुन्न भन्ने लाग्यो । राजनीतिक गतिविधिमा धेरै अगाडि लागे पनि २०७४ जेठमा समय व्यवस्थापन गर्न कठिन भएर स्कुलको प्रिन्सिपलको जागिर छोडेर देश र समाजका लागि भनेर पूर्णकालीन राजनीतिमा लागे । यो बीचमा धेरै थोरै कति गरे त्यो मेरो समाजले मुल्याङ्कन गर्ला तर म सामाजिक काममा सन्तुष्ट छु । सरिता म तिम्रो शिक्षक भएर भन्छु मैले आजसम्म जानेर एउटा पनि गलत काम गरेको छैन । मैले राजनीतिमा लागेर व्यक्तिगत वा आर्थिक लाभ लिएको छैन ।
तिमीले मलाई सामाजिक संजालमा नै मलाई पार्टी र राजनीति छोड्न अपील गरेको देखे । तिमी जस्तै धेरैले सकारात्मक र नकारात्मक दुवै तरिकाले दिएको दबाबको सामना गरिरहेको छु । कतिपयको त विचार राखेको आधारमा ज्यान नै मार्नेसम्मको धम्कीको सामना गरेको छु । तिमीले भनेको कुराको मलाई तत्काल प्रतिक्रिया दिन मन लागेन । त्यसैले दुई दिनपछि लेख्दैँछु । यो तिम्रो देशप्रतिको माया हो भन्ने मैले राम्ररी बुझेको छु । तिमी मेरो राम्रो विद्यार्थी र म तिम्रो शिक्षक भएकाले मैले तिम्रो कुराको जवाफ दिनु मेरो कर्तव्य ठाने । तिमीलाई म सोध्न चाहन्छु, के मैले राजिनामा दिएर समस्याको सामाधान हुन्छ ?
मलाई लाग्छ तिमीले कलेजको ड्रेसमा किताब बोकेका विद्यार्थीको टाउकोमा गोली लागेको भिडियो हेरेर दिएको प्रतिक्रिया हो । यो घटना अत्यन्त दुःखद छ । त्यो घटनालाई हेर्ने र बुझ्ने फरक–फरक दृष्टिकोणहरु छन् । आन्दोलनमा के गर्दा बढी समर्थन प्राप्त हुन्छ भनेर घुसपैठ गर्नेहरुले योजना बनाउँछन् । निर्दोष विद्यार्थीको विभत्स हत्याले सबैको आक्रोस बढायो । म राजनीतिशास्त्रको विद्यार्थी भएकाले त्यसलाई भुराजनीतिक प्रभावसँग जोडेर हेरिरहेको थिए । तत्काल प्रतिक्रिया दिदा त्यो दुःखको क्षणमा प्रत्युत्पादक हुनेथ्यो । त्यसैले २३ र २४ गते मौन बसे । तर मैले अरुले जस्तो प्रधानमन्त्रीको राजीनामा मागिन । केही समय घटनाको विश्लेषण गरि स्पष्ट भए पछि मात्र निर्णय लिन भन्दै तत्काल केही व्यक्त नगर्ने निर्णय गरे ।
हामीलाई पार्टी छोड्न आग्रहका साथै धम्की पनि आए । परिचित साथीहरुबाट आग्रह आए भने छद्म भेषी प्रोफाइल लक गरेका फेसबुकबाट धम्की आए । म प्रष्ट थिए प्रधानमन्त्रीको राजिनामा माग्नु वा पार्टी छोड्नु भनेको यो अराजकतालाई झन् थप हौसला दिनु हो । प्रधानमन्त्रीले स्थितिलाई समान्य बनाउन राजीनामा दिनुपर्छ भन्ने लागे पनि त्यो प्रधानमन्त्रीको स्वच्छाले होस भन्ने चाहन्थे । प्रधानमन्त्रीले जनभावना अनुसार स्थिति सामान्य बनाउन राजीनामा दिनुभयो । विषयको गहिराइमा नगई हामी पार्टी कार्यकर्ताले राजीनामा गर्दा उनीहरुको मनोबल थप बढ्छ भन्ने बुझाई रह्यो । त्यसैले म दृढतापूर्वक उभिने निष्कर्षमा पुगे । साथीहरुले घटनाको प्रतिक्रिया स्वरुप केहीले स्वच्छाले त केहीले जिउधनको सुरक्षाका लागि पार्टी परित्याग गरे । प्रहरी प्रशासन नभएको राज्यविहीन स्थितिमा जिउधन जोगाउन दबाबमा राजीनामा दिनुहुनेप्रति दुःख व्यक्त गर्दछु ।
मैले भष्ट्रचार र सुशासन माग्न जाने निर्दोष विद्यार्थीहरुलाई प्रहरीले टाउकामा गोली हान्छ भन्ने कुराको विश्वास गरिन । मैले गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनलाई अध्ययन गर्दा ढिलो चाडो नेपालमा पनि त्यस्तै हुन्छ कि भन्ने सोचिरहेको थिए । बंगलादेशको र नेपालको घटनामा समानता देखि रहेको थिए । परिस्थिति अत्यन्त जटिल थियो । देश राज्य विहीन स्थितिमा थियो । राजीनामा दिएको काम चलाउ सरकार आफैँ असुरक्षित थियो । पाँच पटक प्रधानमन्त्री भएको वेटिङ प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई घरमा नै अपशब्द बोलेर कुटपिट भइरहेको थियो । पूर्वप्रधानमन्त्रीको श्रीमती घर भित्र हुँदै आगो लगाइएको थियो । लोकतन्त्रका लागि लडेका योद्धाहरु कुटिएको, खेदिएको दृष्य हेरिरहेको थिए । आन्दोलनको नाममा हुने नहुने सबै कुरा भइरहेका थिए । देशका गहना केही कलाकार, पत्रकार, देशलाई माया गर्छु भन्नेहरु विध्वंसमा उत्सव मनाइरहेका थिए । सुरक्षामा रहेका प्रहरीहरु खेदाइ–खेदाइ कुटिए, रेटिएका मात्र नभएर उनीहरुको लास माथि पिसाव फेर्ने जस्तो अमानवीय काम भइरहेको थियो ।
पूर्वको मेचीदेखि पश्चिमका महाकालीसम्मका नेताहरुको घरमा आगो लागिरहेको थियो । नेपाली युवाहरु सम्झने अवस्थामा थिएनन् । सबैले देशभक्तिको नाममा सरकारी कार्यलय मात्र होइन निजी सम्पत्तिहरु तोडफोड र आगजानी गरिरहेका थिए । प्रहरीको बर्दीको दुरुपयोग असामान्य थियो । अपराधीहरु जेलबाट बाहिर भागिसकेका थिए । प्रहरीको हतियार युवाहरुले लुटे । हतियार बोकेका युवाहरुको शारीरिक बनावट र उनीहरुले हतियार चलाएको हर्दा ति जेनजी हुँदै होइनन् ।
कतै तालिम प्राप्त सुटरहरुको प्रयोग त भएको छैन भनी म घटनालाई हेरिरहेको थिए । जेनजीको आन्दोलनमा प्रयोजित मान्छेहरुले हिंसा भड्काउन केके गर्दा उपयुक्त हुन्छ त्यही गरिरहेका थिए । यी सबै घटनाले आन्दोलनको दोश्रो दिन यो परिचालित हो भन्ने कुरामा म प्रष्ट भए । अनि म मेरो अभिव्यक्तिका कारण ती अराजकतालाई उत्तेजित बनाउन चाहन्नथे । माफ गर सरिता त्यसैले मैले तिमीले भने जस्तो राजीनामा गर्न सकिन ।
हाम्रो देशमा भ्रष्टाचारले सीमा नाघेको छ, युवाहरु बेरोजगार छन्, सुशासन छैन यस्ता धेरै समस्याहरु छन् । युवाको आक्रोश केही हदसम्म जायज छ । तर वास्तविक समस्या भन्दा बढि समाजिक संजाल, सोसियल मिडिया इन्फ्ल्वेन्सरहरुले पुरानो राजनीतिक दलप्रतिको धारणा गलत बनाएका छन् । कुनै एउटा नागरिक दिनभर काम गरेर बेलुका आरम गर्दै सामाजिक संजाल वा टेलिभिजन हेर्दा उसले रमाइलोका लागि साम्रगीमा नेताहरुलाई खलपात्रको रुपमा भेट्छ । उसको दिमागमा नेता र राजनीतिप्रति नकारात्मक छाप पर्छ । कमेडी सोदेखि चलचित्रसम्म राजनीति र नेताहरु भनेको देशद्रोही, भ्रष्टाचारी, बलात्कारी र अपराधी हुन् भनेर देखाइन्छ । अपराधको सबै जिम्मा नेतालाई लगाइन्छ । यि र यस्तै कुराहरु हेरी रहेका युवाहरुको दबिएको आक्रोश जसमा परिचालित शक्तिले गाइड गरेर यो विध्वंस भएको हो भन्ने मेरो ठहर छ ।
सामाजिक अभियान्ताहरु जिम्मेवार बन्नुको सट्टा भिडलाई उक्साइरहेको पाइयो । नेपालको सकारात्मक कुराहरु देखाउँदा खासै रुचिको विषय बन्दैन । यसले सबै नेताहरु खराब छन् भन्ने भाष्य समाजमा बनाइरहेको छ । तर यसैबीच बन्दैछ नेपाल भन्ने जस्ता कार्यक्रमहरु पनि छ भन्ने तिम्रो जेनजी पुस्तालाई थाहा छैन । तर त्यस्ता कार्यक्रममा नेपाल कसरी बन्दैछ भनेर सबिस्तार भनिएको हुन्छ । कमीकमजोरी होलान् तर पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म भएका विकास समृद्धिको चर्चा हुँदैन । देश बनाउन राम्रो मान्छेहरु पनि निस्वार्थ रुपमा लागेको देखाइदैन । त्यस कारणले पनि राम्रो काम गर्नेहरुलाई हौसला मिलिरहेको हुँदैन । त्यसैले तिमी पनि समाजिक संजालसँगै हुर्किएको एक जेनजी भएकाले तिम्रो आक्रोश र विद्रोहलाई सम्मानसँगै विषयलाई सबै आयमबाट विश्लेषण गर्न अनुरोध गर्छु ।
लोकतन्त्रमा दलहरु मजबुत हुनुपर्दछ । भिड वा भावना भन्दा नि संगठन र विचारले नेतृत्व गर्नुपर्छ । दलहरु शुद्धीकरण हुनुपर्दछ । म आवद्ध भएको पार्टीमा कमिकमजोरी भए त्यसलाई सुधार्ने जिम्मा पनि म आफैले लिनुपर्छ । राम्रो मान्छेहरुले छोडेर समस्याको सामाधान हुँदैन । प्रीय मेरो विद्यार्थी, तिमीले के बुझ भने सबै नेताहरु खराब छैनन् । देश बदल्नलाई सकारात्मक सोच भएका मानिसहरु पनि छन् । आज उनीहरु आफ्नै पार्टी भित्र पनि सकारात्मक परिवर्तनका लागि संघर्ष गरिरहेका छन् ।
के मैले मेरो पार्टी छोड्दैमा देश बन्छ त ? ठिक छ देश बन्छ भने छाड्दिउला तर राम्रो मान्छेहरु राजनीतिमा नआएसम्म देश बन्दैन । देश बनाउन विचार र दृष्टिकोण चाहिन्छ । केही मानिसहरु धेरै कुरा गुमाएर देश र जनताको लागि लागेको हुन्छन् । आफ्नो र परिवारको भविष्यको चिन्ता नगरी सामाजिक काममा दिन रात लागेका मान्छेहरु पनि छन् ।
राजनीतिमा लागेकाले मैले पाएको भन्दा गुमाएको धेरै छ । मसँगैको साथीहरुले देशमा जागिर वा व्यपार व्यवसाय गरेर वा विदेशमा पैसा कमाएर आफ्नो भविष्य राम्रो बनाइरहदा म यो देश बनाउनुपर्छ भनेर सघर्ष गरिरहेको छु ।
आज मेरो सबै खर्च मेरा बाको पेन्सन, दिदीबहिनी, दाजुभाई र श्रीमतीको जागिरको भरमा चलेको छ । सार्वजनिक रुपमा भन्छु मैले कसैबाट राजनीतिक पहुँचको दुरुपयोग गरी व्यक्तिगत रुपमा एक रुपैँया लिएको छैन र प्रमाणित भए त्यसको घरमा जीवनभर सहयोगी भएर बस्नेछु ।
राजनीति सबैले गर्नुपर्छ भन्ने छैन तर बुझ्न जरुरी छ । हाम्रो देशको ईतिहास, भुराजनीतिक जटिलता, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीति बुझ्नु पर्छ नानी । देश विचार दृष्टिकोणले बन्ने हो । भिडसँग शक्ति होला तर विवेक हुन्न ।
पाकिस्तान, श्रृलंङ्का, बंगलादेश हुँदै नेपालको अहिले जे जति भएको छ, त्यो योजनाबद्ध तरिकाले भएको छ । श्रृलंङ्कामा सिंहाली र तामिल जातिको द्वन्द्व र आर्थिक संङ्कटका कारण बंगलादेशमा बेरोजगारी सम्स्यामा स्वतन्त्र सेनानीका सन्ततिहरुलाई दिएको आरक्षणका कारण भएको विद्यार्थी आन्दोलन र नेपालमा भएको भ्रष्टाचार, वेथिति, अनियमितताका कारण युवाहरुमा देखिएको असन्तुष्टि, आक्रोश र हालै सामाजिक संजाल सूचीकरणको नाममा भएको प्रतिबन्धमा विदेशीहरुले आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । देशभक्त युवाहरुको देशभक्तिको दुरुपयोग गरि आफ्नो स्वार्थ पूरा गरिएको छ । कुनै पनि देशमा भएको कमजोरी र युवाहरुको आक्रोशलाई प्रयोग गरी स्वार्थ समुहले आफ्नो अनुकुल अस्थिरता मच्चाइरहेको छ ।
तथ्य संगत रुपमा नेताहरुमा भएको कमीकमजोरीको खुलेर विरोध गर्दा कुनै आपत्ति छैन । यो आन्दोलनमा पनि केही नेताहरुको घरमा अकुत सम्पति भटिएको छ । त्यसको सत्यतथ्य छानबिन गर्नुपर्छ । अझ सबै नेता, व्यापारी , कर्मचारीहरुको सम्पति छानबिन गर्नुपर्छ । कडा कानुन बनाई कानुनले सजाय दिनुपर्छ । तर केही नेताहरुको कमजोरीले सबैलाई गलत भन्नु र उनीहरुको व्यक्तिगत सम्पति नष्ट गर्नु कदापी राम्रो होइन । समाजमा विपत् आउँदा वा अफ्ट्यारो पर्दा सबै भन्दा पहिले पीडितले तिनै नेताको ढोका ढ्कढकाउँछन् । आज समाजको रक्षा गरिरहेको अगुवाको घरको आगो लाग्दा कुटपिट हुँदा छिमेकीको कुनै प्रतिक्रिया छैन ।
हाम्रो नेताहरुले समयको माग नबुझेको पक्कै हो । तर एकात्मक नेपाललाई संघीय गणतन्त्रमा रुपान्तरण गर्न उहाँहरुको अथक प्रयास र सुझबुझपूर्ण भूमिका रहेको छ । अब अग्रजहरुले परिवर्तनलाई स्वीकार्दै अभिभावकीय भूमिकामा रहनुपर्दछ । अहिले जे भयो यसले देशलाई २० वर्ष पछाडि धकेलेको छ । यो देश विदेशीको रणभूमी हुने खतरा छ । हाम्रो सार्वभौम सत्तामाथि हस्तक्षेप हुने सम्भावना बढिरहेकोे छ । आज भन्दा विश्वास लाग्दैन तर पछि सबै कुराहरु खुल्दै जानेछ । यो सबै विदेशीको डिजाइनमा भएको छ ।
आन्दोलनमा विद्यार्थीहरुलाई भड्काउने काम सामाजिक अभियान्ताहरुबाट भयो । आन्दोलनमा घुसपैठ गरि सुटरहरु मार्फत टाउकामा ताकी–ताकी गोली हान्ने काम भएको छ । यी सबै कुरा नेपाली राजनीतिमा चासो राख्दै जाँदा भविष्यमा अवश्य बुझ्नेछौँ नानी । अहिले तिमी मेरो कुरामा सहमत नहुन सक्छौँ । सबैले आफ्नो वरिपरिको वातावरण, अध्ययन र अनुभवबाट धारणा बनाउने हो । तिमी जेनजी पुस्ताको एक विद्यार्थी हौँ जसको दिनको सुुरुवात सामाजिक संजालबाट हुन्छ । आज तिमीले के खाने, के लगाउने, कसलाई मनपराउने र कसलाई घृणा गर्ने भन्ने कुरा नजानिदो पाराले सामाजिक संजालले निर्धारण गरिरहेको छ । आज अधिकांश नेपालीमा निराशाको खेती गरिएको छ । राणा शासन, पञ्चयाती शासन, निरङ्कुश राजतन्त्र नदेखेको÷नभोगेको तिम्रो पुस्तालाई सामाजिक संजालले नियन्त्रण गरिरहेको छ ।
हामीबीच विचारमा असमानता होला । तर म तिमीले दिएको अभिव्यक्तिको समर्थन नगरे पनि सम्मान गर्छु । म तिमीले बोलेको कुरामा समर्थन गर्न नसके पनि तिमीले बोल्न पाउनु पर्छ भनेर सधैँ लडिरहनेछु ।
आज हामी १० सेकेण्डको भिडियो हेरेर धारणा बनाइरहेका छौँ । सत्य बुझ्नका लागि धेरै अध्ययन चाहिन्छ । हामीलाई राजनीति फोहोरी खेल हो भनेर समाजमा बुझाइन्छ । सामाजिक संजालमा सकारात्मक कुरा भन्दा नि नकारात्मक कुराको बढि चर्चा गरिन्छ । यो देश बन्दैन, देशमा केही पनि भएको छैन, सबै नेताहरु भ्रष्ट छन् जस्ता कुरा सामाजिक संजालले नजानिदो तरिकाले युवाको मस्तिष्कमा भरिरहेको छ । युवाहरुमाथि निरासाको खेती गरिएको छ । जुन भावनात्मक छ र हामी देशप्रेमले भावनामा उक्सिरहेका छौँ ।
राजनीतिले नै सबै कुराको नियन्त्रण गर्छ । यसलाई सुधार्नु जरुरी छ । त्यसका लागि मैले सकेको गरिरहेको छु । प्रीय सरिता मलाई माफ गर । म मेरो बुझाईले तिमीले भने जस्तो राजनीति छोड्न सक्दिन । म मेरो विचारमा अडिग छु । तिम्रो प्रतिक्रियाले खुसी छु । तिमीलाई लागेको कुरा खुल्ला रुपमा राख म त्यसलाई सहज रुपमा स्वीकार गर्छु । म चिन्तन मनन् गर्छु । समीक्षा गर्दै कमजोरी भए सच्याएर अगाडि बढ्छु साथै तिम्रो भावनाको सम्मान पनि गर्छु ।
म आबद्ध दलमा रहेकाहरुको कमजोरीको खुला रुपमा विरोध गर्छु । तर अहिलेको घटना बाहिर बुझिए जस्तो होइन । मेरो बुझाईमा पर्दा पछाडिबाट अरुले आफ्नो स्वार्थ पूरा गर्न खेलेको हो भन्ने लाग्छ । त्यसैले यो सङ्कटको घडीमा म मेरो पार्टी र नेतृत्वको रक्षामा लाग्छु । हिजो पनि पार्टीभित्र भएका कमीकमजोरीको सक्दो विरोध गरिएको नै हो र भोलि स्थिति सामान्य भए पछि फेरि सशक्त विरोध र खबरदारी गरिन्छ । यो सङ्कटको बेला मैले पार्टी छोड्दा वा पार्टीको विरोध गर्दा ती षड्यन्त्रकारीको मनोबल बढ्नेछ ।
यदि यो आन्दोलनमा निर्दोष विद्यार्थीको हत्यामा केपी ओली देशको प्रधानमन्त्री भएकाले नैतिकता बाहेक प्रत्यक्षरुपमा गलत भूमिका प्रमाणित भएमा म त्यसको बिरुद्ध हुनेछु । तर जसरी अहिले केपी ओलीले उठान गर्नु भएको राष्ट्रिय हितका कारण चक्रव्यूहमा पारिएको छ । त्यसलाई समयले तोड्नेछ । केपी ओलीले पार्टीको नेतृत्वको विषयमा के गर्ने उहाँको विचार हो । उहाँले युवाको चाहना अनुसार नेतृत्व छोडे पनि इतिहासको पानामा केपी ओली देशभक्त राजनेता हुन् ।
राज्य कसरी चल्छ, आन्दोलनमा गोली चलाउने आदेश कस्ले दिन्छ यो सबै कुराहरु बुझ्नु पर्छ । यी सबै कुराको छानबिन गर्न जरुरी छ । यदि छानबिन गर्दा आन्दोलनमा घुसपैठ नभई राज्यबाट भएको भए हाम्रो आदर्श ढल्छ र म तिमीले भनेको सबै कुरामा सहमत हुनेछ । मैले यति लेखिरहदा मलाई थाहा छ तिमीले कतिपय कुराहरु बुझिरहेको छैनौँ । तिमी मात्र होइन धेरैलाई पार्टीको कार्यकर्ता भएकाले पार्टी र नेतृत्वको बचाउ गर्यो भन्ने लाग्न सक्छ । म प्रमाणित नभएको कुराको विश्वास गर्दिन ।
मलाई थाहा छ, तिमी र तिम्रो पुस्ता मेरो यति लामो कुराहरु पढ्न रुचाउँदैनौँ । म यो सब कुरा टिकटकमा ३० सेकेन्डको भिडियो मार्फत बुझाउन सक्दिन । हामी बीच यस्ता केही असमझदारी पक्कै छन् । तर एउटा साझा कुरा छ । त्यो हो देश प्रेम । मानिसहरुले मलाई गाली गर्न सक्छन् किन भने उनीहरुलाई मेरो अभिव्यक्ति देशका लागि घातक लाग्न सक्छ तर मैले रिसाउनु हुन्न । मैले सकेसम्म बुझाउनु पर्छ । हामी सबै देश भक्त हौँ । म मेरो विचारले देश जोगाउन चाहन्छु । तिमी जेनजी पनि आफ्नो तरिकाले त्यही काम गरिरहेका छौँ । हाम्रो उद्देश्य साझा छ भने सबैको विचारको सम्मान गर्नुपर्छ । यदि हामी गलत भए लुटपाट, निजी सम्पत्तिमा आगजनी वा व्यक्ति हत्या गरेर होइन चुनावबाट यो विचारलाई निर्मुल गर्न उपयुक्त हुन्छ । त्यसैले अहिलेलाई यति मात्र भन्छु जेनजी पुस्ता कि मेरी प्रिय विद्यार्थी सरिता तिम्रो रुचि र जिज्ञासा भए थप कुरा गरौला । धन्यवाद !
तिम्रो पूर्व शिक्षक हाल एमालेको कार्यकर्ता
मनोज ताम्ली







प्रतिक्रिया