बिर्तामोड । हरेक वर्ष दशैंतिहार आएपछि मादल मर्मत गर्न व्यस्त हुने बाह्रदशीका कृष्ण दास अहिले फुर्सदिला बनेका छन् । ‘कृष्ण मादले’ भनेर चिनिएका उनी यो वर्ष मादल बनाउन आउनेहरुको संख्या घटेपछि फुर्सदिला बनेका हुन् ।
दशैं र तिहार अगाडि घरको आगनभर मादल राखेर बनाउन बस्ने कृष्णको घरमा हिजोआज सुनसान छ । मादल बनाउनेहरु किन आएनन् भन्ने जिज्ञासामा उनी भन्छन्, मान्छेहरु कला संस्कृतिबाट टाढा छन्, अर्कातिर आन्दोलनले पनि असर गरेको हुन सक्छ ।

बाह्रदशी –६ का ४२ वर्षीय दास १८ वर्षको उमेरदेखि मादल बनाउदै आएका छन् । नयाँ मादल बनाउने, पुरानो मर्मत गर्ने दास परिवारले तीन पुस्ता यहि काममा विताएको छ । पूर्वमा मादल मर्मतमा चिनिएको परिवारको मुख्य आम्दानीको स्रोत पनि मादल नै हो । नयाँ बनाउने भन्दा पनि खरी लगाउने, छाला फेरिदिने, बाँधिदिने जस्ता काममा दास परिवारले धेरै दशक विताइसकेको छ । वर्षेनी ३ सय हाराहारी मादल, ढोल, च्याब्रुङ बनाउने परिवारले २५ प्रतिशत पनि काम नआएकोमा चिन्ता व्यक्त गरेका छन् ।
कृष्णका हजुरबुबा शिव दास र बुबा भक्त दासले मादल बनाउने काम गरेको देखेर सिकेको उनी बताउँछन् । मादलको खरी लगाउन उनलाई श्रीमतिको सहयोग छ । मादल अनुसार खरी पनि फरक हुने उनी बताउँछन् । मादल मर्मतका लागि आवश्यक धेरै जसो सामानहरु भारत गएर ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

कक्षा ६ सम्म अध्ययन गरेका कृष्णले मादल, च्याब्रुङ, तवला, ढोलक, ड्रम, नाल जस्ता बाध्य सामग्री मर्मत गर्दै बनाउदै आएका छन् । वार्षिक डेढ लाखसम्म आम्दानी गर्ने उनी कुनै पनि तहको सरकारबाट सहयोग नपाएको गुनासो गर्छन् । सामान ल्याउँदा धेरै कर तिर्नुपरेको उनको गुनासो छ । ब्याट्री, खरीमाटो स्थानीयस्तरमा प्रयोग गर्न मिल्ने भए पनि अन्य सामग्रीका लागि झारखण्ड नै जानुपर्छ ।
मादल मर्मतको काम दशैंतिहारको अगाडि र माघ महिनामा मुख्य सिजन हुने गरेको छ । वर्खामा मादल मर्मत नगरिने उनको भनाई छ । उनीहरुले एकातिर खरी लगाएको ६ सय र तालसहितको १२ सय रुपैयाँ लिने गरेका छन् ।
राजवंशी, सन्थाल, राई लिम्बु, अन्य समुदायले बजाउने विभिन्न किसिमका बाध्यबादकहरु मर्मत गर्ने कृष्ण मादले वर्षेनी इनरुवासम्म जाने गर्छन् । इनरुवामा झाँगड समुदायको बाजा मर्मत गर्न जाने गरेको सुनाए । उनको घरमा टाढा टाढाबाट बाजा मर्मतका लागि आउने गरेका छन् ।







प्रतिक्रिया