गगन ढकाल
परिवर्तन प्रकृतिको नियम हो । प्रकृतिको नियमलाई हामीले चुनौती दिनु भनेको मूर्खता हो । तसर्थ अहिलेको समय मूर्ख नबनी परिवर्तनलाई आत्मसात गरी युगको माग र चाहना बमोजिम चल्नु उचित हुन्छ । प्रकृतिका हरेक वस्तुका आफ्ना निश्चित आयु हुन्छन् । मानव सभ्यता पनि विभिन्न युगका निश्चित आयुहरू पार गर्दै आजको उत्तराधुनिक समाजसम्म आइपुगेको हो । उत्तर आधुनिकताको पनि निश्चित आयु छ, यसको पनि पतन निश्चित नै छ ।
मानव इतिहासमा मानवले विभिन्न चरणमा विभिन्न लडाइँ लड्दै आएको पाइन्छ । उसले कहिले विचारका निम्ति त कहिले व्यवस्थाका निम्ति लडिरहेको हामी पाउन सक्छौँ । व्यवस्थाहरू लड्दै गर्दा तल्कालीन व्यवस्थावादीहरूलाई सबै सकियो जस्तो लागेकै थियो तर समाज कहिल्यै सकिएन । बरु यो त थप परिष्कृत र सुसज्जित हुँदै अगाडि बढिरहेको छ । मानिसले हरेक लडाइँबाट नयाँ ज्ञान र अनुभवहरू प्राप्त गरेको छ । ऊ प्रगतिशील बनेको छ ।
नेपालमा भदौ २३ र २४ गते के के भयो सबैलाई थाहा नै छ त्यसबारे म धेरै चर्चा गर्न चाहन्न । तर यो लेख सुरु गर्दैगर्दा समाजमा व्याप्त पक्षहरू मध्ये म कुन धुव्रको मैले प्रस्ट पार्न पर्छ । जसले गर्दा पाठकहरूलाई लामो रनभुल्ल नहोस् ।
मेरो प्रस्ट बुझाइ छ – भ्रष्टाचारी र अपराधीहरूको कुनै दल, लिङ्ग र धर्म हुँदैन । यसको पारदर्शी छानबिन हुनैपर्छ । समाजमा भ्रष्ट र सज्जन बीच फरक छुटिनै पर्छ । भदौ २३ गते जे घटना घट्यो त्यसको छानबिन तथा अनुसन्धान हुनुपर्छ । गोली चलाउने र आदेश दिनेलाई प्रचलित कानुन बमोजिम कारवाही हुनैपर्छ । यस्तै २४ गते देशभर जे भयो त्यसको पनि छानबिन हुनैपर्छ । निजी तथा सार्वजनिक सम्पत्ति जलाउने र तोडफेड गर्ने तथा यस्तो कार्य गर्न उक्साउने सबैलाई कानुन बमोजिम कारबाही हुनैपर्छ ।
भदौ २४ गतेबाट सुरु भएको राज्य विहिनताको यात्रा निरन्तर चलिरहेकै छ । आम नागरिकहरू अझै पनि डर र त्रासमा बाँच्न बाध्य छन् । नागरिकहरूले कानुनी राज्यको अनुभूत गर्दै शान्ति प्राप्त भइसकेको अनुभव गरेका छैनन् । आम सर्वसाधरण अर्थात् गरिखाने वर्गका निम्ति सबैभन्दा महत्वपूर्ण कुरा भनेकै शान्ति र सुरक्षा रहेछ । शान्ति सुरक्षाको प्रत्याभूत गर्न नसक्दा नागरिकहरू त्राहीत्राही तथा हतास हुने रहेछन् । तसर्थ देशमा अब शान्ति आइसक्यो डर र त्रासमा हैन आनन्दमा रहनपर्छ भन्ने वातावरण निर्माण गर्न हामी सबै आ–आफ्नो ठाउँबाट लाग्न पर्छ । तर यसका निम्ति सबैभन्दा जिम्मेवार सरकार, आन्दोलनकारी, राजनीतिक दल र सञ्चारमाध्यमहरू हुन् ।
अन्तरिम सरकारले निर्वाचनको मितिको घोषणा गरेर निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम नै घोषणा गरिसक्दा पनि देशमा निर्वाचन हुने वातवरण देखिनुको साटो हिंसा र मुठभेडको वातावरण देखिनुु एकदमै दुःखदायी कुरा हो । यो देशका निम्ति उत्तिकै हानिकारक पनि हो । यसले ‘भाइ फुटे गवाँर लुटे’ उक्ति चरितार्थ नहोला भन्ने अवस्था छैन ।
तसर्थ हामी सबैले सार्वजनिक रुपमा विचार राख्दा होस् यात साथीभाइसँग चिया गफ गर्दा नै होस् हिंसात्मक भन्दा आशातित कुराहरू धेरै गरौँ । सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्ति राख्दा होस् वा कतै कमेन्ट गर्दा त्यसले शान्तिलाई प्रतिनिधित्व गर्छ कि हिंसालाई भन्ने कुरा ख्याल गरौँ । शान्तिले मात्र अमनचयन दिन सक्छ । राष्ट्रलाई विकासको बाटोमा अगाडि बढाउन शान्ति पहिलो प्राथमिकता हो । यसले समाजमा निराशा र त्रास चिर्दै आशा र उमङ्गलाई प्रोत्साहित गर्दछ । देशमा शान्ति स्थापना गर्न मुख्य भूमिका सरकार, आन्दोलनकारी, राजनीतिक दल र सञ्चारमाध्यमहरू कै हो ।
देशमा ठुलो हिंसा र विध्वंस भएको छ । जसको कारणले देश आन्तरिक तथा बाह्य दुवै रुपमा कमजोर भएको छ । खाडी मुलुकहरू जो हामीबाट सधैँ श्रमिक लान्थे उनीहरूले भिजा बन्द गर्न थालिसकेका छन् । युरोपले पनि भिजा बन्द गर्न सुरु गरिसकेको छ । देशमा भएका उद्योग धन्दाहरू ध्वस्त भएका छन् । हजारौँ श्रमिकले रोजगार गुमाउने निश्चित छ । नयाँ कलकारखाना खुल्ने तथा वैदेशिक लगानी भित्रिने सम्भावना शून्यप्रायः छ । विश्व बैंकले यसअघिको आर्थिक वर्ष २०८२-८३ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।
अब भने आर्थिक २०८२-८३ मा यस्तो वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण भर्खरै सार्वजनिक गरेको छ । यस्ता विविध घटनाले देशको अवस्था उकालो लाग्दै छ कि ओरालो झर्दैछ सहजै बुझ्न सकिन्छ । देशमा दण्डहीनताले प्रश्रय पाएको यस समयमा, आमनागरिक असुरक्षित भएको बेला सबै पक्षले देशलाई निकास दिने बाटो पहिल्याउन जरुरी छ । जसले दिगो शान्ति र स्थायित्वको वातावरण निर्माण गरोस् । व्यापार व्यवसाय फस्टाउन् । कलकारखाना खुलुन्, मान्छेले रोजगार पाउन् यो दिशातर्फ सबैले सचेत र सजक भएर अघि बढ्न जरुरी छ ।
वि.सं. २०७९ सालको निर्वाचनपश्चात बनेको प्रतिनिधिसभा आफैँमा बदनाम थियो । अपवाद बाहेक यसको कहिल्यै पूरा बैठक बस्न सकेन । कुनै न कुनै पक्षले सदैव अवरोध गरिरयो, सदनमा नारा जुलुस भइरह्यो । सधैँको यस घटनाले संसदीय व्यवस्थाको बदनाम गरिरहेको थियो । देशभित्रका देशी विदेशी शक्तिहरू आफ्नो डम्फु मजबुद बनाइरहेका थिए । बदनाम सदन भङ्ग भएको छ तर सौभाग्य ठान्न पर्छ यो लेख लेख्दाको मितिसम्म व्यवस्था टिकिरहेको छ । व्यवस्थालाई अझ सुदृढ बनाउन, लोकतन्त्र र संघीयताको मर्म अनुरुप विकास तथा कार्यक्रम डेलिभर गर्न एउटा सुनौलो अवसर मिलेको छ ।
यसका निम्ति सबै पक्षहरू फागुन २१ मा तोकिएको निर्वाचनमा भाग लिन पर्छ । प्राप्त जनमतलाई सबैले स्वीकार गर्नुपर्छ । निर्वाचन पश्चात बनेको सदनले हाल प्रश्न उठेको निर्वाचन प्रणालीलाई संशोधन गर्दै स्थायित्व र नागरिक स्वतन्त्रता दिनसक्ने निर्वाचन प्रणालीको खोजी तथा अनुसन्धान गरी लागु गर्नुपर्छ । देशलाई थप हिंसा र मुठभेडको अवस्थामा हैन शान्ति र अमनचयनको दिशा तर्फ अगाडि बढाउनु सबैका निम्ति सुन्दर हुन्छ ।







प्रतिक्रिया