Banner news

नेतृत्वको नियत र राष्ट्रको नियती

नेतृत्वको नियत र राष्ट्रको नियती


टिकाराम मंग्राती

हाम्रो जस्तो विकासोन्मुख देशमा असल नियतको नेतृत्व पाउन मुस्किल छ । यो एउटा जटिल प्रश्न पनि हो । पहिलो कुरा त कुनै न कुनै शक्ति राष्ट्रले उपयोग,परिचालित गर्ने प्रयत्न हुन्छ । यदि तेसो नभए देश भित्रै कुनै न कुनै बहानामा घटनाहरु घटउने । यसरी हेर्दा हाम्रो देशको सन्दर्भमा को–को परिचालित भए र को–को देश बनाउने अठोट लिएर अघि बढे इतिहासका घटना क्रमले बताउछ ।

देश कसरी बन्छ ? बिश्वको इतिहासमा रातारात देश बनेको इतिहास छैन । तर एक रातमा सत्ता परिवर्तन भएको इतिहास थुप्रै छन् । र तिनले लिएको निर्णयले देश कायपलट भएको छ । के नेपालमा भएको सत्ता परिवर्तन र यसबाट आएको नेतृत्वले देश बन्छ ? यसको उत्तर त्यति सजिलो छैन । जवाफ दिनु पूर्व हामी यसको पृष्ठभुमिमा जान जरुरी छ । जेनजी आन्दोलनसँग सम्बन्धित धेरै तथ्य र रहस्यहरु आजसम्ममा बाहिर आइसकेको छ । अझै आउन बाँकी पनि छन् ।  आउलान्, हाम्रो अनुमान ,भ्रम कतिपय घटना क्रमले चिर्दै जाने छ ।

युवा पुस्ताको उद्घोष अनुसार सुरुमा सुशासनको पक्षमा, भ्रष्टाचारको बिरुद्धमा र सामाजिक सञ्जाल खुल्ला राख्न गरेको आन्दोलन बिकसित हुँदै सत्ता परिवर्तनसम्म पुग्यो । यसमा विभिन्न शक्ति र स्वार्थ समुहको खुलेआम प्रवेश देखियो । एउटा भयानक स्थिति सृजना भयो । कलिला बालबालिकासहित ७२ जनाको मृत्यु देखि लिएर सयौं घाइते भए । देशभर सल्किएको आगोले देशको महत्वपूर्ण सम्पदाहरु संसद भवन, सिंहदरवार, सर्बोच्च समेत जल्न पुग्यो । जननिर्वाचित सरकार अपदस्त हुन पुग्यो । सुरक्षा घेरामा बस्नु पर्ने स्थिति सृजना भयो । त्यसको जगमा नयाँ सरकार बन्यो ।

यो सरकार जुन स्प्रिटबाट बनेको थियो, प्रायः यो असक्षम देखियो । युवापुस्ताको देश परिवर्तन गर्ने उत्कट चाहाना यसले सम्बोधन गर्न सकेन र नसक्ने देखियो । त्यो कुरा कामबाट त देखिएको छ नै अभिव्यक्तिमा पनि सुनियो । आज उल्टै संबैधानिक र कानुनी जटिलताका प्रश्नको घेरामा परिसकेको छ । संबिधानको ब्याख्या गर्ने सर्बोच्च अदालतको सर्बोच्च पदमा बसेको मान्छे संबिधान बिपरित प्रधानमन्त्री हुनु असंबैधानिक तवरले संसद विगठन गर्नु, राजनैतिक भन्दा गैर राजनीतिक र विभिन्न शक्ति केन्द्र र स्वार्थ समुहसँग मात्र भेट गर्नु । यि प्रश्न उठ्ने स्थिति कसरी सृजना भयो ? गम्भीर प्रश्न छ ।

एउटा क्रान्ति, बिद्रोहबाट जन्मिएको सत्ता वा सरकारले जब क्रान्तिको, बिद्रोहको वा आन्दोलनको स्पिरिट अनुसार परिणाम दिन सक्दैन तब आफै कुरुप हुने छ । पतन हुन्छ । र अपराधी साबित हुन सक्छ । एउटा सामान्य अर्थमा पनि कुनै पनि बस्तुको परिणाम निकाल्न १००% मात्रा मिल्न पर्छ । नत्र बन्दैन, बिग्रन्छ । त्यस्तै हो क्रान्तिको नियम पनि । हुन त यो सरकार राजनीतिक विश्लेषक आहुतिको अनुसार मुर्कुटो हो । जस्को टाउको देखिदैन । कहाँबाट बन्यो ? कसरी बन्यो ? कुन उमेर समुहको आन्दोलन थियो कुन उमेर समुहको बन्यो ? कस्तो पृष्ठभुमिको बन्यो ? प्रत्यक्ष नेतृत्व छैन । स्पष्ट दृष्ठिकोण छैन । जेनजी आन्दोलनका नेता च्याउ जत्तिकै छन् । कोहि असन्तुष्ट छन् । मृतक परिवार ,घाइते पीडामा छन् । प्रहरी ,प्रशासनको मनोबल गिरेको छ । कसरी बन्छ देश ? देश बनाउने नियतबाट भएको आन्दोलन र सत्ता परिवर्तन भए विश्वका अन्य देशबाट सिकेर गर्न सकिदैन ? बन्द भएको कलकारखाना खोल्ने ,भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, गरिब बिपन्नको ऋण मिनाहा गर्ने । युवा रोजगारको निम्ति प्रोत्साहित गर्ने ।

अबरुद्ध भएको आयोजनाहरुको छानबिन गरि आवश्यक कार्वाही गर्ने जस्ता महत्वपूर्ण कार्य गर्न सक्नुपर्छ । देश जुन कारणले बन्न सकेको छैन र बिद्रोह भयो पहिलो प्रहार त्यहाँ हुनुपर्ने होइन ? अनि पो बन्छ देश । हुन त यो घटना क्रमले सत्ता परिवर्तन जस्तो देखिए पनि मुलत सरकार परिवर्तन हो । त्यो पनि एउटा लहडमा । अस्थिरता पैदा गर्ने शक्ति केन्द्रको आड भरोसामा राजनीतिक पार्टीहरुको गलत रवैया र युवाको निराशालाई आक्रोशमा परिणत गरि गराइएको बिष्फोट हो । यसबाट नयाँ केहि हुनेवाला छैन । बरु, देश अझ पछि पर्नेछ ।

यो परिस्थिति सृजना हुनुमा राजनीतिक दल मुख्यरुपमा जिम्मेवार छन् । दलहरुको शासकीय चरित्र हेर्दा एकपटक मस्तिष्क हल्लिने गरि हान्न जरुरी थियो । यसले विल्कुल मस्तिष्क हल्लाएको छ । तर यो हल्लाइले चेत आउनेभन्दा पनि बहुलाउने खतरा बढी देखिन्छ । आन्दोलनले उठाएका मुद्दाहरुलाई बोक्ने र सहि ढंगले डिल गर्ने नेतृत्व नहँुदा उपलब्धी खाली हात हुने खतरा छ । यसले देशलाई समेत सङ्कटमा पुर्याउने छ ।

आन्दोलनकारी भनिएका जेनजीहरु पार्टी खोल्ने होडमा छन् । पुराना भनिएका पार्टी छदैछन् । नयाँ पपुलिस्टहरु उत्तिकै । देशमा सबैको काम भनेको पार्टी बनाउने । जनतालाई आआफ्नो दास बनाउने । आफु सत्तामा पुग्ने । दलाली गर्ने ,तस्करी गर्ने । भ्रष्टाचार गर्ने । सबै पार्टीका दास घरघरमा । जनता त नामको मात्र । समर्थन बिरोध तिनै बीचमा । देशमा कुनै नयाँ उद्योग, नयाँ सम्भावना, नबिन काम गर्न परेन । खाली भाषण । सरकारमा बस्यो, जनतालाई आधारभूत सुबिधा पनि दिन नसक्ने । एउटा बाटो, एउटा बिजुलीको पोल, एउटा खानेपानीको पाइपको लागि जीवनभर निवेदन बोकेर नेता, कर्मचारीको पछिपछि हिड्नु पर्ने स्थिति कति दयनीय छ । यसरी बन्छ देश ? जमिन बाँझो छ । युवा देशमा छैनन् । सबै नेता, उत्पादन छैन । लगानी छैन । ज्ञान छैन । सिप छैन । रोजगारी छैन । केवल छ त राजनीतिको उद्योग ।

(लेखक मंग्रागी हाल युरोपमा कार्यरत हुनुहुन्छ ।)

शेयर गर्नुहोस :

4.5k
Shares