Banner news

युरोपको आकाशमा एउटा बाज !

युरोपको आकाशमा एउटा बाज !


टिकाराम मंग्राती

बेड नम्बर १ , रुम नम्बर ४ ।

भास्लुइ रोमानिया, युरोप ।

यो बेडमा एउटा बाज बस्छ । तपाईंलाई थाहा छ ? बाजको बिशेषता ? बाजलाई चराहरुको राजा पनि भन्ने गरिन्छ । यो प्रति घन्टा १२० किलोमिटरको गतिमा हजारौं किलोमिटर माथी उड्छ । अरु जस्तै दुई वटा खुट्टा , दुई वटा पखेटा र एउटा चुच्चो भएर पनि सबै चराहरु भन्दा उचाईमा उड्न सक्छ । बाजको बच्चा अवस्था पनि अरु चराहरुको भन्दा फरक हुन्छ । अरु चराले आफ्नो आहारा ल्याएर आफ्नो बच्चालाई चुच्चाले मुखमा हालिदिन्छिन् । तर बाजले त्यसो गर्दैन । आफ्ना बच्चाहरु भएको ठाउँ भन्दा केहि पर राखिदिन्छ । बच्चा आफै गुडबाट गएर खान्छ र गुडमा जान्छ । सानैबाट आफ्नो बच्चालाई उड्नको निम्ति कठोर अभ्यास गराउछ बाजले ।

अग्लो पहाडबाट छोदिदिने त कहिले आकाशबाट । फेरि जमिनमा नपुग्दै आफ्ना पन्जाले बच्चालाई पक्रने । यस्तो अवस्थामा मृत्यु समेत हुनसक्छ । यसरी हुर्किएको बाजको औषध आयु ७० बर्ष हुन्छ । तर ७० नपुग्दै बाजको जिन्दगीमा ४० बर्षमा एउटा यस्तो भयानक समय आउछ कि, पन्जा नरम र लचकदार हुन्छ । जसको कारण नङग्राले शिकार गर्न छोडछ । चुच्चो घुमेर आहारा खान बहुत कष्टकर हुन्छ । अझ दुखको कुरा त आफ्ना पखेटाहरु बाक्लो भएर जिउ मै टासिन थाल्छ । उड्न नसक्ने हुन्छ । यस्तो अवस्थामा उस्का निम्ति तिन वटा विकल्प हुन्छन् । पहिलो मृत्यु स्वीकार्नु , दोस्रो गिद्दले जस्तो सिनोको आश गर्नु र तेस्रो आफैलाई भयानक सजाय दिएर मृत्युलाई जित्नु ।

बाजले तेस्रो विकल्पलाई रोज्छ । जुन अत्यन्तै पिडादायी र भयानक हुन्छ । उस्ले अग्लो पहाडमा गएर आफ्ना पन्जा र चुच्चोलाई बेस्सरी बजार्छ । रक्ताम्य हुन्छ । पन्जाका नग्राहरु भाचिन्छ । खस्रा छालाहरु उक्किन्छन् ,निस्कन्छन् । चुच्चो त्यसैगरी भाचिन्छ । त्यसपछि बिस्तारै नङ्रा र चुच्चो फेरि पलाउन थाल्छ । अनि बाक्ला बुढो भएको पखेटाका प्वाँखहरुलाई एक एक गरेर उखेल्न थाल्छ । निक्कै लामो समयको प्रतिक्षापछी बिस्तारै नयाँ प्वाँखहरु पलाउन थाल्छन् । बाज फेरि जवान हुन्छ । त्यसपछि आफ्नो उडान उहि उचाईमा कायम राख्ने गर्छ । नयाँ उर्जाको साथ । नयाँ उमंग लिएर बाँकी जिन्दगी बाच्छ ।

सुरुमा जातीय बिभेद र उत्पीडनबाट मुक्त हुन बिद्रोह गर्ने चेत भरियो । यसको श्रेय तत्कालीन नेकपा माओवादीलाई जान्छ । देशमा जनयुद्ध चलिरहेको थियो । यो २०५८ सालको कुरा हो । म अनेरास्ववियु क्रान्तिकारी ,जनता माबि तेलपानी , मेचीनगर –३ स्कुल कमिटीको सचिव बने । दलित विद्यार्थी बिच हाजिरी जवाफ प्रतियोगिता मार्फत म उत्पीडित विद्यार्थी संगठनको सम्पर्कमा पुगे । त्यसको नेता हुनुहुन्थ्यो सोमनाथ पोर्तेल । मैले २०५९ मा एसएलसी दिए र पास गरे ।

म त्यो समयमा शाही नेपाली सेना र माओवादीको एउटा समुहको वानटेडमा थिए । बाहुण्डाँगीमा माओवादीभित्रको गुटबन्दी र एकआपसको अपराधिक घटनाबाट राजनीतिमा संलग्न नहुने मनोस्थिमा थिए । त्यहि बिचमा जिल्लास्तरमा दलित अधिकारको निम्ति काम गर्न एउटा सामाजिक संस्था बनाउने प्रस्ताव आयो । म त्यसको सदस्य बने । संस्थामा आबद्ध हुन पुलिस रिपोर्ट चाहिने रहेछ । मेरो पुलिस रिपोर्ट ठिक आएन ।

किन भने म तत्कालीन माओवादीको संघर्षमा विद्यार्थी मोर्चामा आबद्ध थिए । सामेल थिए । जे थियो त्यही यथार्थ आयो । तत्कालीन सिडिओ टीकाराम अर्यालसँग समन्वय गरेर त्यो समस्य हल गरियो । र, म संस्थाको सदस्य हुन योग्य भए । अध्ययनको शिलशिलामा म झापाको बिर्तामोड आए । मैले राजनीतिलाई छोडे पनि मलाई राजनीतिले छोडेन । आफ्नो समुदाय र विद्यार्थीको हक अधिकारको निम्ति संघर्ष गर्ने इच्छा म मा जिवित थियो । क्याम्पस अध्ययनको क्रममा तत्कालीन विद्यार्थी नेता शिव ढुंगेलसँग सम्पर्क भयो ।

म अनेरास्ववियु कोहेड क्याम्पस कमिटीको अध्यक्ष भए । २०६२-६३ को जन आन्दोलनमा विद्यार्थी नेता, दलित राजनीतिकर्मी, अधिकारकर्मीको रूपमा सकृय भए ।२०६३ मङ्सिरमा सम्पन्न अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी झापाको अध्यक्ष भए ।२०६७–७० अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य ,पूर्वाञ्चल ब्यूरो सचिव सम्म भए । स्कुल जीवनबाट ५-७ जना भएर सुरु गरेको उत्पीडित विद्यार्थी संगठनको यात्रा केन्द्रीय कमिटी अध्यक्षसम्म बने । झापाको तत्कालीन (२०६९) पार्टी जिल्ला कमिटीमा सबैभन्दा कान्छो जिल्ला सदस्य (२६ बर्ष ) थिए । पार्टी जिल्ला कमिटीमा करिब १२ बर्ष बसेर काम गरे ।

पार्टीको जनसंगठन मुक्ति समाजको स्थायी कमिटी सदस्यसम्मको जिम्मेवारीमा रहेर काम गर्ने अवसर पाए ।
पार्टी , संगठनको माध्यमबाट निरन्तर समाजमा भएको बिभेद ,उत्पीडन र अन्य अत्याचारको घटनामा खबरदारी गर्ने , सचेत बनाउने र जागरण गर्ने काम भयो । देशको अविकाश ,बेरोजगारी र भ्रष्टाचारलाई अन्त्य गर्ने कामको आगुवाई हामीले गर्नपर्छ । त्यसको निम्ति युवा विद्यार्थी र आफ्नो समुदायलाई संगठित गर्ने , परिचालित गर्ने र संघर्ष गर्ने कामको आगुवाई गरे ।

यस बीचमा धेरै प्रिय आत्मीय साथीहरू कमाएको छु । जस्ले मलाई आँखा बन्द गरेर बिश्वास र समर्थन गर्नु भयो । मलाई बिरोध र असहयोग गर्ने साथीहरू लाई अझ धेरै सम्झिएको छु । जस्ले मलाई हरेक ठाउँमा चुनौतीको सामना र प्रतिस्पर्धा गर्न तयार बन्न सिकाउनुभयो । त्यहाँ तँ दृढ़ भएर लाग्नपर्छ र बिजयी हासिल गर्नपर्छ भन्ने शिक्षा दिए ।

आर्थिक बिपन्न दलित विद्यार्थी निशुल्क शिक्षा अभियान । यसमा झापाको प्रायः सबै निजी शैक्षिक संस्थाले (१० बर्ष जति) निरन्तर सहयोग पुर्याए । जातीय बिभेदको घटनामा प्रतिकार र प्रतिरोध । म अहिले सम्झन्छु, अन्तरजातीय बिवाहको धेरै घटनामाहरु मध्ये गौरी ठटालको न्यायको लागि गरिएको संघर्ष , सार्वजनिक स्थलमा हुने जातीय बिभेदको घटनामा दमक र बिर्तामोडको होटेलमा सधैं आफुले चिया नस्ता खाएको गिलास प्लेट माझ्ने मल्लिक समुदायले गरेको प्रतिकार ।

दलित सशक्तिकरणको लागि तत्कालीन विभिन्न गाबिसमा बजेट माग गर्दै गरिएको ताला बन्दी । अहिले जस्तो फेसबुक र युटुबको समय थियो भने के हुन्थ्यो होला ? देशमा भएको जातीय बिभेदको घटना, मानविर सुनारको चुल्हो छुएको निहुँमा भएको हत्या ,अन्तरजातीय बिवाहको कारण मारिएका अजित मिजार , नवराज बिश्वकर्म र उनको साथीहरूसहित भएको हत्या काण्ड विरुद्ध गरिएको देशब्यापी आन्दोलनमा झापामा हामीले गरेको संघर्ष अत्यन्तै सशक्त थिए ।

दलित विद्यार्थीलाई पढ्न नदिने गुरुकुल विरुद्ध झापामा भएको आन्दोलन झापाली दलित समुदायको सुन्दर र सशक्त प्रदर्शन थियो । मैले गणतन्त्र आएपछि पनि खालिखुट्टा आन्दोलनमा आएको मेरो समुदाय देखे । स्वाभिमानले बाँच्ने उत्कट चाहाने रिसाएको क्रान्तिकारी कस्तो हुदोरहेछ ? मैले हेरे । कालो, निलो , रातो मिश्रित मुद्रा, कडा स्वर , उठेको मुठी । सँगै हजारौं हातहरु ।

भारतले बेलाबेला गर्ने सिमा अतिक्रमण र विवाद विरुद्धको आन्दोलन । सिमा क्षेत्र (पशुपति नगर ) लगायतको अवलोकन युवा विद्यार्थीको नेतृत्वमा भारतलाई कडा चेतावनी दिदै सम्बोधन । महङ्गी , भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा सधैं सडकमा । विद्यार्थी हित र दलित अधिकार मेरो पहिलो प्राथमिकता हुन्थ्यो । विद्यार्थी राजनीति जीवनमा बहुत प्रतिभावान साथीहरू पाए । जस्ले कार्यकर्ता भएर पनि मलाई सधै गाइड गरे । दलित अधिकार र मुक्ति समाजको अभियानले बहुत आत्मीय ,वर्गीय साथीहरू पाए । वर्गीय प्रेम पाए । आफु नखाएर मलाई खान दिनेदेखि लिएर, आफुले जानेको सिप प्रयोग गरेर सिलाएको, बनाएको कपडा , जुत्तासम्म साथीहरूले दिन्थे ।

केही बर्ष भुमिहीन सुकुम्बासीको क्षेत्रमा काम गर्ने (जागिर खाने) अवसर मिलो । मैले त्यतिखेर अर्को दृश्य देखे । भुमि अधिकारको माग गर्दै आन्दोलन गर्न काठमाडौं गएको सुकुम्बासी (महिला) साथीहरूको टोली आन्दोलन गर्ने भनेको समयभन्दा धेरै समय बढी आन्दोलन गरेर, खान बस्नको अभाव भएर हावा हुरि, अशिना पानी सहेर बहुत दुखले झापा आइपुगे । म भने गएको थिइन । मलाई त्यो आन्दोलनमा नगएको , खर्च अभाव भएको र आन्दोलनकारीले दुख पाएको कारण समिक्षा बैठक राख्न पनि डर लागि रहेको थियो । बाध्य भएर बैठक राखे । मैले उल्लेख गरेको सबै कुरा ‘कस्तो रमाइलो भयो’ सर ! तपाई गएको भए झन रमाइलो हुन्थ्यो । पानी परेर चिउरा भुजा प्लेट मै भिजाइदियो अनि मज्जाले खायौ । करिब ५५-५६ बर्षको आमाले हाँस्दै सुरु गरेपछि म चकित भए । म प्रतिको बिश्वास र आन्दोलन प्रतिको समर्पण देखेर ।

म एक हिसाबले सामाजिक राजनीतिक जिवनको एउटा उचाइमा थिए । जति मेरो उचाईले भ्याउथ्यो । सगरमाथामा त पुग्न सकिन तर औसत पहाडहरु भन्दा माथि थिए । म राजनीतिमा संलग्न भए देखी सधै नेतृत्व तहमा रहे । त्यो समयमा मैले आफ्नो घरपरिवारको निम्ति समय दिन सकिन । अहिले म आफ्नो परिवारको जिम्मेवारी पुरा गर्न र बाह्य संसार बुझ्न निस्किएको छु । यस्ले मलाई सबै हिसाबले झन् बलियो बनाउने छ । मलाई सगरमाथा आरोहीलाई मिल्ने सहास र धैर्यता मिल्ने छ । हजार माइलको यात्रा एक पाइला बाट सुरु हुन्छ । हो मैले त्यसरी नै पाइला पाइला गनेर ,जोडेर गरेको यात्रा हो यो ।

एक हिसाबले जसरी ४० बर्षको उमेरमा बाजले आफ्नो वरिपरि भएको सबैभन्दा आग्लो पहाडको पथ्थरमा गएर आफ्नो चुच्चो , नङग्रा बजार्छ र नयाँ जिवन प्राप्त गर्छ । र बाँकी ३० बर्ष खुल्ला आकाशमा राज गर्छ । त्यसैगरी ठिक म पनि करिब ४० बर्षको उमेरमा युरोपको पथ्थरमा ठोकिन आइपुगेको छु । तन र मन को लय नमिल्नुको नतिजा कस्तो हुन्छ ? हावामा हिड्नु ,जमिनमा उड्नु कुनै सम्भव छ !? हो म यहीँ असम्भव लाई सम्भव बनाउने प्रयत्नमा छु । एकपटक बाजले जस्तै पुनर्जीवन प्राप्त गर्न छ । जवान भएर आफ्नो उडान भर्ने उत्कट इच्छा छ । फेरि उहि गतिमा,उही लयमा फर्कन छ । जसरी उहि उचाईमा बाजले आफ्नो भब्य उडान कायम राख्छ, त्यसैगरी म फेरि आउनेछु ।

शेयर गर्नुहोस :

5.8k
Shares