सम्पादकीय
सामुदायिक विद्यालयले सुधारका कयौं योजनाहरु बनाएका छन् । योजनाको कार्यान्वयन नहुँदा योजनामा नै सिमित भएको छ । सामुदायिक विद्यालयहरुको कमजोरी देखाएर निजी विद्यालयहरु आफूलाई माथि बनाउन सफल भएका छन् । निजीका सामुन्ने प्रतिष्पर्धा गर्न विद्यालयहरु खासै तयार देखिदैनन् । शिक्षक कर्मचारीमा त्यस प्रकारको हुटहुटी पनि पाइदैन । सरकारी कामकै रुपमा मात्र लिएर सामुदायिक विद्यालयको सुधार संभव छैन । कतिपय विद्यालयहरु धेरै मेहनतका कारण सुधारका क्रममा छन् । कतिपय विद्यालयहरु नतिजा सुधार गर्न पनि सफल भइरहेका छन् । शिक्षक, कर्मचारी र अभिभावकले प्रयत्न गर्ने हो भने विद्यालयमा सुधार ल्याउन सकिन्छ । त्यसकै एउटा सुरुवात झापाको सुरुङास्थित कनकाई माविमा सुरु भएको छ ।
कनकाई माध्यमिक विद्यालय सुरुङाले सुरु गरेको घरदैलो प्रभावकारी हुने छाँट देखिएको छ । विद्यालयले विद्यार्थीको दैनिकी, पठनपाठनको अवस्था र अभिभावकको संलग्नताबारे प्रत्यक्ष बुझ्न घरघर पुग्ने अभियानले शैक्षिक गुणस्तर सुधारमा अवश्य सहयोग पुग्नेछ । विद्यालयको प्रयत्न अभिभावकसँगको सम्बन्ध विस्तार पनि हो । कनकाई माविको टोलीले त्यसलाई नजिक्याउन गरेको पहलले विद्यार्थी र विद्यालय परिवारलाई फाइदा पुग्ने निश्चित छ । अभियानमा देखिएका वास्तविकतालाई अध्ययन गरेर सुधारका लागि आवश्यक पहल गर्नुपर्छ । पारिवारिक आर्थिक अभाव, घरायसी जिम्मेवारी, मोबाइलको अत्याधिक प्रयोगले विद्यार्थीको अध्ययन अनुशासन सोच्नुपर्ने बेला आएको छ ।
विद्यालयले विद्यार्थीको समस्या समाधानका लागि यो अभियानलाई प्रभावकारी बनाउन सक्नुपर्छ । अभियान मार्फत संकलित समस्या राखेर मात्र केही हुदैन । यसलाई समाधान गर्न विद्यालय र अभिभावकबीच आवश्यक समन्वय गर्नुपर्छ । विद्यालयले पहिलो चरणमा २२ परिवारमा पुगेर विद्यार्थीहरु बारे बुझ्ने काम गरेको छ । अभिभावकको सहभागिता विना विद्यालयले एक्लै सुधार गर्न सक्दैन । कनकाई माविको घरदैलो अभियानले अभिभावकसमक्ष विद्यालयको चासो पु¥याएको छ । विद्यार्थीका कमजोरी र आवश्यकताबारे शिक्षक कर्मचारीले गरेको अध्ययन सुधारको लागि महत्वपूर्ण पक्ष हुनेछ । व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, अभिभावक समिति र आमा समूहको सामूहिक सहभागिताको अभियानले गुणस्तर अभिवृद्धि सम्भव बनाउदै विद्यार्थीको कमजोरी सुधारमा ठुलो सहयोग पुग्ने छ ।







प्रतिक्रिया