सम्पादकीय
आज नोभेम्वर २५ बाट लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु हुदैछ । नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान विभिन्न संघ संस्था, सरोकारवाला निकायले मनाउने गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्ष पनि १६ दिने अभियानलाई देशव्यापी रूपमा मनाउन गरेको आह्वान गरेको छ । मन्त्रालयबाटै भएको आव्हान स्वागतयोग्य छ । संघदेखि स्थानीय तहसम्म, विद्यालयदेखि सामुदायिक संस्थासम्म सबैलाई सक्रिय सहभागिताका लागि अनुरोध गरिनुले लैंगिक हिंसा विरुद्ध सरकार प्रतिवद्ध रहेको स्पष्छ भएको छ ।
यो वर्ष लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको नारा ‘डिजिटल हिंसा अन्त्य’ र ‘प्रविधिको सही प्रयोग’ रहेको छ । नाराले समयको सान्दर्भिकलाई सम्बोधन गरेको छ । बढ्दो डिजिटल पहुँचसँगै प्रविधिको दुरुपयोगले महिलामाथि हुने हिंसाको बढिरहेकोले यो नारा पनि सान्दर्भिक भएको छ । यद्यपि, समस्याको जटिलता हेर्दा १६ दिनको औपचारिकता मात्र पर्याप्त हुँदैन । देशभर महिला र बालिकामाथि हुने हिंसाका घटना वर्षभर निरन्तर सुनिन्छन् । घरभित्र, कार्यस्थलमा, सडकमा र अब त झनै डिजिटल प्लेटफर्ममा पनि उत्तिकै भइरहेको छ । प्रविधि सशक्तिकरणको साधन बन्नुपर्ने असिमित दुरुपयोग भइरहेको छ ।
प्रविधिबाट हुने हिंसा राज्य, समाज र कानूनी संरचनाको कमजोरीको प्रत्यक्ष उदाहरण हो । अभियानको सफलता कार्यक्रमको संख्या वा नाराले मात्र होइन, व्यवहारिक परिवर्तनले मापन हुन्छ । त्यसका लागि विद्यालयहरूमा डिजिटल सुरक्षाबारे शिक्षा, स्थानीय तहमा द्रुत सेवा केन्द्रहरूको पहुँच, अनलाइन अपराधविरुद्ध प्रभावकारी कानूनी कारवाही र सामाजिक चेतनामा निरन्तरता दिनुपर्छ । कानून छ, तर कार्यान्वयन कमजोर छ । चेतना छ, तर प्रतिबद्धता दुर्बल छ । यसैले १६ दिन एउटा अभियानमा मात्र सिमित नहोस् । लैंगिक हिंसाविरुद्धको लडाइँलाई जारी राख्नुपर्छ । राज्य, समाज र प्रत्येक नागरिकले जिम्मेवारी बोध नगरेसम्म कुनै अभियानले स्थायी परिवर्तन ल्याउन सक्दैन । त्यसैले अब नारा होइन, व्यवहार बदल्न लागौं । महिलाको सम्मान र सुरक्षा सुनिश्चित गर्न जवाफदेही बनौं ।







प्रतिक्रिया