Banner news

भ्रष्टाचारका कारण र नियन्त्रणका उपाय

भ्रष्टाचारका कारण र नियन्त्रणका उपाय


गगन ढकाल

परिचय
विश्व बैंक तथा ट्रान्सपरेन्सी इन्टरनेसनल जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले व्यक्तिगत फाइदाको लागि सार्वजनिक पदको दुरुपयोगलाई भ्रष्टाचार परिभाषित गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२४ मा सार्वजनिक गरेको सर्वेक्षण अनुसार कूल १०० अंकमा ३४ अंक ल्याएर हाम्रो देश कम भ्रष्टाचार हुने देशको सूचिमा १०७ नम्बरमा परेको छ । सन् २०१४ यता १० वर्षको सर्वेक्षण हेर्दा भ्रष्टाचार कम गर्न हाम्रो देशले उल्लेखनीय उपलब्धि हासिल गर्न नसके पनि क्रमिक रुपमा भ्रष्टाचार घट्दै गएको देखिन्छ ।

तथापि हाम्रो देशमा युवाहरूले राजनीतिक नेतृत्वमाथि व्यक्तिगत फाइदाको लागि सार्वजनिक पदको दुरुपयोग गरेको अरोप लगाउने गरेका छन् । नेताहरूले व्यक्तिगत लाभको लागि सार्वजनिक पद, शक्ति, अधिकार र स्रोतको दुरुपयोग गरेको दावी उनीहरूको छ । नेताहरूको रहनसहन र लवाईखवाईको कारण यि प्रश्नहरू उठेको छ । साथै नेताहरूको परिवारको राजसी रहनसहन तथा अपारदर्शी आर्थिक व्यवहारको कारण नेताहरूमाथि भ्रष्टाचारको प्रश्न उठ्नुलाई स्वाभाविक रुपमा लिन सकिन्छ ।

भ्रष्टाचार नियन्त्रणका निम्ति नेपालमा भएका प्रयास

नेपालमा भ्रष्टाचार बढेको कुरालाई नजरअन्दाज गर्न सकिदैन । यसलाई नियन्त्रण गर्न विभिन्न संवैधानिक, कानुनी तथा संस्थागत प्रयासहरू भएको पाइन्छ । संवैधानिक निकाय कै रुपमा नेपालको संविधानको धारा २३८ मा अख्तियार दुरुपयोग आयोगको गठन गरी धारा २३९ मा यसको काम, कर्तव्य र अधिकारको बारेमा व्यवस्था गरिएको छ । यसले कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने व्यवस्था गरिएको छ । यस्तै भ्रष्टाचार निवारण ऐन, २०४९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, सूचनाको हक सम्बधि ऐन, २०६४ लगायत थुप्रै कानुनी प्रावधानहरूले भ्रष्टाचार नियन्त्रणका निम्ति काम गरिरहेका छन् ।

भ्रष्टाचारका कारणहरू

भ्रष्टाचार कसरी हुन्छ ? किन बढ्छ ? भन्ने कारणहरू समय, स्थान र परिस्थितिअनुसार फरक हुने गर्छ । भ्रष्टाचार हुने कारणहरूमा व्यक्ति महत्वकांक्षा र स्थापित सामाजिक प्रवृत्तिहरू प्रमुख हुन् । भ्रष्टाचारको अन्त्य गर्न सर्वप्रथम कुनै पनि सार्वजनिक मान्छेले किन भ्रष्टाचार गर्छ भन्ने विषयको अध्ययन हुन जरुरी छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगबाट प्रकाशित हुने वार्षिक प्रतिवेदनमा नेपालमा भ्रष्टाचार हुनुका प्रमुख कारणहरूमा सार्वजनिक पदाधिकारी तथा समाजमा नैतिकताको स्तर कमजोर हुनु, गलत मनसाय राख्नु, छिटो धनी बन्ने सोच राख्नु, कारवाहीको भय कम हुनु, पारिवारिक तथा सामाजिक दायित्व पूरा गर्न पुग्ने पारिश्रमिक नहुनु, नियमनकारी निकायहरूको प्रभावकारिता कमजोर हुनु जस्ता पक्षलाई उल्लेख गरेको पाइन्छ । यि विषयहरूको वस्तुगत अध्ययन गरेर हाम्रो सामाजिक परम्परा र नैतिक पक्षमा काम गर्न सके भ्रष्टाचार धेरै मात्रामा घट्न सक्ने अनुमान गर्न सकिन्छ ।

यसैगरी भ्रष्टाचार हुनुमा मुख्य भूमिका निर्वाह गर्ने हाम्रो सामाजिक प्रवृत्तिहरू पनि रहेका छन् । हामीलाई कागज पुराएर प्रशासनिक काम निकाल्नु भन्दा प्रणाली मिचेर भनसुन मार्फत काम गर्न पाए वा सके आफुलाई शक्तिशाली लाग्ने गरेको छ । अझ आफनो प्रशासनिक काम आफै गर्नुको सट्टा विचौलियालाई काम जिम्मा दिएर क्याफेमा बसेर गफ पिट्ने प्रवृत्ति बढ्दो छ । अर्थात, यसलाई हाम्रो समाजमा सामाजिक संस्कृतिको रुपमा लिन थालिएको छ ।
हामी सार्वजनिक महत्वको विषयमा कम चासो राख्छौँ । बढी प्रश्न मात्र गर्छौ । काम निकाल्न चाकडी गर्ने वा दाम चडाउने गर्छौ । हामीमा दुई पोइसा मिलाएर खाने गज्जब कै बानी लागेको छ । कामहरू नियमित र प्रकृयागत गर्नुभन्दा दुई पोइसा दिएर काम गराउन पाए हामीलाई गर्व महसुस हुन्छ । हुन थालेको छ ।

भ्रष्टाचार नियन्त्रण गर्न चाल्नैपर्ने कदमहरू

भ्रष्टाचारलाई नियन्त्रण गर्न नसक्ने हो भने समग्र मानव समाज नै ठुलो समस्या र भयावह अवस्थामा पुग्न सक्छ । भ्रष्टाचारले मानवताको अन्त्य गर्दै द्वन्द्व र हिंसालाई प्रश्रय दिन्छ । तसर्थ भ्रष्टाचार अन्त्यको लागि सर्वप्रथम आम नागरिक तथा सार्वजनिक पदाधिकारीहरूमा नैतिक मूल्य, मान्यता र आचरणमा सुधार गर्नपर्छ । हरेक कुराको केन्द्रमा नैतिकता हुन्छ । उच्च नैतिक नागरिक उत्पादन गर्ने हो भने उसले भ्रष्टाचारको विरोध गर्दै भ्रष्टाचार विरोधी रचानात्मक अभियान सञ्चालन गर्छ । साथै स्वच्छ र पारदर्शी जीवनले अरुलाई पनि भ्रष्टाचार नगर्न प्रेरणा दिन्छ ।

हामीले अब भ्रष्टाचार विरोधी संस्कृतिको निमार्ण गर्नुपर्छ । हाम्रो समाज कुनै न कुनै रुपमा भ्रष्टाचारलाई स्वीकार गरिरहेको छ । समाजले यस्ता कार्यलाई स्वीकार गर्नुले भ्रष्टाचारजन्य कार्य नियन्त्रण गर्न गाह्रो भएको छ । तसर्थ हरेक नागरिकलाई नागरिक शिक्षाको माध्यमबाट भ्रष्टाचारले हाम्रो जीवनमा पारेको नकारात्मक प्रभाव तथा समग्र देशकै विकासमा पारेको असर बारे बुझाउनु जरुरी छ । यसरी भ्रष्टाचारले निम्त्याएको वेथिति बारे जानकारी दिँदै गाउँ–गाउँमा नागरिकहरूलाई सचेत गर्ने हो भने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिन्छ । साथै, भ्रष्टाचाररहित समाज निमार्ण गर्न सकिन्छ ।

देशमा राजनीतिक अस्थिरता छ । अन्यौलता र तरलताले अपराधहरू बढ्न सक्छ । हिंसा भड्कन सक्छ । सबै सचेत बनौँ । जेनजी पुस्ताको भ्रष्टाचार अन्त्य र सुशासनको मुद्दालाई विलाउन दिन हुँदैन । किनभने यो एक पुस्ताको मात्र माग होइन । समग्र आम नेपाली नागरिकहरूको माग हो, मुद्दा हो । वास्तवमा भ्रष्टाचारको अन्त्य, सुशासन र विधिको शासन मानव सभ्यताकै माग हो । मानव सभ्यताकै श्रेष्ठ माग राखेर गरिएको आन्दोलनलाई मूल मर्मबाट बाहिर जान दिनु हुँदैन । तसर्थ राजनीतिक दल र आन्दोलनकारीहरू पनि रहने गरी भ्रष्टाचारका मुद्दाहरूको छानबिन गर्ने एक शक्तिशाली आयोग गठन गर्नुपर्छ । जसले गरेका हरेक काम पारदर्शी हुन् । यसले भ्रष्टाचारको अन्त्य हुनैपर्छ । भ्रष्टाचारी र अपराधीहरूलाई राजनीतिबाट हटाउनै पर्छ । यसैगरी नैतिकवान तथा अनुशासित नागरिक तथा कर्मचारीहरूलाई यथोचित पुरस्कार तथा अभिनन्दन समेत गर्नुपर्छ । जसले भ्रष्टाचार रोक्न प्रेरणा दिओस् ।

शेयर गर्नुहोस :

594
Shares