सम्पादकीय

जेनजीको मागलाई प्रधानमन्त्रीले अवहेलना गर्न हुदैन

जेनजीको मागलाई प्रधानमन्त्रीले अवहेलना गर्न हुदैन


सम्पादकीय
विभिन्न माग राख्दै प्रधानमन्त्री सुशिला कार्कीलाई भेट्न पुगेका जेनजी अभियान्ताहरुलाई सिंहदरवार प्रवेश गर्न नदिएको घटना चर्चाको विषय बनिरहेको छ । आफैले बनाएको सरकारले सिंहदरवार प्रवेशमा लगाएको अवरोधपछि जेनजीहरु आक्रोसित भइरहेका छन् । जनेजीका नाममा खुलेका अनेकौं समूहरु छन् । हरेक समूहलाई प्रधानमन्त्रीले समय दिने हो भने अन्य सबै काम प्रभावित हुने निश्चित छ । प्रधानमन्त्री कार्कीले जेनजीका मागलाई सम्बोधन गर्न कुनै विधि अपनाउनुको पनि विकल्प छैन । जेनजीहरुले उठाएको जायज मागलाई कुनै न कुनै हिसावले सम्बोधन गर्नुपर्छ ।

जेनजी अगुवा सुनद गुरुङ, मिराज ढुङगानाहरु सोमवार प्रधानमन्त्रीलाई बुझाउन लिएर गएको माग पत्र बाहिर टाँसेर हिडे । गुरुङको समूहले गोजीमै राखेर गएको सञ्चारमाध्यममा सार्वजनिक भयो । मंगलवार ढुङगानाको समूहलाई प्रहरीले लखेट्यो । निषेधित क्षेत्रमा भीडभाड गरेको भन्दै प्रहरीले तितरवितर बनाइदियो । जेनजीहरु त्यस प्रकारको व्यवहारबाट आजित भइसके । त्यसैले उनीहरुले यो सरकारप्रति आक्रोस व्यक्त गरिरहेका छन् । आक्रोसित समूहले सरकार विरुद्ध नारावाजी नै गर्न थालेको छ । आफै बनाएको सरकारले माग नसुनेपछि उनीहरु रुष्ट हुनु स्वभाविक छ । अब, जेनजीहरुले पनि आफ्नो मागलाई व्यवस्थित हिसावले राख्न जानुपर्ने देखिन्छ ।

हरेक दिन जेनजीका नाममा प्रधानमन्त्री कार्यालय जाने, माग पत्र बुझाउने काम नभएको भने होइन । तर, सधैं प्रधानमन्त्री काम जेनजीलाई मात्र सुन्ने होइन । देशको समग्र कामलाई नेतृत्व गर्ने ठाउँमा अनेक व्यवस्थापनको पाटो रहन्छ । प्रधानमन्त्रीले जेनजीका आवाजलाई सुन्नैपर्छ । त्यसका लागि सानो समूहमा जेनजीले प्रधानमन्त्रीलाई भेट गर्नुपर्छ । एउटै माग, एउटै समूह, हुलदंगा अस्वभाविक नै छ । त्यसैले जेनजीका नाममा मर्यादालाई पनि ख्याल राख्नैपर्छ । प्रधानमन्त्री कार्यालय जाने भनेपछि जेनजी युवाहरुले मर्यादित र सभ्य भएरै जानुपर्छ । जेनजीले बनाएको सरकार भन्दै मनमरी गर्न अवश्य मिल्दैन । यदि यसैगरी टकराव गरिरहने हो भने जेनजीको भावना कमजोर भएर जानेछ । जेनजीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउछ । त्यसैले माग राख्न मर्यादा ख्याल गरौं, त्यसका लागि उनीहरुको नेतृत्व गर्नेहरुले सोही अनुसार आवश्यक व्यवस्गापन मिलाउन जरुरी छ ।

शेयर गर्नुहोस :

27
Shares