सम्पादकीय
सामाजिक सञ्जाल हेरेर धारणा बनाउने हो भने अहिले सबैभन्दा बर्बाद देश नेपाल जस्तो लाग्न सक्छ । संसारका भ्रष्ट नेता, भ्रष्ट कर्मचारी, नेपालकै हुन भन्ने देखाइन्छ । देशमा केही भएको छैन भन्ने भाष्यलाई सामाजिक सञ्जालको दुनियाले जवरजस्त स्थापित गर्न चाहेको छ । देश आजभन्दा २० वर्षअघि फर्केर हेरौं । त्यो बेलाको प्रविधि क्षेत्रको प्रगति । शिक्षा, स्वास्थ्य र साक्षरता दर हेरौं । सडक सञ्जाललाई हेरौं । शान्ति सुरक्षा र स्वतन्त्रताको अवस्थालाई हेर्ने हो भने विगतभन्दा देशले धेरै फड्को मारेको छ । शान्ति र स्वतन्त्रता छ । सामाजिक सञ्जालबाट केही भएको छैन भन्नेहरुले देशमा नकारात्मकता फैलाउनुलाई नै ठुलो योगदान गरेको बुझेका छन् । देश बन्दैछ भन्नलाई असाध्यै गाह्रो छ । संभावना छन् भन्नलाई कठिन भइरहेको छ ।
गरिवी संसारभर छ, यसको मतलव यहाँ पनि हुुनुपर्छ भन्ने होइन । गरिवीको दर घटिरहेको छ । साक्षरता दर वृद्धि भएकै छ । शिशु मृत्यूदर घटिरहेको छ । सडक सञ्जाल विस्तार भइरहेको छ । स्वास्थ्य संस्था र सेवा विगतको भन्दा धेरै नै प्राप्त भइरहेको छ । हरेक नागरिकले स्वतन्त्र पूर्वक व्यापार व्यावसाय गर्न पाइरहेको अवस्था छ । सुशासनको लागि सधैं खवरदारी गर्नैपर्छ । सरकारी कार्यालयहरुमा गलत भए तत्कालै खवरदारी गर्न पाउने अधिकार हरेक नागरिकलाई छ । कर्मचारीले घुस मागेमा कारबाहीका लागि उजुरी गर्न सकिन्छ । अख्तियारलाई कारबाही गर्न भन्न सकिन्छ । सेवामा ढिलासुस्ती भएमा प्रशासन कार्यालयमा सबैले खवरदारी गर्न सकिन्छ । समग्रमा देश बनाउने जिम्मा हरेक नागरिकको हो । सुशासनको वातावरण बनाउने जिम्मेवारी पनि हरेक नागरिकको हो । नेतालाई दोष थोपरेर कसैले पनि पानीमाथिको ओभानो नबने हुन्छ । आफू केही नगर्ने, दोष लगाउने मात्र काम बेठिक छ ।
गलत काम गराउनेहरुले घुस खुवाएका छन् । कानुन बमोजिम काम गर्न सकिन्छ भने घुस जरुरी नै पर्दैन । आफ्नो काम निकाल्न घुस खुवाउनेहरुले देशमा भ्रष्टाचार भयो भन्न मिल्दैन । भ्रष्टाचारको एउटा मतियार घुस खुवाउने पनि हो । कतिपयले काम ढिलो हुन्छ, पैसा दिनैपर्छ भन्ने भाष्य पनि स्थापित गरेको पाइन्छ । समयका काम किन हुन सकिरहेको छैन कर्मचारीहरुलाई प्रश्न गर्नुपर्छ । भन्नै नसक्ने छ भने अन्यले सहयोग गर्नुपर्छ । आम नागरिक अधिकार सम्पन्न रहेको अवस्थामा फेसबुक हेरेर मात्र धारणा बनाउन हुदैन । गाउँ, शहरमा कालोपत्रे, पेवर्सले बाटो बनिसक्यो । यसलाई पनि विकासको एउटा आधार मान्न सकिन्छ । बाटो पनि विकास हो र भन्नेले पहिले आफ्नो घर अगाडि बाटो बनाउन दुनियाँ सोर्स लगाएको बिर्सेको हुन्छ । पहिले बाटो बनाउन माग गर्ने पछि त्यसैले बाटो पनि विकास हो र भन्ने गरेको पाइन्छ । बालबालिकाहरु पैसाकै अभाव भएर विद्यालय जान नपाएको हिजोआज सुनिएको छैन । त्यसैले सञ्जालमा नकारात्मक फैल्याउनेहरुको भिडियो हेरेर धारणा बनाउनु भन्दा आफ्नो क्षेत्रमा के कति काम भयो त्यसको सार्वजनिक गरौं । सकारात्मक विचार प्रवाह गरौं । नकारात्मक विचारहरुलाई निषेध गरौं ।







प्रतिक्रिया