सम्पादकीय
झापालगायत मुलुकका विभिन्न भागमा यतिबेला खाना पकाउने ग्यासको हाहाकार छ । उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर पसल–पसल धाउन बाध्य छन् भने सर्वसाधारणमा ग्यास नपाइने हो कि भन्ने एक प्रकारको त्रास र अन्योल छ । सीमानाकाबाट ग्यास बुलेटहरू नियमित रूपमा भित्रिरहेको अवस्थामा पनि बजारमा सहजै ग्यास उपलब्ध नहुनु चिन्ताको विषय हो । यो समस्याको मुख्य जड आवश्यकताभन्दा बढी ग्यास सञ्चित (ओभर स्टकिङ) गर्ने प्रवृत्ति नै हो । उपभोक्ताले एउटा ग्यास सिलिण्डर प्राप्त गर्दा ठुलै जीत हासिल गरेको जस्तो अवस्था बनेको छ ।
ग्यासजस्तो अत्यावश्यक वस्तुको अस्वाभाविक सञ्चितिले बजारको आपूर्ति ध्वस्त पार्छ । एकै घरमा आवश्यकताभन्दा बढी सिलिन्डर थुपारेर राख्दा साँच्चै चुलो बाल्न नपाएका बिरामी, वृद्धवृद्धा र विद्यार्थीहरू थप मर्कामा परेका छन् । तसर्थ, उपभोक्ता स्वयंले पनि सामाजिक उत्तरदायित्व बोध गर्दै अनावश्यक रूपमा घरमा ग्यासको स्टक गर्ने होडबाजी त्याग्नुपर्छ । अर्कोतर्फ, उपभोक्ताको बाध्यता र त्रासको फाइदा उठाउँदै पहुँचवालालाई मात्र ग्यास बाँढ्ने वा लुकाएर राख्ने केही व्यवसायीको गैरजिम्मेवार व्यवहार झन् घातक छ । आपूर्ति सहज भइरहेको दाबी गरिए पनि बजारमा ग्यास नपाइनुले केही व्यवसायीले आँखा छलेर कालोबजारी वा अनुचित सञ्चिति गरिरहेको आशंकालाई बल पु¥याउँछ । यस्तो संकटका बेला स्थानीय प्रशासनको भूमिका महत्वपूर्ण हुनुपर्छ ।
बजारमा व्यवसायी र उपभोक्ता दुवैतर्फबाट भइरहेको अस्वाभाविक सञ्चितिलाई नियन्त्रण गर्न प्रशासनको फितलो र कमजोर अनुगमन मुख्य बाधक बनेको छ । प्रशासनले अनुगमनलाई तीव्र र प्रभावकारी बनाउँदै अनुचित सञ्चिति गर्ने र उपभोक्तालाई खाली हात फर्काउनेमाथि कडा कानुनी कारबाही चलाउनुपर्छ । ग्यासको अभाव वास्तविकभन्दा पनि मनोवैज्ञानिक र अव्यवस्थित वितरणको उपज हो । उपभोक्ताले अनावश्यक सञ्चिति नगर्ने, व्यवसायीले निष्पक्ष र पारदर्शी वितरण गर्ने र प्रशासनले कडा अनुगमन गर्ने हो भने यो समस्या केही साताभित्रै समाधान हुन सक्छ । संकटका बेला संयमित बनौं, विवेक प्रयोग गरौं र कृत्रिम अभाव सिर्जना गर्ने खेललाई निरुत्साहित गरौं ।







प्रतिक्रिया