सम्पादकीय
सामुदायिक वनको संरक्षण नागरिकस्तरबाट भएको ३० वर्ष पुरा भयो । समुदायकै संरक्षणमा सामुदायिक वनहरु जोगिएका हुन् । त्यसअघि चोरी तस्करीको मुख्य केन्द्र नै वनजंगल थियो । वनजंगलमा चोरी तस्करी गरेर भारतसम्म पुराउने काम भएका थिए । वनस्पति, वन्यजन्तुको चोरी पैठारी डरलाग्दो थियो । अतिक्रमण उस्तै थियो । समुदायलाई संरक्षण र उपभोक्ताको अधिकार पाएपछि वन जोगिएको छ । वन जोगिए पनि त्यहाँभित्रका वन्यजन्तु जोगाउन तर्फ खासै ध्यान गइरहेको पाइदैन । वन संरक्षणमा धेरैको चासो भए पनि वन्यजन्तु संरक्षण खासै प्राथमिकतामा छैन । ध्यान पनि दिइएको छैन ।
झापामा करिव ६० वटा सामुदायिक वनहरु छन् । वनको उपयोग गरेर समुदायले आम्दानीको स्रोत समेत बनाएका छन् । कतैं मन्दिर छ भने कतै पर्यटकीय स्थल बनाइएको छ । वनजंगलको अधिक उपयोगले वन्यजन्तुको दैनिक जीवनमा असर पुगेको छ । मानवीय चहलपहलले वन्यजन्तुलाई स्वभाविक रुपमा अप्ठ्यारो छ । वन्यजन्तुको आहारमा ख्याल गरिएको छैन । बासस्थान र पानीको लागि सोचिएको कमै पाइन्छ । कहाँ बदेल पाइन्छ, कसरी मार्ने र पार्टी मनाउने ध्यान धेरै छ । जसले वन्यजन्तुको संरक्षणमा चुनौति थपिएको छ । वनको संरक्षण गर्ने भनेको रुख विरुवा मात्र बचाउने जिम्मेवारी भन्ने बुझाई छ । जसले वन्यजन्तुको संरक्षण हुन सकिरहेको छैन ।
झापामा मानव–वन्यजन्तुबीच द्वन्द्व छ । मानव समुदाय वन्यजन्तुबाट असुरक्षित भएको महसुस गरिरहेका छन् । अझ झापामा जंगली हात्तीको त्रास धेरै छ । जंगली हात्तीका कारण जीउधनको क्षति भइरहेको छ । यहाँ वन्यजन्तुको संरक्षणभन्दा धेरै मानव समुदायको संरक्षण पहिलो प्राथमिकतामा राखिएको छ । जिउधनमाथिको असुरक्षाले वन्यजन्तुप्रति समुदायको सकारात्मक भावना कमै छ । तर, प्रकृति संरक्षणका लागि वन्यजन्तुको संरक्षण पनि अनिवार्य छ । घरपालुवा होस् वा जंगलमा होस्, वन्यजन्तुको संरक्षण जरुरी छ । मानव समुदाय, वन्यजन्तु र वनक्षेत्रको सँगै संरक्षण गर्न आवश्यक छ । यसैले वन्यजन्तुलाई आहारा, वासस्थान, पानीको व्यवस्था गर्नुपर्छ । त्यसो गर्न सकेमा मानव समुदायमाथिको आक्रमण अवश्य घट्ने छ । आगामी दिनमा सामुदायिक वन, मानव समुदाय र वन्यजन्तुको संरक्षणमा सबैको साझा भूमिका हुनुपर्छ ।







प्रतिक्रिया