Banner news

हाम्रो मूल्याङकन प्रणालीमा पुनर्विचारको आवश्यकता

हाम्रो मूल्याङकन प्रणालीमा पुनर्विचारको आवश्यकता


देवराज कार्की

म मेरो चेतले परिस्थितिको थोरबहुत विश्लेषण गर्न सक्ने उमेरदेखि यानिकि २०३७ सालदेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा आबद्ध भएको हुँ । त्यसपछि म निरन्तर रूपमा कुनै न कुनै संगठनमा आबद्ध भई भूमिका निर्वाह गरिरहेको छु । मैले ३२ वर्ष नेपाल निजामती कर्मचारी संगठनको जिल्लादेखि केन्द्रसम्मका विभिन्न पदहरूमा बसी इमानदारीपूर्वक जिम्मेवारी बहन गरेको छु ।

२६ वटा घटक संस्थाको छाता संगठन पेशागत महासंघ नेपालको स्थायी कमिटीको सदस्य र कोशी प्रदेश कमिटीको संस्थापक अध्यक्ष समेतको जिम्मेवारी बहन गरिसकेको छु । वि.सं. २०६३ साल भदौ २४ गतेदेखि हालसम्म निरन्तर रूपमा नेकपा (एमाले) झापा जिल्ला कमिटीको सदस्य पदमा रही काम गरिरहेको छु । नेपाली जनताको प्रिय पार्टी नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन गत मिति २०८२ साल मंसिर २७ देखि ३ गतेसम्म सञ्चालन भई नयाँ नेतृत्व चयन गरेर भव्यताका साथ सम्पन्न भइसकेको छ ।

उक्त महाधिवेशनको नजिकबाट नियाल्ने अवसर मलाई पनि प्राप्त कम भयो । साथै निर्वाचित नेतृत्वको बारेमा भौतिक रूपमा नै नियाल्ने तथा जान्ने र बुझ्ने अवसर समेत प्राप्त भयो । वर्तमान नयाँ नेतृत्व निर्वाचित भइरहँदा मैले एउटा कुराको अनुभव गर्ने अवसर प्राप्त गरेँ । यो हो : सांगठनिक जीवनमा वा अन्य संस्थागत जीवनमा स्वभाविक रूपमा कुनै बाह्य अनि कुनै आन्तरिक कामहरू हुने गर्दछन् । जसमध्ये बाह्य कामको मूल्याङ्कन आम कार्यकर्ताले सहज ढङ्गले गर्ने रहेछन् भन्ने देखियो । तर आन्तरिक काम गर्ने मान्छेको मूल्याङ्कन ठिक ढंगले हुँदो रहेनछ ।

उक्त महाधिवेशनमा श्रमिक क्षेत्रका नेता ट्रेड युनियन आन्दोलनका अग्रज कमरेड विष्णु रिमाल पराजित हुनुभयो । विष्णु रिमाल जिफन्ट नेपालका पूर्व अध्यक्ष तथा नेकपा (एमाले)का निवर्तमान उपमहासचिव हुनुहुन्छ । जसले ट्रेड युनियन महासंघको जीवनलाई संस्थागत रुपमा आर्थिक रुपले मजबुत बनाउनुभयो साथै आधुनिक प्रविधिसँग जोड्दै उसको जीवनलाई पेपरलेस बनाउनुभो । श्रमिकहरूको श्रमलाई रोजगार र उत्पादनसँग जोड्न भरमजदुर प्रयत्न गर्नुभयो । नेपाली श्रमिकहरूको निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कोषको थालनीको नेतृत्व गर्नुभयो ।

नेकपा (एमाले) को आधुनिक कार्यालय व्यवस्थापन र आर्थिक विभागको प्रमुख भई आर्थिक रुपमा एमालेलाई मजबुत बनाउने तथा मितव्ययी र आर्थिक पारदर्शिताको पाटोमा एमालेलाई नेपालको माटोमा परिचित गराउन महत्वपूर्ण भूमिका खेल्नुभयो । नेकपा (एमाले) का राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा उच्च व्यवस्थापन झल्कने उदाहरणीय नेतृत्व गर्नुभयो । यस्तो एउटा बहुआयमिक योजनाकार र कार्यान्वयनमाको मुख्य हिस्साको रूपमा रहनुभएको नेतृत्वलाई हामीले चिन्न सकेनौँ ।

स्वभाविक रूपमा हरेक मानिसका आ–आफ्ना स्वभाव हुने गर्दछन् । भनिन्छ ‘दूध दिने गाईको लात्ती सहनु पर्दछ’ जुन एउटा सर्वमान्य मान्यता पनि हो । यस विषयमा मैले लामो समयको सांगठनिक जीवनमा प्राप्त गरेको अनुभवबाट सिद्ध हुन्छ कि सांगठनिक जीवनको आन्तरिक कामको महत्वपूर्ण व्यवस्थापन गर्ने नेतृत्व वा पार्टीको न्यूक्लियसको हामीले सही समयमा ठीक ढंगले मूल्याङ्कन गर्न अझै पनि चुकिरहेका रहेछौं ।

यस्तै कमजोर सोचका कारण विद्यमान विभिन्न पार्टी तथा संगठनहरूलाई व्यवस्थित ढंगले सही गन्तव्यतर्फ अगाडि बढ्न असहजता भएको रहेछ । तसर्थ गत वि.सं. २०८२ साल मंसिर २७ गतेदेखि पौष ३ गतेसम्म सञ्चालन भएको नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा उपस्थित २२६३ जना प्रतिनिधि मध्ये २२२७ प्रतिनिधिले मतदान गरी कमरेड विष्णु रिमाल जस्ता सक्षम र योग्य नेतृत्वलाई जिताउन नसक्नु नेताकार्यकर्ताको ठूलो कमजोरी हो भन्ने मेरो ठहर छ । यो मेरो विचार धेरै कमरेडहरुलाई मन पर्न पनि सक्छ, मन नपर्न पनि सक्छ यद्यपि मैले तथ्यपरक र वास्तविक धरातलमाथि उभिएर यो विचार प्रस्तुत गरेको छु ।
सबैको जय होस् !

शेयर गर्नुहोस :

27
Shares