सुमनसिंह
नेपाली कम्युनिष्ट आन्दोलन आज इतिहासकै सबैभन्दा संवेदनशील मोडमा उभिएको छ । यो संकट केवल संगठनात्मक कमजोरी वा चुनावी पराजयको विषय होइन । यो आन्दोलनको अस्तित्व, यसको वैचारिक निरन्तरता र राष्ट्रकै स्वाधीन भविष्यसँग गाँसिएको प्रश्न हो । बाह्य साम्राज्यवादी हस्तक्षेप तीव्र बन्दै गएको छ । आन्तरिक रूपमा आन्दोलन कमजोर हुँदै गएको छ र विश्व भू – राजनीति तीव्र गतिमा तरल अवस्थामा प्रवेश गरिरहेको छ । यस्तो अवस्थामा कम्युनिष्टहरूले गम्भीर नबने इतिहासले क्षमा गर्ने छैन ।
आजको यथार्थ के हो भने – नेपालमा कम्युनिष्ट आन्दोलन चारैतिरबाट दबाबमा छ । संसदमा रहेका कम्युनिष्टहरू संसदीय गणितमा सीमित हुँदै गएका छन्, सडक संघर्षमा रहेका कम्युनिष्टहरू एक्लिएका छन् र सशस्त्र वा क्रान्तिकारी धाराहरू राज्य र अन्तर्राष्ट्रिय शक्तिको निशानामा परिरहेका छन् । यी सबै धाराहरू आ – आफ्नो ठाउँमा संघर्षरत भए पनि साझा रणनीतिक मोर्चाको अभावमा समग्र कम्युनिस्ट आन्दोलन कमजोर बनेको छ ।

यसैले आजको पहिलो र अपरिहार्य आवश्यकता हो – रणनीतिक कम्युनिष्ट संयुक्त मोर्चा ।
यो मोर्चा कुनै एक धाराको प्रभुत्वका लागि होइन न कुनै दलको वर्चस्वका लागि । यो मोर्चा कम्युनिष्ट झण्डा, कम्युनिष्ट लक्ष्य र आन्दोलनको ऐतिहासिक उपलब्धिको रक्षा गर्नका लागि हो । संसदको प्रयोग गर्ने कम्युनिष्ट हुन् वा सडक संघर्षमा रहेका, शान्तिपूर्ण राजनीतिक अभ्यासमा छन् वा कठोर संघर्षका धारामा – जुनसुकै मोर्चामा रहेका कम्युनिष्ट भए पनि, आज रणनीतिक एकताको समय आएको छ ।
आज चुनाव, सडक संघर्ष, मजदुर आन्दोलन, किसान आन्दोलन, राष्ट्रिय स्वाधीनता, भू – राजनीतिक हस्तक्षेप – यी सबै विषयमा एकमतले निर्णय गर्न सक्ने बृहत् मोर्चा बिना कम्युनिष्ट आन्दोलन सुरक्षित रहन सक्दैन । साम्राज्यवादी शक्तिहरू विभाजनमा खेल्छन्, एकताको डर उनीहरूलाई सबैभन्दा बढी लाग्छ । यही कारण कम्युनिस्टहरूबीच अविश्वास, द्वन्द्व र गुटबन्दी बढाइँदै आएको छ ।
नेपालमा एमसिसी र त्यससँग गाँसिएको इन्डो – प्यासेफिक अमेरिकी सैन्य रणनीति यही योजनाको हिस्सा हो । यो परियोजना केवल पूर्वाधार वा विकास सहयोग होइन । यो स्पष्ट रूपमा भू – राजनीतिक हस्तक्षेपको औजार हो । इन्डो – प्यासेफिक रणनीतिको घोषित उद्देश्य ‘क्षेत्रीय स्थिरता’ भनिए पनि यसको वास्तविक लक्ष्य चीन घेराबन्दी, एशियामा अमेरिकी सैन्य प्रभुत्व र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको निषेध हो ।
इतिहासले देखाएको छ – जहाँ जहाँ अमेरिकी साम्राज्यवाद प्रवेश गर्छ, त्यहाँ कम्युनिष्ट आन्दोलन या त रक्तपातपूर्ण दमनमा पर्छ, या त वैचारिक रूपमा विकृत गरिन्छ । नेपालमा पनि यही प्रक्रिया सुरु भइसकेको छ । एमसिसी स्वीकृत गराउनेदेखि लिएर त्यसविरुद्ध उभिने कम्युनिष्टहरूलाई अपराधीकरण गर्ने, बदनाम गर्ने र अलग्याउने काम योजनाबद्ध रूपमा भएको छ ।
यससँगै अमेरिकी साम्राज्यवादले आफूअनुकूल कठपुतली सत्ता निर्माण गर्ने प्रयास तीव्र बनाएको छ । संसद, सरकार, न्यायालय, मिडिया र एनजिओमार्फत राज्य संयन्त्रमा प्रभाव जमाइएको छ । ‘नयाँ’ भनेर प्रस्तुत गरिएका शक्तिहरूलाई कम्युनिष्ट विरोधी अभियानमा प्रयोग गरिएको छ । यी शक्तिहरू परिवर्तनको नारा दिन्छन्, तर साम्राज्यवादी संरचनासँग सम्झौता गर्न कहिल्यै हिच्किचाउँदैनन् । उनीहरूको मुख्य निशाना कम्युनिस्ट विचार, इतिहास र क्रान्तिकारी संघर्ष नै बनेको छ ।
यस्तो गम्भीर परिस्थितिमा कम्युनिस्ट आन्दोलनले केवल प्रतिक्रियात्मक राजनीति गरेर पुग्दैन । विचारधारात्मक अनुसन्धानको क्षेत्रमा व्यापक र गहिरो काम गर्नैपर्छ । आजको युग माक्र्स, लेनिन वा माओको युगको यान्त्रिक पुनरावृत्ति होइन । आजको समय डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, नयाँ औद्योगिक संरचना, वित्तीय पूँजीको प्रभुत्व र उत्पादन सम्बन्धको नयाँ स्वरूपले चिनिन्छ ।
आजको कम्युनिष्ट आन्दोलनले भौतिक विज्ञानका नवीन आयाम, प्रविधिको राजनीतिक अर्थशास्त्र, औद्योगिक चरित्रको रूपान्तरण, श्रम – पूँजी सम्बन्धको नयाँ स्वरूप र सामाजिक चेतनाको परिवर्तनलाई वैज्ञानिक ढंगले अध्ययन गर्नैपर्छ । आज जन्मिएका नयाँ सामाजिक विशेषताहरू – मध्यम वर्गको चरित्र, बेरोजगार युवाको मनोविज्ञान, आप्रवासन, डिजिटल संस्कृति – यी सबैलाई नबुझी समाजवादी कार्यक्रम सम्भव छैन ।
विशेषतः नेपालजस्तो देशका लागि बफर जोन स्टेट को यथार्थ गम्भीर विषय हो । नेपाल दुई ठूला शक्ति केन्द्रबीच रहेको देश हो । यसको अर्थ नेपालले भावनामा होइन, वैज्ञानिक अध्ययनमा आधारित नीति अपनाउनुपर्छ । कुनै एक शक्ति केन्द्रको कठपुतली बन्नु भनेको राष्ट्रिय आत्मसमर्पण हो । त्यसैले बफर स्टेटको हैसियतमा नेपालले कस्तो परराष्ट्र नीति, कस्तो आर्थिक नीति र कस्तो सुरक्षा दृष्टिकोण अपनाउने भन्ने विषयमा स्पष्ट वैचारिक र रणनीतिक अध्ययन आवश्यक छ ।
आजको विश्व भू – राजनीति स्थिर छैन, यो तरल छ । शक्ति सन्तुलन फेरिँदैछ, नयाँ ध्रुवहरू उदाउँदैछन् । यस्तो अवस्थामा नेपालको हित कसरी सुरक्षित गर्ने ? कुन अन्तरविरोधलाई कसरी प्रयोग गर्ने ? कुन शक्तिसँग कस्तो दूरी र कस्तो सम्बन्ध राख्ने ? यी सबै प्रश्नको उत्तर न भावनाबाट आउँछ, न त सत्तामोहबाट । यसको उत्तर वैज्ञानिक कम्युनिष्ट विश्लेषणबाट मात्र सम्भव छ ।
यसैले रणनीतिक संयुक्त मोर्चा केवल संगठनात्मक संरचना होइन, यो वैचारिक पुनर्जागरणको प्लेटफर्म हुनुपर्छ । जहाँ खुला बहस हुन्छ, गहिरो अध्ययन हुन्छ र निष्कर्ष सामूहिक रूपमा तय गरिन्छ । फरक धाराहरूबीच विचारधारात्मक प्रतिस्पर्धा हुन सक्छ, तर त्यो प्रतिस्पर्धा आन्दोलन कमजोर बनाउने होइन, समृद्ध बनाउने खालको हुनुपर्छ ।
इतिहासले हामीलाई चेतावनी दिइसकेको छ । पश्चिम बंगालको पतन केवल चुनावी हार होइन, त्यो वैचारिक विचलन र जनतासँगको सम्बन्ध विच्छेदको परिणाम थियो । नेपालमा त्यो बाटो दोहोर्याउने छुट छैन । यहाँ कम्युनिष्ट आन्दोलन जनताको रगत र बलिदानबाट बनेको छ । यसलाई गुट, अहंकार र अवसरवादका कारण गुमाउन पाइँदैन ।
आज प्रश्न स्पष्ट छ – के कम्युनिष्टहरू आफ्नो इतिहासप्रति इमानदार छन् ? यदि छन् भने, अब ढिला नगरी रणनीतिक संयुक्त मोर्चा निर्माण गर्नैपर्छ । चुनाव होस् वा सडक संघर्ष, भू – राजनीतिक प्रश्न होस् वा राष्ट्रिय स्वाधीनताको मुद्दा – सबै विषयमा साझा दृष्टिकोण र साझा संघर्षको आवश्यकता छ ।
यो समय व्यक्तिगत महत्वाकांक्षा त्याग्ने समय हो । यो समय कम्युनिष्ट झण्डा जोगाउने समय हो । यदि आज एकता भएन भने, भोलि पश्चाताप बाहेक केही बाँकी रहनेछैन । इतिहासले अवसर दिएको छ – अब कम्युनिष्टहरूले निर्णय गर्नुपर्छ, पतन कि पुनर्जागरण ।







प्रतिक्रिया