सम्पादकीय
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु लोकतन्त्रका लागि सकारात्मक संकेत हो । प्रतिकुलताका बीच निर्वाचन सम्पन्न भएसँगै देशभर विजयी हुनेहरूमा उत्साह र उमङ्ग देखिएको छ भने पराजित हुनेहरूमा निराशा र पीडाको अभिव्यक्ति पनि देखिएको छ । यो दुवै स्वाभाविक हो । लोकतान्त्रिक अभ्यासमा यी दुवै अवस्था सामान्य मानिन्छन् । निर्वाचन प्रक्रियामा सहभागी भएपछि प्राप्त हुने जुनसुकै परिणामलाई सभ्य र सौहार्दपूर्ण रूपमा स्वीकार गर्नु लोकतान्त्रिक संस्कारको महत्वपूर्ण पक्ष हो । निर्वाचनमा विजय हासिल गर्नेहरूका लागि यो खुसीको क्षण अवश्य हो ।
विजयसँगै उनीहरूको जिम्मेवारी पनि त्यत्तिकै बढेको हुन्छ । जनताले दिएको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्नु नै उनीहरूको मुख्य दायित्व हो । चुनावी अभियानका क्रममा जनतासमक्ष व्यक्त गरिएका प्रतिबद्धता र योजनालाई कार्यान्वयन गर्नेतर्फ विजयी प्रतिनिधिहरू गम्भीर रूपमा लाग्नुपर्छ । काम गर्ने कुरा सजिलो छैन भन्ने यथार्थलाई पनि उनीहरूले बुझ्नुपर्छ । त्यसैगरी, निर्वाचनमा जित हासिल गर्नु सधैंका लागि होइन भन्ने तथ्यलाई पनि स्मरण गर्न आवश्यक छ । लोकतन्त्रमा जनमत समयअनुसार परिवर्तन हुन सक्छ । त्यसैले अहंकार र उन्मादभन्दा पनि संयमता, जिम्मेवारी र समावेशी व्यवहार आवश्यक हुन्छ ।
विजयी पक्षले पराजित पक्षलाई पनि सम्मानपूर्वक समेट्दै अघि बढ्न सके मात्र स्वस्थ राजनीतिक संस्कारको विकास हुन सक्छ । समाजलाई विभाजनतर्फ होइन, एकताको दिशामा लैजानु विजयीहरूको प्रमुख दायित्व हो । अर्कोतर्फ, पराजित उम्मेदवार र दलहरूले पनि परिणामलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ । हारलाई अन्तिम सत्य ठानेर निराश हुने होइन, आगामी दिनमा अझ राम्रो तयारी गर्ने अवसरका रूपमा लिनुपर्छ । जनताको विश्वास जित्न थप मेहनत, सुधार र आत्ममूल्यांकन आवश्यक हुन्छ । निर्वाचन लोकतन्त्रको निरन्तर प्रक्रिया हो । आजको परिणाम अन्तिम होइन, भविष्यमा फेरि नयाँ अवसरहरू आउनेछन् । त्यसैले सबै राजनीतिक दल र उम्मेदवारले प्रतिस्पर्धालाई स्वस्थ रूपमा स्वीकार गर्दै देश र जनताको हितमा काम गर्ने बाटो रोज्नु नै सबैभन्दा बुद्धिमानी हुनेछ ।







प्रतिक्रिया