Banner news

बालेनले उकासेको रास्वपा

बालेनले उकासेको रास्वपा


प्रदीप परियार

जेनजी आन्दोलनले निम्त्याएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो । निर्वाचन होला कि नहोला भन्ने संशयका बीच परिणाम नै सार्वजनिक भइसक्ने चरणमा पुगेको छ । हालसम्मको परिणामले रास्वपालाई दुई तिहाई बहुमत नजिक पुराएको छ । पुराना भनिएका राजनीतिक दलहरु अकल्पनीय परिणाम स्वीकार गर्ने तहमा पुगेका छन् । यो निर्वाचनले रास्वपालाई अनपेक्षित परिणाम दिएको छ । पुराना दलहरु नेपाली कांग्रेस, एमाले र नेकपाले कल्पना नै नगरेको परिणाम पाएका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा भएपछि त्यसको पाँच वर्षमा अर्को निर्वाचन हुने हो । अर्थात, सबै दलहरु ०८४ को मिसनमा थिए । तर, जेनजी आन्दोलनले मिसन ०८४ लाई २ वर्षअघि सारिदियो । आन्दोलनले नयाँ जनादेश खोज्यो । यो जेनजी आन्दोलनपछि पुराना दलहरुलाई निर्वाचनको अनुकुल वातावरण बन्न सकेको थिएन । फागुन २१ को निर्वाचन खासगरी एमालेका लागि असाध्यै प्रतिकुल थियो । अन्य दलहरुलाई पनि सहज थिएन । जति अनुकुलता रास्वपालाई थियो ।

सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचनको मिति घोषणा गरेपछि दलहरुलाई बाध्य बनायो । जनादेशका लागि लोकतान्त्रिक प्रक्रिया स्वीकार गर्नुको विकल्प थिएन । लोकतान्त्रिक प्रक्रियामा सहभागी बन्न एमाले, कांग्रेस र नकेपाका लागि समय प्रतिकुल नै थियो । जसको परिणाम अहिलेको निर्वाचनले स्पष्ट देखाएको छ । प्रतिकुलताका बीच दलहरु निर्वाचनमा सहभागी हुनुलाई राजनीतिक परिपक्वताको संज्ञा दिन सकिन्छ ।

रास्वपाले पहिलो पटक निर्वाचनमा सहभागी हुँदा पनि सन्तोषजनक सिट प्राप्त गरेको थियो । रास्वपा र नेतृत्वले पछिल्लो समय भोगेका कतिपय घटनाहरुले उनीहरु पनि अप्ठ्यारो परिस्थितिमा नै थिए । जब जेनजी आन्दोलन भयो, त्यसपछि पुराना दलहरुमाथि जनताले पोखेको आक्रोस रास्वपाको लागि अवसर नै बन्न पुग्यो । रास्वपा कुनै योगदान गरेर वा कुनै आन्दोलनबाट स्थापित भएको दल होइन । रास्वपा पुराना दलहरुप्रति जनताको आक्रोसलाई टेकेर ढिलासुस्ती, भ्रष्टाचार र अनियमितता जस्ता मुद्दा उठाउदै उदाएको दलका रुपमा स्थापित भयो । पुराना दलहरुले त्यहि मुद्दा उठाइरहे पनि जनताले नयाँ दललाई बढि विश्वास गरिदिए ।

जनताको तहबाट उठिरहेका मुद्दालाई समातेर अघि बढिरहेको रास्वपालाई बालेन्द्र शाह ‘बालेन’ को साथ मिल्यो । ¥यापर बालेनको पुरानो क्रेज, काठमाडौंको मेयर बनेपछिको राष्ट्रिय छवि र रास्वपा प्रवेश नै निर्वाचनको लागि सबैभन्दा सकारात्मक पक्ष बन्यो । विदेशी शक्तिको खेल भन्ने चर्चालाई जनताले खासै रुचाएको पाइएन । त्यसको यथार्थ भविष्यले स्पष्ट बनाउने नै छ । रास्वपाको अप्ठ्यारो समयलाई बालेनले राहत प्रदान गरे । जसका कारण आज रास्वपा सबैभन्दा ठुलो दल बन्दैछ ।

रास्वपाले यो परिणाम अपेक्षा गरेको थिएन । देशभर अन्य दलको तुलनामा ठुलो बन्न सक्छ भन्ने बुझाई जनताको तहमा समेत थियो । तर, पुराना दलहरु सानो संख्यामा सिमित हुन सक्छन् भन्ने कल्पना सायदै कसैले गरेको थिएन । यसको धेरै श्रेय बालेनलाई नै जान्छ । बालेनप्रति जनताले देखाएको आशा, भरोसा सामान्य छैन । देश दौडाहामा उनले पाएको समर्थन नै ब्यालेटमा परिणत भयो ।

झापा बिर्तामोड नगरपालिका वडा नं. १ मा रास्वपाले १५ सय मतको अपेक्षा गरेको थियो । अपेक्षा गर्ने भनेको प्राप्त गर्न सक्ने भन्दा ठुलो संख्या हो । तर, सो वडामा रास्वपाले २५ सय ४५ मत प्राप्त गर्न सफल भयो । यस कारण पनि रास्वपाका लागि यो परिणाम अनपेक्षित नै हो भन्न सकिन्छ ।

जेनजी आन्दोलपछि नयाँ पुस्ताले पुराना दलहरुलाई हेर्ने दृष्टिकोण असाध्यै नकारात्मक बन्यो । अझ, एमालेमाथि सबै दोष लगाइयो । पुराना दलहरुको योगदानप्रति खासै चासो भएन । पुराना दलहरुले राष्ट्रका निमित्त गरेका कामहरु भन्दा खराव कामहरुको धेरै प्रचार भयो । एउटा उदाहरणका रुपमा पुराना दलहरुले संविधान जारी गरे भन्दा नयाँ पुस्तामा प्रश्न जन्मियो – संविधान बनेर जनतालाई के फाइदा ? यो तहको बुझाई पनि यहि समाजमा छ । हो, पुराना दलहरुले गरेको बाचा पुरा गर्न सकेनन् । जनतासामु असाध्यै धेरै प्रतिवद्धा गरेर चुनावमा आउने, धेरै जसो पुरा नगर्ने प्रवृत्ति थियो । जसका कारण बाचा पुरा गर्न पुराना दलहरु पूर्ण रुपमा सफल भएनन् ।

अर्कातिर, सकारात्मक भन्दा नकारात्मक धारणाले समाजलाई एकोहोरो नै बनायो । १० वर्षे जनयुद्ध अघि र पछि दलितहरुमाथि गरिने विभेदमा परिवर्तन भएको छ । हरेक वडा तहमा दलित प्रतिनिधित्व बढ्दै गयो । शिक्षामा पहुँच बढ्दै गयो । यस्ता पक्षहरुलाई केलाउने काम कमै भएको छ । गरिव दलितहरुले आवास पाउन सकेनन् भन्ने मुद्दा मात्रै धेरै फैल्याइयो । यसले सकारात्मकभन्दा धेरै नकारात्मक धारणा निर्माणमा सहयोग पुग्यो ।

यो निर्वाचनमा यस्तैयस्तै धारणा र नेतृत्व तहबाट भएका कतिपय कमजोरीहरु नै पराजयको परिणाम बन्यो । अर्को तर्फ, समाजमा भाष्य निर्माण गर्ने धेरै कामहरु भए । ‘देशमा केहि भएन । देश खत्तम भयो । नेताले देश बर्बाद पारे । सबै नेता भ्रष्ट । सबै कर्मचारी भ्रष्ट । नेताले देशै खाए ।’ यस प्रकारका भाष्यले मुलुक नयाँ मोडमा पुगेको हो । हो, जनताको अपेक्षा पुरा हुन सकेको छैन । तर, केहि पनि भएन भन्ने भाष्य गलत छ । देशमा परिवर्तन भइरहेको छ । विकास निर्माणका कामहरु भइरहेका छन् । जति जनताको तहमा अपेक्षा गरिएको हो, त्यो पुरा नभएको सत्य हो । त्यो भोली पनि पुरा हुन्छ भन्ने दावी कसैले गर्न सक्दैन । अबको पाँच वर्षपछि जनताको सबै अपेक्षा पुरा हुन्छ भन्नेमा म विश्वस्त छैन । राष्ट्र निर्माणको काम सधैं चलिरहने विषय हो । अबको १० वर्षपछि जनताका अपेक्षाहरु थप बढेर जानेनै छन् ।

यहाँ एक जना राष्ट्रवादी नेताको चर्चा गरौं । एमालेका अध्यक्ष केपी शर्मा ओली ४ पटक प्रधानमन्त्री बने । समयको जोडघटाउ गर्ने हो भने एक कार्यकाल लभगभ भयो । चार पटक प्रधानमन्त्री हुँदा ओलीको कार्यकालमा भूकम्प, नाकाबन्दी, निर्मला हत्या काण्ड, जेनजी आन्दोलन भयो । तर, जनताको तहबाट एकमुष्ट ३५ वर्ष के गरे ? भन्ने प्रश्न बलियोसँग उठ्ने गरेको छ । आजकै मितिमा हिसाव गर्ने हो भने ओली ३५ वर्षअघि ०४७ सालतिर जेलबाट बाहिर निस्केका थिए । १४ वर्षको जेलजीवनबाट बाहिर आउन साथ देशको नेतृत्वमा आएका होइनन् । उनी पार्टी निर्माण गर्दैगर्दै यहाँसम्म आएका हुन् । पहिलो पटक ०७२ मा प्रधानमन्त्री बने । त्यसपछि पटक–पटक गरेर चार पटक प्रधानमन्त्री बने । जम्माजम्मी एक कार्यकाल । स्थिर सरकार नहुँदा ओलीले सत्तामा जाने, आउने क्रम चलिरह्यो ।

अहिलेको निर्वाचन परिणामलाई लिएर ओलीमाथि घेराबन्दी सुरु भइसकेको छ । तत्कालै ओलीले नेतृत्व छोड्नुपर्ने आवाजहरु उठ्न थालेका छन् । त्यो आवाज धेरैजसो महाधिवेशनमा अध्यक्ष बदल्नुपर्छ भन्नेहरुबाट आइरहेको छ । महाधिवेशनमा ईश्वर पोखरेल पराजित भए । जेनजी आन्दोलनपछि महाधिवेशन गरेको एमालेले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरेको हो । महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन परिणामको मुख्य कारक मान्न सकिन्छ ? सकिदैन ।

किनभने, यो परिणामको दोष ओलीको काँधमा खन्याएर उम्किने छुट कसैलाई छैन । किनभने, एमालेले मात्र प्रतिकुलता व्यहोरेको होइन । यो आधारमा संगठनको पुर्नसंरचना संभव छ । यसको मतलव हिजो ओलीलाई हटाएर तत्काल अध्यक्षको कुर्सीमा बस्न तम्सिनेहरुबाट पनि अबको नेतृत्व संभव छैन । किनभने, नयाँ पुस्तामा नेतृत्वको बहस हुनुपर्छ । यदि, पुर्नसंरचना गर्ने नै हो भने ।

अन्त्यमा, फागुन २१ को जनादेशलाई स्वीकार गरेर सबै राजनीतिक दलहरु अघि बढ्नुको विकल्प छैन । अनपेक्षित परिणाम प्राप्त गर्ने रास्वपा र अकल्पनीय परिणाम प्राप्त गर्ने दलहरु आगामी यात्राका लागि तयार हुनुपर्छ । पुराना दलहरुमाथि जनताको आक्रोस छ । फेरि सच्चिएर जनसेवामा फर्किने वातावरण, त्यो अनुकलता तयार गर्ने दायित्व पनि आफ्नै हो । परिवर्तन नेतृत्वमा पनि जनताले चाहेका छन् । त्यस तर्फ सोचेर जानुपर्छ । जनादेश सधैंका लागि होइन, स्थायी पनि होइन । राम्रो काम गरे पनि पुनःअनुमोदित हुनैपर्छ । त्यसैले अनुमोदनको समयसम्म सबैले सच्चिएर, विश्वास जितेर आउनुपर्छ ।

शेयर गर्नुहोस :

1.1k
Shares