फादर जगत बहादुर वाग्ले
ख्रीष्टियन सेवकाईको इतिहासमा प्रेरितहरूको जीवन भनेको अधिकारको प्रयोगको कथा होइन, तर त्याग, नम्रता र पूर्ण समर्पणको महान उदाहरण हो । प्रेरित पावलले आफ्नो सेवकाईबारे प्रश्न गर्दै भन्छन् – “के म स्वतन्त्र छैन ? के म प्रेरित होइन ? के मैले येशू, हाम्रा प्रभुलाई देखेको छैन ?” यी प्रश्नहरू केवल आफ्नो पहिचान प्रमाणित गर्नका लागि होइनन्, तर सुसमाचारको सेवामा बोलाइएका सेवकको आत्मिक जिम्मेवारी सम्झाउनका लागि हुन् । पावलले स्पष्ट रूपमा बताउँछन् कि प्रभुमा विश्वास गर्ने समुदाय नै उनको सेवकाईको जीवित साक्षी र छाप हो ।
प्रेरितले यो पनि स्पष्ट पार्छन् कि परमेश्वरको काम गर्ने सेवकलाई जीवन निर्वाह गर्ने अधिकार हुन्छ । सेवकले खाने–पिउने अधिकार राख्छ, परिवारसहित जीवन जिउने अधिकार राख्छ र आफ्नो सेवाबाट जीविका चलाउने अधिकार पनि राख्छ । प्रेरित पावलले यसलाई साधारण उदाहरणहरूबाट बुझाउँछन् – सिपाही आफ्नै खर्चमा युद्ध लड्दैन, दाखबारी लगाउनेले त्यसको फल खान्छ र गोठालाले आफ्ना गाई वस्तु र भेडाबाख्राको दूध पिउँछ । यी उदाहरणहरूले एउटा गहिरो सत्यलाई उजागर गर्छ – जहाँ श्रम छ, त्यहाँ त्यसको उचित फल पनि हुन्छ ।

यो सिद्धान्त भनेको मानव दृष्टिकोण मात्र होइन, परमेश्वरको व्यवस्थामा पनि स्थापित छ । मोशाको व्यवस्थामा लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ ।” यो आज्ञा भनेको गोरुको बारेमा मात्र होइन, श्रम गर्नेको सम्मानको बारेमा हो । परमेश्वरले देखाउन चाहनु भएको कुरा के हो भने, जसले मेहनत गर्छ उसले आफ्नो श्रमको फल पाउनु न्यायोचित हो ।
त्यसैले आत्मिक सेवामा बीउ रोप्ने सेवकले पनि केही फलको आशा राख्नु स्वाभाविक कुरा हो । तर प्रेरित पावलको महानता भनेको अधिकारको व्याख्यामा सीमित छैन । उनले अझ गहिरो आत्मिक सिद्धान्त प्रकट गर्छन्, अधिकार भए पनि त्यसलाई प्रयोग नगर्न सक्ने सामथ्र्य नै साँचो सेवकको महिमा हो । उनले स्वीकार गर्छन् कि सुसमाचार सुनाउनेहरुले सुसमाचारबाट जीवन निर्वाह गर्न सक्छन् भन्ने प्रभुको आज्ञा छ । तर पनि उनले आफ्ना धेरै अधिकारहरू प्रयोग गरेनन्, किनकि उनको सबैभन्दा ठूलो चिन्ता एउटा मात्र थियो– ख्रीष्टको सुसमाचारमा कुनै बाधा नपरोस् ।
यही ठाउँमा साँचो सेवकको हृदय प्रकट हुन्छ । साँचो सेवकले अधिकार खोज्दैन, उसले अवसर खोज्छ –परमेश्वरको महिमा गर्ने अवसर । उसले सम्मानको अपेक्षा गर्दैन, बरु सुसमाचार फैलियोस् भन्ने चाहना राख्छ । यदि आफ्नो अधिकार त्याग्दा सुसमाचार अझ स्पष्ट रूपमा फैलिन्छ भने, साँचो सेवकले त्यसलाई खुशीसाथ त्याग्न तयार हुन्छ ।
प्रेरित पावलले आफ्नो जीवनद्वारा एउटा गहिरो सन्देश दिएकाछन्, सुसमाचारको सेवा भनेको पद, प्रतिष्ठा र अधिकार वा सम्मानको विषय होइन; यो बलिदानको मार्ग हो । यो मार्गमा हिँड्नेहरूले कहिलेकाहीँ आफ्ना अधिकारहरू त्याग्नुपर्छ, कठिनाइहरु सहनुपर्छ, र कहिलेकाहीँ मौन बलिदान पनि दिनुपर्छ, र यही बलिदानले सेवकलाई महान बनाउँछ ।
आजको समयको चर्चका लागि पनि यो शिक्षा अत्यन्त महत्वपूर्ण छ । जब सेवकहरूले अधिकारभन्दा पनि समर्पणलाई प्राथमिकता दिन्छन्, तब चर्च बलियो हुन्छ । जब सेवकले आफ्ना व्यक्तिगत स्वार्थभन्दा पनि सुसमाचारको हितलाई ठूलो ठान्छन्, अनि मात्र समुदायमा विश्वास र एकता बढ्छ ।
प्रेरित पावलले अन्तमा एउटा अत्यन्त गहिरो भाव व्यक्त गरेका छन्, उनको गर्व अधिकार प्रयोगमा होइन, तर सुसमाचारको सेवामा छ । उनका लागि सुसमाचार सुनाउँनु नै त्रिएक परमेश्वरले दिएको साँचो पवित्र बोलावट हो । त्यसैले उनले आफ्नो जीवन नै सुसमाचारको सेवामा अर्पण गरे ।
यो कुराबाट हामीले सिक्नुपर्ने सत्य के हो भने, साँचो सेवकको पहिचान उसको अधिकारमा होइन, उसको समर्पणमा हुन्छ । अधिकारले सेवकलाई ठूलो बनाउँदैन, तर नम्रता, बलिदान र ख्रीष्टप्रतिको अटल प्रेमले सेवकलाई महान बनाउँछ ।
जब परमेश्वरका सेवकहरू यसरी सुसमाचारलाई पहिलो स्थान दिन्छन्, तब उनीहरूको जीवन नै सुसमाचारको जीवित साक्षी बन्छ । र त्यही जीवनले संसारलाई सम्झाउँछ, ख्रीष्टको सेवा अधिकारको मार्ग होइन, समर्पणको महिमित मार्ग हो ।
यरुशलेम बिलिभर्स इस्टर्न चर्च
भद्रपुर, झापा







प्रतिक्रिया