रेभ. फा. जगत बहादुर वाग्ले
विश्वास, सहिष्णुता र प्रेमद्वारा समाजलाई एकताको दिशातर्फ डोर्याउने आह्वान
आजको समाज बाहिरी रूपमा विकास र आधुनिकताको यात्रामा तीव्र गतिमा अघि बढिरहेको छ । प्रविधि, शिक्षा र संरचनागत परिवर्तनहरूले जीवनलाई सहज बनाइरहेका छन् । तर, यस प्रगतिको बीचमा एउटा गम्भीर प्रश्न उभिएको छ । के हाम्रो मन, सम्बन्ध र समाज पनि उस्तै रूपमा शान्त र सन्तुलित छन् ?
यथार्थलाई हेर्ने हो भने, आज समाजभित्र अशान्ति, असहिष्णुता र विभाजन बढ्दै गएको छ । हरेक परिस्थिति र यस्तो समयमा पनि आपसी सम्मान, सह–अस्तित्व र सालीनता हाम्रो पहिचान हो, छ र रहन्छ, तर आज ती र यस्ता मूल्यहरू क्रमशः कमजोर बन्दै गएका छन् । विशेषगरी, आस्था र विश्वासमा आधारित जीवन जिउने समुदायहरू विभिन्न प्रकारका गलत बुझाइ, आरोप र आक्रमणहरूको सामना गरिरहेका छन् । यस्तो अवस्थामा केवल पीडित हुनु वा मौन बस्नु मात्र समाधान होइन । बुद्धिमानी र आत्मिक दृष्टिकोणले समाजलाई सुझाउँन आवश्यक छ ।

पवित्र बाइबलमा सन्त मतीले स्पष्ट रूपमा भनेका छन् । मत्ती ५ः९ “धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइने छन् ।”
यो वचनले हामीलाई एउटा गहिरो सत्य सम्झाउँछ, शान्ति भनेको चाहना गर्नु मात्र होइन, यो हाम्रो जिम्मेवारी हो । शान्ति स्थापना गर्नु भनेको कठिन परिस्थितिमा पनि प्रेम, धैर्यता र सत्यमा अडिग रहनु हो ।
आजको चुनौतीपूर्ण अवस्थामा हामीले आफैंलाई एउटा महत्वपूर्ण प्रश्न सोध्नुपर्छ, हामी समाजमा कस्तो प्रभाव छोड्दैछौं ? के हाम्रो बोली, व्यवहार र सोचले शान्ति निर्माण गरिरहेको छ, वा अनजानेमै विभाजन बढाइरहेको छ ?
शान्तिको खोजी गर्ने सालिन परिवार र परिवारका सम्पूर्ण सदस्यहरुको भूमिका अझ गहिरो हुन्छ । हामीलाई आफ्नै समुदायभित्र सीमित भएर बस्न बोलाइएको छैन, तर सम्पूर्ण समाजमा सकारात्मक परिवर्तन ल्याउने माध्यम बन्न आह्वान गरिएको छ । जब हामी अन्याय वा आक्रमणको सामना गर्छौं, हाम्रो प्रतिक्रिया प्रतिशोधमा आधारित हुनुहुँदैन । बरु, हाम्रो उत्तर प्रेम, क्षमा र प्रार्थनामा आधारित हुनुपर्छ । किनकि द्वेषले द्वेषलाई बढाउँछ, तर प्रेमले मात्र त्यसलाई जित्न सक्छ ।
इतिहासले प्रमाणित गरेको छ कि हिंसा र आक्रोशले कहिल्यै दीर्घकालीन शान्ति ल्याउन सकेको छैन । बरु, सहिष्णुता, संवाद र समझदारीले मात्र समाजलाई स्थिर र समृद्ध बनाएको छ । त्यसैले आज हाम्रो सम्पूर्ण समाजको आवश्यकता छ, हामीले शान्तिको सन्देश शब्दमा मात्र होइन, व्यवहारमा देखाउने प्रयत्न गर्नुपर्छ ।
हाम्रो जीवन नै यस्तो उदाहरण बनोस्, जसले अरूलाई प्रेरणा देओस् । जब मानिसहरूले हाम्रो धैर्यता, नम्रता र प्रेम देख्छन्, तब उनीहरू आफैं परिवर्तनतर्फ आकर्षित हुन्छन् । यही नै साँचो सुसमाचारको शक्ति हो, बोलेर होइन, जिएर देखाउने जीवन महत्पूर्ण हुन्छ ।
अन्ततः शान्ति बाहिरबाट खोजेर पाइने वस्तु होइन, यो हृदयभित्रबाट सुरु हुने प्रक्रिया हो । जब एकजना व्यक्तिको हृदयमा शान्ति बस्छ, त्यसले परिवारलाई प्रभाव पार्छ, परिवारले समाजलाई, र समाजले राष्ट्रलाई । यसरी सानो परिवर्तनले ठूलो रूप लिन सक्छ हामी सबै शान्तिको मार्गमा अघि बढौं ।
आजको आवश्यकता भनेको हामीले शान्तिको खोजी गर्ने मात्र होइन, शान्तिको स्रोत बन्ने संकल्प गर्नुपर्छ, परिस्थिति जस्तोसुकै किन नहोस्, हाम्रो पहिचान प्रेम, सत्य र शान्तिबाट सुरु हुनुपर्छ ।
आज हाम्रो सामु शान्ति चिच्याइरहेको छ, तर हामीले सुन्न चाहेका छैनौं । आज प्रेम दबाइँदै छ तर हामी बोल्न हिच्किचाइरहेका छौं । आज सत्यलाई आक्रमण गरिँदै छ तर हामी मौन छौं ।
समाज बाहिरबाट सभ्य देखिएता पनि भित्रभित्रै विभाजन, डर र द्वेषले जरो गाड्दै गाडिरहेको छ । सालीनता, सहिष्णुता र विश्वासलाई कमजोर बनाउने प्रयासहरू बढिरहेका छन् । विशेषगरी, आस्थामा आधारित जीवनशैली अपनाउनेहरू विभिन्न प्रकारका आक्रमण र गलत आरोपहरूको निशाना बनिरहेका छन् ।
मेरो प्रश्न यो हो, हामी यसको उत्तर कसरी दिने ? के हामी पनि त्यही द्वेषको भाषा बोल्ने ? के हामी पनि आक्रोशमै प्रतिक्रिया दिने ?
उत्तर, होइन, हाम्रो बाटो फरक छ । शान्तिको बारेमा सन्त पावलले यसरी लेखेका छन्, कलस्सी ३३ः१५ “ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस् । साँच्चै, तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियौं । तिमीहरू धन्यवादी होओ ।”
प्रियहरु हो, शान्ति कमजोरहरूको विकल्प होइन, यो बलियाहरूको निर्णय हो । क्षमा कायरताको चिन्ह होइन, यो आत्मिक परिपक्वताको प्रमाण हो ।
अहिलेको समयमा हामी दर्शक भएर बस्ने होइन, शान्तिका वाहक बन्ने हो, हाम्रो जीवन, हाम्रो बोली, हाम्रो व्यवहारले समाजलाई शान्तिको सन्देश दिनुपर्छ, हामी यहाँ द्वेष फैलाउनलाई होइन, शान्ति ल्याउनलाई आएका हौं ।” यदि हामी मौन रह्यौं भने, अशान्ति अझ बलियो हुनेछ । यदि हामी उभियौं भने, शान्ति बोल्न थाल्नेछ ।
हामी सबै मिलेर यस्तो समाज निर्माण गरौं, जहाँ फरक विचारहरू छन्, त्यहाँ सम्मान सहित चुनौतीहरूको सामना गर्दै धैर्यता साथ अघि बढौ, अशान्तिको बीचमा पनि शान्तिको उज्यालो कहिल्यै निभ्न नदियौं । अनन्तमा, शान्ति कसैले दिएर पाइँदैन, यो हामीले जिउँदै देखाउनुपर्ने सन्देश हो । त्यसैले, आउनुहोस् हामी शान्तिको पक्षमा उभिऔं, चाहे परिस्थिति जस्तोसुकै किन नहोस् ।
यरुशलेम बिलिभर्स इस्टर्न चर्च भद्रपुर
झापा, नेपाल







प्रतिक्रिया