सम्पादकीय
अहिले सक्रिय उमेर समूहमै क्षयरोगको संक्रमण बढी छ । यो रोग सर्ने जोखिम पनि धेरै छ । उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशतमा फोक्सोसम्बन्धी र २८ प्रतिशतमा फोक्सोबाहेक अरु अंगमा क्षयरोग देखिने गरेको तथ्याङक छ । ठूलो संख्यामा क्षयरोगी भए पनि तीमध्ये उल्लेख्य हिस्सा उपचारको दायरामा आउन सकेका छैनन् । यसको प्रमुख कारण गरिबी, सामाजिक विभेद, रोगप्रति रहेको कलंक र उपचारसँग जोडिएको आर्थिक भार हो । धेरै बिरामीहरू रोग लुकाउन बाध्य हुन्छन् । जसले संक्रमण झन् फैलिने जोखिम बढाउँछ । ४२ प्रतिशत क्षयरोगी उपचारको पहुँच बाहिर रहेका छन् । यो स्वास्थ्य क्षेत्रको कमजोरी मात्र होइन । हाम्रो सामाजिक संरचना, जनचेतना र पहुँच प्रणालीको गम्भीर समस्या हो ।
क्षयरोग आज पनि नेपालमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहिरहनु र हजारौँ बिरामी उपचार नपाउनु चिन्ताजनक विषय हो । सरकारले निःशुल्क परीक्षण र उपचार सेवा देशभर विस्तार गरेको भए पनि वास्तविक पहुँच अझै सीमित छ । ग्रामीण तथा विपन्न समुदायसम्म सेवा प्रभावकारी रूपमा नपुग्नु, स्वास्थ्य संस्थामा जनशक्तिको अभाव र समयमै पहिचान नहुनु जस्ता समस्या समाधान हुन बाँकी छन् । डिजिटल प्रविधिबाट बिरामी खोजी अभियान तीव्र बनाइएको दाबी गरिए पनि त्यसको प्रभाव सबै क्षेत्रमा समान रूपमा देखिएको छैन । क्षयरोग नियन्त्रणका लागि औषधी मात्र पर्याप्त हुँदैन । सामाजिक सचेतना अभिवृद्धि, कलंक अन्त्य र समुदायस्तरमै सक्रिय खोजी अभियान अत्यावश्यक छ । साथै, कुपोषण, धूम्रपान, मधुमेह र एचआइभी जस्ता जोखिम कारक नियन्त्रण गर्न बहुआयामिक रणनीति अपनाउनुपर्छ ।
सरकारले सन् २०३५ सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको सन्दर्भमा अब कार्यान्वयनमा कडाइ आवश्यक छ । प्रत्येक बिरामीलाई उपचारको दायरामा ल्याउनु राज्यको दायित्व हो । यसका लागि स्थानीय तहदेखि केन्द्रीय स्तरसम्म समन्वय, पर्याप्त लगानी र समुदायको सहभागिता अपरिहार्य छ । अब ढिलो गर्नुको विकल्प छैन । क्षयरोगलाई नियन्त्रणमा लिन र जीवन बचाउन उपचारको पहुँच सबैका लागि सुनिश्चित गर्नैपर्छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले उपचारको पहुँचमा ल्याउनका लागि कार्यक्रम तथा योजना बनाउनुपर्छ । अझै पनि क्षयरोगीहरु उपचारको पहुँच बाहिर भन्ने सन्देश आफैमा सकारात्मक छैन । यसैले समस्या देखाउने भन्दा पनि समाधान तर्फ सबैले साझा दायित्व निर्वाह गर्नुपर्छ ।







प्रतिक्रिया