शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा भूमि व्यवस्थापन शाखा सञ्चालनमा आएपछि जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ । शाखामार्फत जग्गा रजिस्ट्रेसन पास, कित्ताकाट, नक्सा प्रमाणितलगायतका कामहरू हुँदै आएका छन् ।
भूमि व्यवस्थापन शाखाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार शाखा सञ्चालन भएयता मालपोततर्फ ५१६ वटा जग्गा रजिस्ट्रेसन पास भएका छन् । त्यस्तै, नापीतर्फ कित्ताकाट तथा नक्सा प्रमाणितलगायतका १ हजार ३३ वटा काम सम्पन्न भएका छन् ।

यसैगरी, शाखाबाट संघीय तथा प्रदेश सरकारले प्राप्त गर्ने राजस्वबाहेक शिवसताक्षी नगरपालिकाको आन्तरिक राजस्वतर्फ ७३ लाख १२ हजार ९ सय ७६ रुपैयाँ ६० पैसा संकलन भएको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिनुभयो । भूमि व्यवस्थापन शाखाको सञ्चालनले नगरपालिकाको राजस्व संकलनमा समेत योगदान पुर्याएको देखिन्छ ।
नगरपालिकाले गत असार ३ गतेदेखि पूर्ण रूपमा भूमि प्रशासन (मालपोत) सेवा सञ्चालनमा ल्याएको हो । यसअघि जग्गा रजिस्ट्रेसन, नामसारी तथा अन्य मालपोतसम्बन्धी कामका लागि दमकस्थित मालपोत कार्यालय पुग्नुपर्ने बाध्यता थियो । स्थानीय तहमै सेवा सुरु भएपछि नगरवासीलाई समय र यातायात खर्च बचत हुनुका साथै सेवा लिन सहज भएको छ ।
स्थानीय तहबाटै मालपोत तथा नापीसम्बन्धी सेवा उपलब्ध गराउने सरकारी नीतिअनुसार शिवसताक्षीमा पनि यो सेवा विस्तार गरिएको हो । यसबाट जग्गासम्बन्धी प्रशासनिक कामलाई स्थानीय स्तरमै छिटो, सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
यता नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पनि प्रक्रिया अघि बढाइरहेको छ । यसक्रममा वडा नं। १ देखि ६ सम्मका १ हजार ८२३ वटा फाइल प्रमाणीकरण गरी जिल्ला भूमि समस्या समाधान समितिमा पठाइसकेको नगरपालिकाले जनाएको छ ।







प्रतिक्रिया