झापा । सशस्त्र प्रहरी बलले पूर्वी तथा मधेशका सीमावर्ती इलाकाबाट अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याइएका करिब २८ लाख २७ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका फूलहरू बरामद गरी नष्ट गरेको छ ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट गैरकानुनी बाटो हुँदै ल्याइएका सयपत्री, कमल र रजनिगन्धाका फूलहरू झापा र धनुषाका विभिन्न स्थानबाट बरामद गरिएको हो ।
झापाको भद्रपुर नगरपालिका वडा नं. ८ देबीबस्ती इलाकाबाट सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाको टोलीले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा भारतीय फूल बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायव निरीक्षक अमर बहादुर भुजेलको कमान्डमा खटिएको ९ जनाको मोबाइल गस्ती टोलीले २२ लाख ६८ हजार ४ सय रुपैयाँ बराबरको ११ हजार ३४२ थान भारतीय सयपत्रीको माला बरामद गरेको हो । यस्तै, २ लाख ९५ हजार रुपैयाँ बराबरको १२ झोला कमलको फूल पनि बरामद गरिएका छन् ।
बरामद गरिएको जम्मा २५ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको फूल जनप्रतिनिधिहरूको उपस्थितिमा सशस्त्र प्रहरीको गण परिसरभित्र खाल्डो खनी पुरे नष्ट गरिएको छ ।
यसैगरी धनुषा जिल्लाका दुई स्थानबाट पनि भारतबाट अवैध रूपमा ल्याइएका फूलहरू बरामद गरी नष्ट गरिएको छ । बिओपि देवडिहाबाट खटिएको गस्ती टोलीलाई देखेपछि भारतबाट दुईवटा मोटरसाइकलमा भन्सार छली ल्याउँदै गरिएको फूल छाडेर तस्करहरू मोटरसाइकलसहित फरार भएका थिए । त्यहाँबाट करिब ९१ हजार रुपैयाँ बराबरको १३० केजी सयपत्री र ३३ हजार रुपैयाँ बराबरको ३० केजी रजनिगन्धा गरी कुल १ लाख २४ हजार रुपैयाँको फूल बरामद गरिएको थियो । उक्त फूल स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र पत्रकारहरूको रोहवरमा बि.ओ.पि. परिसरमा नष्ट गरिएको छ ।
कात्तिक २२ गते बिहान बिओपि फुलगामाको टोलीलाई देखेपछि तस्करहरू टाउकोमा बोकेर ल्याउँदै गरेको अन्दाजी १ लाख ४० हजार रुपैयाँ बराबरको २०० केजी सयपत्री फूल सीमा क्षेत्रमा नै छाडेर फरार भएका थिए ।
उक्त फूल पनि स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, जटही भन्सार कार्यालयका प्रतिनिधि र स्थानीय बासिन्दाको रोहवरमा बिओपि परिसरभित्र खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाली किसानहरूले उत्पादन गरेका स्थानीय फूलको प्रवर्द्धन गर्न र अवैध आयात रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी कडा बनाएको छ ।







प्रतिक्रिया