काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । ६ जना घाइते छन् । उक्त माइक्रोबसमा चालकसहित २० जना सवार रहेका खुलेको सशस्त्र प्रहरीले जनाएको छ ।
बिहीबार (कात्तिक २६) बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी सडकबाट अन्दाजी ७०० मिटर तल खसेर दुर्घटना भएको थियो । भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु भएका १४ मध्ये ११ जनाको शव हेटौँडा अस्पतालमा लगिएको थियो । थप तीनजनाको शव दुर्घटनास्थलमा दिउँसो फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । पछि शव फेला परेका तीनजनाको पहिचान खुल्न बाँकी छ । अरूको पहिचान खुलेको छ ।
दुर्घटनामा परी सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका २५/२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपीकाकुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय रामदुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्रीदेवी यादव, २७ वर्षीया पुनम यादवको मृत्यु भएको छ ।
सर्लाहीकै कविलासी नगरपालिका–८ का ३० वर्षीय चालक रविशंकरकुमार मण्डलको पनि मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीनजना उपचारपछि हेटौँडा अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । तीनजनालाई थप उपचारका निम्ति चितवन ‘रिफर’ गरिएको छ ।
डिस्चार्ज हुनेमा चक्रघट्टा–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव छन् ।
चितवन रिफर गरिएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदीप यादव छन् । उनीहरूमध्ये देवेन्द्रको अवस्था गम्भीर छ । अरू दुईजनाको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।







प्रतिक्रिया