Banner news

अलपत्र कनकाई पूल निर्माणका लागि कवितामार्फत दवाब

अलपत्र कनकाई पूल निर्माणका लागि कवितामार्फत दवाब

रोहित काफ्ले


भद्रपुर । पूर्व–पश्चिम हुलाकी राजमार्गको झापा खण्डमा करिब डेढ दशकदेखि अलपत्र रहेको कनकाई पूलको निर्माण सम्पन्नताका लागि झापा, मोरङ र छिमेकी मुलुक भारतसमेतका सर्जकहरुले कवितामार्फत दवाब दिएका छन् ।

हुलाकी सडक संघर्ष समितिका संयोजक एवम् अभियानकर्मी पत्रकार रामरिझन यादवले अलपत्र कनकाई पूल परिसरमा संयोजन गरेको ‘हुलाकी बहुभाषिक कनकाई कवि तथा संवाद सम्मेलनमा चिरपरिचित साहित्यकारहरुले बुधबार आफ्नो रचनामार्फत राज्यलाई पूल निर्माणका लागि दवाब दिएका हुन् ।

हुलाकी सडक संघर्ष समिति झापा खण्डका संयोजक मनोज विष्टको अध्यक्षतामा आयोजित सम्मेलनमा हुलाकी सडककै विषयलाई प्राथमिकतामा राखेर मेची–महाकाली पैदलयात्रा सञ्चालन गरेका रास्वपाका नेता संघीय सांसद डा. अमरेशकुमार सिंहले हुलाकी राजमागृमा देखिएका अवरोधहरुका बारेमा संसद र सरकारलाई जानकारी गराउँदै अधुरो रहेका पूल र सडक यथाशीघ्र निर्माणका लागि आफूले दवाबमूलक सुझाव दिने बताए ।

भाषाविद् मोशन शरणजीले सञ्चालन गरेको सम्मेलनमा झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य शम्भुप्रसाद ढकालले कनकाई पूल अब अलपत्र नबन्ने बताउँदै सरकारले यसको लागि काम अघि बढिसकेको जानकारी दिए । उनले मुक्तकमार्फत कनकाईमा पूल नबन्दा स्थानीयले भोगिरहेको पीडालाई उजागर गरेका थिए ।

सम्मेलनमा विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, विराटनगरका शिवनारायण सिंगल, झापाका प्राज्ञ कवि हरि पौडेल, साहित्यकार केशव आचार्य, मारवाडी कवि सत्यनारायण तायल, प्रयाग न्यौपाने, कुशेश्वर राई, बाबुराम पोखरेल, शैलेन घिमिरे, उद्धव केसी, विरही अधिकारी, दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद भट्टराई, कृष्णप्रसाद मिश्र, अर्जुन नेपाल, हेमसागर पोखरेललगायतले गहकिला कविता–मुक्तकमार्फत कनकाई पूल निर्माणका लागि दवाब दिएका थिए ।

बहुभाषिक साहित्य संगीत कला केन्द्र झापाका निरज पोखरेल, अनिता पौडेल, शोभा विश्वकर्मा र सञ्जयले स्वागत गीतमार्फत सहभागीहरुलाई स्वागत गरेको सम्मेलनमा संयोजक यादवले शब्दद्वारा स्वागत गरेका थिए । सो अवसरमा भारत, विहार बहादुरगञ्जका विद्वान लेखक डा. पीपी सिन्हाले हिन्दी र सुर्जापुरी भाषामा लेखेका चारवटा किताब लोकार्पण गरिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu