भद्रपुर – आगामी मंसिरको दोस्रो साता आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कोशी प्रदेशस्तरीय खेलाडी छनोटका लागि पाँच विधाको खेल झापामा सञ्चालन हुँदैछ ।
यसअन्तर्गत कोशी प्रदेशस्तरीय महिला क्रिकेट टिम छनोटका लागि आजदेखि झापामा प्रतिस्पर्धा सुरु गरिएको छ ।
भद्रपुर–८ स्थित मेची क्याम्पस भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्रतियोगिताको उद्घाटन गरे ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेलको अध्यक्षतामा आयोजित संक्षिप्त समारोहका बीच छनोट प्रतियोगिता शुभारम्भ गरिएको हो ।

कोशी प्रदेश खेलकुद विकास सििमतिका सदस्य बालजीत राई, झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविण थापा, भद्रपुर क्रिकेट संघका अध्यक्ष तथा वडाध्यक्ष गौरब सुब्बा ‘मनोज’, भद्रपुर झापा गोल्डकप तथा झापा जिल्ला व्याडमिन्टन संघका अध्यक्षदिपेश ढकाल, विभिन्न विधाका प्रशिक्षकलगायतको उल्लेख्य उपस्थितिमा गरिएको उद्घाटन समारोहको सञ्चालन झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले गरेका थिए ।
झापा, इलाम, मोरङ र उदयपुर गरी चार जिल्लाको सहभागिता रहेको छनोट चरणको पहिलो खेल मोरङ र उदयपुर तथा दोस्रो खेल झापा र इलामबीच भएको थियो । खेल २०–२० फर्म्याटमा खेलाइएको थियो । खेलाडी छनोटको प्रक्रिया शनिबार पूरा हुने बताइएको छ ।
झापा क्रिकेट संघका अध्यक्ष थापाका अनुसार यो प्रतियोगिताबाट १८ जना खेलाडी छनोट गरिनेछ । छनोट भएका खेलाडीहरूले कर्णालीको सुर्खेतमा हुने राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।
यस्तै, भद्रपुर–९ स्थित पुहाँतु जन्ज्योति माविको खेल मैदानमा हक्की खेलको छनोट प्रतियोगिता हुने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कँडेलले जानकारी दिए ।
झापामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि सञ्चालन गरिने प्रतियोगिताअन्तर्गत क्रिकेट, हक्कीलगायत आर्चरी, जुडो र आईटीएफ तेक्वान्दोका खेल हुने कार्यालय प्रमुख नेम्बाङले जानकारी दिए ।







प्रतिक्रिया