धरान । मानवसेवा आश्रमको समन्वय तथा धरान उपमहानगरपालिकाको सहकार्यमा आगामी मंसिर महिनाभित्र धरानलाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त उपमहानगरपालिका’ घोषणा गरिने भएको छ। यसका लागि धरान क्षेत्रमा सडकआश्रित मानवहरूको उद्धार, संरक्षण, व्यवस्थापन तथा पारिवारिक पुनर्मिलन अभियानलाई तीव्रता दिइएको छ। स्थानीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायले समेत अभियानमा सहयोग र सहकार्य गरिरहेका छन्।
अभियानमा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख तथा उपप्रमुख अइन्द्रविक्रम लिम्बूले प्रतिबद्धता जनाउँदै आवश्यक सहयोग र सहकार्य गर्ने बताएका छन्।

गत असोज २७ गतेदेखि सञ्चालित उद्धार अभियानअन्तर्गत हालसम्म १ सय १४ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार र ४१ जनाको पारिवारिक पुनर्मिलन गराइएको मानवसेवा आश्रमकी सुनसरी जिल्ला संयोजक निर्मला दर्लामीले जानकारी दिएकी छन्।
घोषणाको तयारीलाई व्यवस्थित बनाउन आश्रमले उपमहानगरपालिकासँग विभिन्न चरणमा छलफल गरी कार्ययोजना अघि बढाएको छ। उद्धार गरिएका व्यक्तिहरूको अवस्था पहिचान तथा आवश्यक सेवा व्यवस्थापनका लागि स्क्रिनिङ सेन्टर निर्माण गर्ने तयारी पनि गरिएको छ।
उद्धारका क्रममा सडकमा पुग्नुका विभिन्न कारण पहिचान भएका छन्। कतिपय व्यक्ति मदिरा तथा लागुपदार्थको दुर्व्यसन, पारिवारिक सम्बन्धमा आएको विचलन र आर्थिक तथा सामाजिक समस्याका कारण सडकमा पुग्न बाध्य भएको पाइएको छ। भिक्षा माग्नुलाई पेसा बनाएका, बालबालिका प्रयोग गरी बजार क्षेत्रमा पैसा माग्न लगाउने तथा मन्दिर र पाटीपौवामा साधु तथा जोगीका रूपमा बस्दै आएका व्यक्तिहरू पनि भेटिएका छन्।
उद्धार गरिएकाहरूको उपचार तथा स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि आश्रमले धरान–१८ घोपा क्याम्पस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरिएकाे भएको छ।
लागुपदार्थ दुर्व्यसनका कारण सडकमा पुगेर आश्रमको संरक्षणमा रहेकाहरूको दीर्घकालीन व्यवस्थापनका लागि धरानमा सञ्चालित सुधार केन्द्रहरूसँग पनि छलफल गरिएको छ। उपमहानगरपालिकाको समन्वयमा भएको छलफलपछि सुधार केन्द्रहरूले आवश्यकताअनुसार निश्चित अवधिका लागि एक जना व्यक्तिलाई आश्रय तथा सुधार सेवामा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन्।
यसैगरी, राति कबाडी संकलनको क्रममा मदिरा सेवन गरी सडकमा बेवारिसे अवस्थामा रहने तथा चोरी र डकैतीजस्ता गतिविधिमा संलग्न हुनेहरूको व्यवस्थापनबारे धरानका कबाडी संघसँग पनि छलफल भएको छ। उक्त छलफलमा राति १० बजेपछि कबाडी संकलन कार्यमा रोक लगाउनेलगायतका विषयमा समन्वय गरिएको छ।
मानवसेवा आश्रम वि.सं. २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट सडकआश्रित, बेसहारा, अभिभावकविहीन बालबालिका तथा जीवन नै जोखिममा रहेका मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण, पुनर्स्थापना तथा पारिवारिक पुनर्मिलन गर्ने उद्देश्यले स्थापना भएको विशुद्ध सामाजिक संस्था हो।
‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल’ निर्माणको संकल्पसहित अघि बढिरहेको आश्रमले हाल देशका २४ जिल्लामा ३५ शाखा विस्तार गरी सेवा प्रदान गर्दै आइरहेकाे छ।







प्रतिक्रिया