Banner news

पाँच तोला सुनको हलोले खनेर गायत्री कोटी हवनको भूमिपूजन

पाँच तोला सुनको हलोले खनेर गायत्री कोटी हवनको भूमिपूजन


झापा । पाँच तोला सुनको हलोले जमिन उत्खनन् गर्दै झापाको शिवसताक्षीस्थित सताक्षीधाममा आगामी माघ ९ गतेदेखि आयोजना हुने गायत्री कोटी हवनको वैदिक विधिपूर्वक भूमिपूजन गरिएको छ ।

ठूला धार्मिक सभा, समारोह तथा उत्सव आयोजना गर्नुअघि शास्त्रीय मान्यताअनुसार सुनको हलोले जमिन उत्खनन् गरी भूमिपूजन गर्नु शुभ मानिन्छ । सोही परम्पराअनुसार पाँच तोला सुनको हलोबाट जमिन खनेर गायत्री कोटी हवनको भूमिपूजन गरिएको हो । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे, कोटी हवन आयोजक समितिका अध्यक्षसमेत रहेका गोलोक गोवर्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाज, विदेशी धार्मिक व्यक्तित्व, स्थानीय जनप्रतिनिधि तथा लब्धप्रतिष्ठित व्यक्तिहरूको सहभागितामा करिब दुई घण्टा लगाएर भूमिपूजन सम्पन्न भएको थियो ।

भूमिपूजन कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका कांग्रेस झापाका सभापति थेबेले इतिहासमै पहिलोपटक गायत्री कोटी हवनको भूमिपूजनमा सहभागी हुन पाएको बताए । ‘म लिम्बूको छोरा हुँ । हिन्दू धर्मशास्त्रअनुसार वैदिक विधि पु¥याएर भूमिपूजन गर्ने मुख्य भूमिकामा रहन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु,’ उनले भने ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फेलगायतको सहभागिता थियो । प्रमुख प्रशासकीय अधिकृत तुम्बाहाम्फेले सताक्षीधाममा आयोजना हुने गायत्री कोटी हवनले धार्मिक मान्यता र महत्व बढाउनुका साथै वातावरणीय संरक्षण तथा यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गरिन् ।

झापाको धार्मिक इतिहासमा कोटी हवनको आफ्नै महत्व छ । २०४२ सालमा हालको कन्काई नगरपालिका क्षेत्रमा रहेको कोटी हवनस्थलमा योगी नरहरिनाथले कोटी हवन आयोजना गरेका थिए । त्यसको करिब चार दशकपछि अहिले शिवसताक्षीको शताक्षीधाममा पुनः गायत्री कोटी हवन आयोजना हुन लागेको हो । फरक स्थानमा हुन लागेको यस धार्मिक अनुष्ठानले झापाको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

माघ ९ गतेदेखि सञ्चालन हुने गायत्री कोटी हवनले शताक्षीधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ । धार्मिक अनुष्ठानमा स्वदेश तथा विदेशका धार्मिक व्यक्तित्व र श्रद्धालुहरूको सहभागिता रहने विश्वास गरिएको छ । यसले स्थानीयस्तरमा धार्मिक गतिविधि बढाउनुका साथै पर्यटन, स्थानीय व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu