बाह्रदशी

बाह्रदशीमा सवारी दुर्घटना : दुई युवकको मृत्यु, धान काट्ने मेसिनका चालक फरार

बाह्रदशीमा सवारी दुर्घटना : दुई युवकको मृत्यु, धान काट्ने मेसिनका चालक फरार


बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका–५ स्थित खटखटी टोलमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । धान काट्ने मेसिनका गाडी चालक फरार भएका छन् ।

बुधबार राति करिब १० बजेर ४० मिनेटको समयमा चारपाने–राजगढ भित्री सडक खण्डअन्तर्गत राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन गाडी एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फुलबारीबाट प्रहरी सहायक निरीक्षक पुष्पलाल मिश्रको कमाण्डमा टोली खटिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने धान काट्ने मेसिन गाडी छोडेर चालक फरार भएका थिए । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब उपरीक्षक सन्तोष पाठकको कमाण्डमा समेत टोली खटिएको थियो ।

आज राति १२ बजेर ४५ मिनेटको समयमा कानुनी प्रक्रिया पूरा गरी दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । सुरुमा स्थानीयवासीले बाह्रदशी–५ चकचकीका व्यक्ति हुन सक्ने अनुमान गरे पनि पछि मृतकका आफन्तमार्फत दुवै जनाको पहिचान खुलेको छ । मृतकहरूमा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–२ निवासी टेक नारायण राजवंशीका १७ वर्षीय छोरा अशोक राजवंशी र मोटरसाइकलको पछाडि सवार बाह्रदशी गाउँपालिका–३ निवासी गोकुल ताजपुरियाका २० वर्षीय छोरा गोपाल ताजपुरिया रहेका छन् ।

आजै बिहान साढे २ बजे दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीमा र धान काट्ने मेसिन गाडी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा ल्याई राखिएको छ । घटनामा संलग्न धान काट्ने मेसिनका चालकको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu