शनिश्चरे । अर्जुनधारा नगरपालिका ५ र ७ संयुक्त कैलाशघाट व्यवस्थापन समितिको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
घाट व्यवस्थापन समितिद्वारा आज आयोजित साधारणसभामा पेश गरिएको प्रतिवेदनहरु पारित गर्दै कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिका ५ का वडा अध्यक्ष गीताराज खड्काले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष केदारनाथ पराजुलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार वर्तमान कार्यसमिति गत २०८१ पुसमा साधारणसभाबाट निर्वाचित भई अहिले दोस्रो वर्षमा प्रवेश गरेको जानकारी गराउँदै हाल र पूर्व कार्यसमितिका पदाधिकारीहरुको महत्वपूर्ण सहयोग रहेको छ । घाट स्थापना र नामाकरण गर्ने यस क्षेत्रका उपभोक्ता तथा अर्जुनधारा जलेश्वरधामका प्राचार्य स्व. पुष्पलाल निरौला , स्व. बृजमोहन गट्टानी ,बलराम गुरागाँई लगायतको महत्वपूर्ण योगदान रहेको प्रतिवेदनमा उल्लेख छ ।

गत आव ०८२-०८३ मा अर्जुनधारा नगरपालिका ७ नम्बर वडा कार्यालयबाट २ लाख रुपैयाँ सहयोग भई कैलाशघाट जाने बाटो निर्माण सम्पन्न भएको छ । सूर्योदय डेरी उद्योग प्रालिबाट शव दाह गृह निर्माणका लागि ५ कठ्ठा नम्बरी जग्गा सहयोग भइसकेको छ ।
त्यस्तै यसअघि स्थानीय रामचन्द्र चिमरियाबाट १० धुर जग्गा सहयोग भएको थियोे । आव ०८३-०८४ का लागि राष्ट्रपति चुरे तराई मधेस विकास समिति सलकपुर मोरङबाट घाट तटबन्धनका लागि २० लाख रुपैयाँ, अर्जुनधारा ५ वडा कार्यालयबाट २० लाख , जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय भद्रपुरबाट ५ लाख रुपैयाँ विनियोजन भइसकेको छ । बाँकी तटबन्धनका लागि अर्जुनधारा नगरपालिकासँग पहल भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै महासचिव मेदनी प्रसाद ढुंगेलले भावी कार्ययोजनासहित आर्थिक वर्ष ०८२-०८३ को आम्दानी ४२ हजार २ सय ३० र खर्च तर्फ ४१ हजार २ सय ३० रुपैयाँ हिसाबकिताब प्रस्तुत गरेका थिए । बैंक मौज्दात ५ हजार रुपैयाँ रहेको उल्लेख छ ।
सोही अवसर पारेर कैलाशघाट करिब २०० मिटर उत्तर पूर्वमा घाट सामुदायिक भवन निर्माण गर्नका लागि अर्जुनधारा ५ का वडाध्यक्ष गीताराज खड्काले व्यक्तिगत २१ हजार, ७ का वडाध्यक्ष गोविन्द प्रसाद खतिवडाले ११ हजार, कमल गुरागाँईले २० हजार, जग्गादाता रामचन्द्र चिमरियाले १२ हजार , छविलाल शिवाकोटी र इन्द्र लक्ष्मी गुरागाँई निरौलाले ५ हजार ५ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
अध्यक्ष पराजुलीको सभापतित्व र सदस्य हरिभक्त बरालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि खड्का , विशिष्ट अतिथि एवं अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्द प्रसाद खतिवडा, घाट संस्थापक अध्यक्ष युवराज धिताल, संरक्षक धर्मनन्द गुरागाई, अर्जुनधारा जलेश्वरधामका वरिष्ठ उपाध्यक्ष चन्द्रकला भण्डारी ,लेखा संयोजक कृष्णप्रसाद पौडेल, दाता छविलाल शिवाकोटी, कमल गुरागाँई, इ. शंकर सुवेदीले आधुनिक घाट निर्माणका लागि आफ्नो धारणा राखेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शान्ति प्रसाद चौहानले राखेका थिए ।
यसअघि कार्तिक १७ गते प्रतिनिधिसभाका सांसद एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले कैलाशघाटमा अर्जुनधारा जलेश्वरधामबाट ५० हजार लिटर पानी ल्याउन जमिनमुनी पानीको ट्याङ्की निर्माणका लागि शिलान्यास गरेका थिए ।







प्रतिक्रिया