Banner news

बिर्तामोड खानेपानीको चुनावमा कांग्रेस नेतृत्वको दुई समूहबीच रोचक भिडन्त

बिर्तामोड खानेपानीको चुनावमा कांग्रेस नेतृत्वको दुई समूहबीच रोचक भिडन्त


बिर्तामोड । बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आसन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको दुई वटा समूहबीच रोचक भिडन्त हुने भएको छ ।

यहि मंसिर १४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षबाट देबेन्द्र सिटौलाको नेतृत्वमा नेकपा एमाले, श्रम संस्कृति पार्टी र नेपाली कम्युनिष्ट पार्टीले संयुक्त प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाली कांग्रेसले कोषाध्यक्षमा केशव श्रेष्ठलाई उम्मेद्वार बनाएको छ भने सदस्यमा राम प्रसाईं र गजेन्द्र ओलीलाई उठाएको छ ।

दलीय भगवण्डा अनुसार कांग्रेस अध्यक्ष र कोषाध्यक्षसहित चार, एमाले सचिवसहित दुई, श्रम संस्कृती पार्टी उपाध्यक्षसहित दुई र नेपाली कम्युनिष्ट पार्टीले एक सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी काग्रेसको विशेष महाधिवेशन पक्षबाट पारस मैनालीको नेतृत्वमा राप्रपा सम्मिलित दुई दलीय प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

नियमित महाधिवेशन पक्ष काग्रेस नेतृत्वको प्यानलबाट एमालेका प्रदिप खरेल सचिव र सदस्यमा निर्मला खरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यसैगरी यो प्यानलबाट श्रम संस्कृति पार्टीका सुबास मोक्तान उपाध्यक्ष र गंगादेबी कन्दङवाले सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पुनम अधिकारी लिम्बुले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
कांग्रेसको बिशेष महाधिवेशन पक्षधर नेतृत्वको प्यानलबाट उपाध्यक्षमा सैलेश सिटौला, कोषाध्यक्षमा आनन्द गुरुङ्ग, सदस्यमा बिरण कुमार कोइराला, कमला अग्रवाल, शोना श्रेष्ठ र किरण सुब्बाले उम्मेदवारी दर्ता गराउनु भएको छ भने यो प्यानलमा राप्रपाले सचिवमा खगेन्द्र थापा र सदस्यमा बिकाश रिजाललाई उम्मेद्वार बनाएको छ ।

प्यानलमा काग्रेसको बिशेष महाधिवेशन पक्षले सात र राप्रपाले पाँच पदमा उम्मेदवार उठाएका छन् । यो पक्षले आफ्नो समूहलाई राष्ट्रवादी प्रजातान्त्रिक प्यानल नाम दिएको छ भने नियमित महाधिवेशन पक्ष नेतृत्वको समूहलाई स्वतन्त्र समावेशी प्यानल नाम दिइएको छ ।

नेपाली कांग्रेस विशेष र नियमित महाधिवेशन खेमामा बिभाजित भएर अलग–अलग महाधिवेशन गर्न लागेपछि त्यसको प्रभाव विभिन्न जिल्लाका संघ संस्थाका चुनावहरुमा देखिन थालेको छ ।

यो बिभाजनको असर आगामी स्थानीय र प्रदेशसभाको निर्वाचनमा पनि राम्ररी नै पर्ने देखिएको छ । कांग्रेसका शुभचिन्तकहरु दुवै पक्षले आ–आफ्नो हठ त्यागेर चाडै एकतावद्ध भएको देख्न चाहिरहेका छन् । कतिपयले खानेपानीमा नेपाली कांग्रेसहरु एकै प्यानलबाट उम्मेदवार बन्नुपर्नेमा जोड दिदैं आएका थिए ।

शेयर गर्नुहोस :

432
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu