झापा । निर्वाचनका बेला जनतासँग गरेको खेलकुद विकासको प्रतिबद्धता कार्यान्वयन गर्दै झापाको शिवसताक्षी नगरपालिकाले दुधे रंगशालामा फ्लडलाइट जडानको प्रक्रिया अघि बढाएको छ । नगरप्रमुख मेगाहाङ थोप्राले खेलकुदका माध्यमबाट नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने योजनाअनुसार रंगशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्ने तयारी गरिएको बताएका छन् ।

दोस्रो झापा महिला गोल्डकपको उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले पहिलो संस्करणको सफलतापछि खेलकुद पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । उनका अनुसार दुधे रंगशालामा फ्लडलाइट जडानका लागि पहिलो चरणको एक करोड तीन लाख रुपैयाँको ठेक्का आह्वान भई प्रक्रिया टुंगिएको छ । सम्झौता हुनासाथ काम सुरु हुनेछ । आवश्यक थप बजेट जुटाउन सके आगामी पुसभित्रै रंगशालामा फ्लडलाइट जडान गर्न सकिने नगरपालिकाको अपेक्षा छ ।
‘हामी खेलकुदका माध्यमबाट शिवसताक्षी नगरलाई देशविदेशमा चिनाउन चाहन्छौँ । त्यसका लागि नगरकार्यपालिका दत्तचित्त भएर लागेको छ,’ नगरप्रमुख थोप्राले भने । उनले आगामी वर्ष आयोजना हुने तेस्रो झापा महिला गोल्डकप उद्योगी, व्यवसायी, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण सबैलाई पायक पर्ने समयमा हेर्न सक्ने वातावरण बनाउने लक्ष्यसमेत सुनाए ।
फ्लडलाइट जडानका लागि करिब चार करोड रुपैयाँ लागत अनुमान गरिएको छ । उक्त रकममा पहिलो चरणको एक करोड तीन लाख रुपैयाँसमेत समावेश छ । अब थप डेढदेखि दुई करोड रुपैयाँ अनुदान प्राप्त भए पुसभित्रै फ्लडलाइट जडान गर्न सकिने नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर उत्तम बरालले बताए । बाँकी बजेटका लागि संघीय तथा प्रदेश सरकारसँग सहकार्य गर्ने नगरपालिकाको तयारी छ ।
योजनाअनुसार रंगशालाको चार कुनामा ३० मिटर अग्ला चारवटा टावर निर्माण गरिनेछ । पहिलो चरणमा टावरसँगै जेनेरेटर, ट्रान्सफर्मर र विद्युत् पुर्याउन आवश्यक केबलको व्यवस्था हुनेछ । दोस्रो चरणमा प्रत्येक टावरमा कम्तीमा एक हजार वाट क्षमताका बत्ती जडान गरिनेछ । प्रकाशको गुणस्तर लक्सको मापदण्डअनुसार कायम गरिने र मैदानमा १२ सयदेखि १४ सय लक्ससम्म प्रकाश पुर्याउने लक्ष्य रहेको इन्जिनियर बरालले बताए । पर्याप्त प्रकाशका कारण खेलाडी तथा खेल सामग्रीको छायाँले खेलमा बाधा नपुग्ने गरी व्यवस्था गरिने उनको भनाइ छ ।
फ्लडलाइट जडानपछि दुधे रंगशालामा फुटबलसँगै एथलेटिक्सलगायतका खेलकुद गतिविधि रातिको समयमा पनि सञ्चालन गर्न सकिनेछ । यसले प्रतियोगिता आयोजना गर्ने समय बढाउनुका साथै खेलाडीलाई अभ्यासको थप अवसर र दर्शकलाई अनुकूल समयमा खेल हेर्ने सुविधा दिनेछ । रात्रिकालीन खेलकुद गतिविधिले आसपासका होटल, यातायात, खानपान तथा व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने शिवसताक्षी नगरपालिका–८ का वडाध्यक्ष सन्तकुमार फेउदिनले बताए ।
नगरप्रमुख थोप्राले निर्वाचनका बेला जनताको घरदैलोमा पुगेर आफू र आफ्नो पार्टीले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न योजना प्रस्तुत गरेको स्मरण गरे । ती योजना क्रमशः कार्यान्वयन हुँदै जाँदा आत्मसन्तुष्टि मिलेको र नगरवासीको खेलप्रतिको उच्च मोहको सम्मान भएको उनको भनाइ छ । ‘जनतासँग गरेको वाचा यो पनि पूरा भयो भने कुनै प्रतिबद्धता बाँकी रहने छैनन्,’ उनले भने ।
दुधे रंगशालाको विकास पनि स्थानीय खेलप्रेमीको लामो प्रयासको परिणाम हो । करिब दुई दशकअघि सामान्य खेलमैदानका रूपमा रहेको दुधेमा स्थानीयले फुटबल खेल्दै आएका थिए । पछि भवानी स्मृति कप, पूर्वाञ्चलस्तरीय प्रतियोगिता र ए डिभिजन क्लब सहभागी दुधे गोल्डकप आयोजना हुन थालेपछि यसले फुटबल क्षेत्रमा पहिचान बनाएको हो । त्यसपछि व्यवस्थित रंगशालाका रूपमा विकास गर्ने प्रयास अघि बढेको थियो ।
शिवसताक्षी नगरपालिकाले २०७४ सालमा रंगशालाको गुरुयोजना तयार गरेपछि पूर्वाधार निर्माणलाई तीव्रता दिएको हो । स्थानीय सरकारको लगानी र खेलप्रेमीको सक्रियतामा मैदान स्तरोन्नति, स्थायी प्यारापिट, मञ्चलगायत संरचना निर्माण हुँदै आएका छन् । झापा महिला गोल्डकपजस्ता ठूला प्रतियोगिता आयोजना हुन थालेपछि दुधे रंगशालाले जिल्लाकै प्रमुख खेलकुद केन्द्रका रूपमा पहिचान विस्तार गरिरहेको छ ।
नगरपालिकाले अघि बढाएको फ्लडलाइट योजना कार्यान्वयन भए दुधे रंगशाना दिउँसो मात्र नभई राति पनि खेलकुद गतिविधि सञ्चालन गर्न सकिने सुविधायुक्त स्थल बन्नेछ । नगरप्रमुखको निर्वाचनकालीन प्रतिबद्धतालाई पूर्वाधार विकाससँग जोड्ने यो योजनाले खेलकुद, खेल पर्यटन र स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया