अर्जुनधारा

अर्जुनधारामा महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको तयारी तिब्र

अर्जुनधारामा महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको तयारी तिब्र

इन्द्रकुमार राई


शनिश्चरे । अर्जुनधारा जलेश्वरधामको ४४ औं वार्षिक अनुष्ठानको रुपमा यहि मंसिर १४ देखि २१ गतेसम्म आयोजना गरिने श्रीमद् भागवत पुराणको अवसर पारेर सन्तलाल, बृजमोहन गट्टानी स्मृतिमा ९ गते आयोजना गरिने महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

धामद्वारा मन्दिर परिसरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा हाफ म्याराथन प्रतियोगिता समितिका संयोजक मिलन बस्नेत तथा सहसंयोजक प्रशान्त भण्डारीले म्याराथन प्रतियोगिताको तयारी तिव्र भइरहेको जानकारी दिए । समितिका अनुसार जलेश्वरधामको आयोजना र नगर खेलकुद विकास समिति अर्जुनधारा नगरपालिकाको संयोजनमा लागूऔषध दुव्र्यसन न्यूनीकरण तथा धामको प्रवद्र्धनका लागि हाफ म्याराथन प्रतियोगिता आयोजना गरिन लागेको हो । प्रतियोगिताका लागि मापदण्ड पुगेका सहभागी हुनेहरुले ९ गते बिहान ठिक ७ बजे आइसक्नु पर्नेछ ।

धावकहरुलाई टि–सर्ट र दौड समापन पश्चात् चिया – खाजाको व्यवस्था गरिनेछ । रेफ्री र स्वयंसेवकहरु धावकहरुको अगाडि र पछाडि भएर लाग्नेछन् । पूर्व घोषित म्याराथन रुट (बाटो) अनुसार अर्जुनधारा मन्दिर देखि शनिश्चरे बजार हुदै शिवमुर्ति – सालबारी चोकबाट खरबन्दी चोक – बुद्ध चोकदेखि धाइजन चोक हुदै जयपुर चोक – झम्के चोकबाट नारायण चोक भएर पिपल चोकमा पुगेर दौड समापन हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय ,तृतीय हुने विजेताहरुलाई प्रमाणपत्रसहित क्रमशः १ लाख १ हजार १ रुपैयाँ , ७५ हजार र ५१ हजार रुपैयाँ पुरस्कृत गरिनेछ । त्यस्तै चौथो , पाँचौं , छैटौं , सातौं , आठौं , नवौं र दशौं हुनेहरुलाई प्रमाणपत्र सहित सान्त्वना पुरस्कार स्वरुप प्रतिव्यक्ति १० हजार रुपैयाँले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन चाहने धावकहरुले अनिवार्य नियम पालना गर्नेछ । उमेर १६ वर्ष पुरा भएको हुनुपर्छ । मेडिकल फिट्नेस भएको हुनुपर्छ । लागूऔषध सेवन गरेको पाइएमा प्रतियोगितामा सहभागी गराइने छैन । दौडमा सहभागी हुँदा आकस्मिक दुर्घटना, चोटपटक वा स्वास्थ्य सम्बन्धि गम्भीर जोखिम भए धावकहरुले स्वयं व्यहोर्नुपर्छ । तर, आयोजकले सामान्य उपचार मात्र उपलब्ध गराइनेछ ।

आयोजक समितिद्वारा निर्धारित रुट (बाटो) बाहिर जान पाइने छैन । रेफ्री र स्वयंसेवकको निर्देशन पालना गर्नुपर्छ । प्रतियोगिताको मर्म विपरीत अनुशासन हीन व्यवहार गरेमा वा खेलकुद आचारसंहिता उल्लंघन गरेमा आयोजकले जुनसुकै बेला निस्कासन गर्न सक्नेछ । टाढाबाट आउने सहभागीहरुलाई निःशुल्क आवासको व्यवस्था गरिनेछ । तर आयोजकले तोकेको स्थानमा बस्नु पर्नेछ ।

अनलाइन मार्फत आवेदन फारम भर्न समय मंसिर ७ गते ५ बजेसम्म रहेता पनि बेलुकीसम्म सहभागी हुनेहरु सहभागिता जनाउन पाउने छन् । धामका उपाध्यक्ष भिमचन्द्र भट्टराईको अध्यक्षता तथा महासचिव शिवलाल खतिवडाको सञ्चालनमा भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, सामाजिक व्यत्तित्व लवकुश गिरी, धामका उपाध्यक्ष चन्द्रकला भण्डारी , कोषाध्यक्ष मनोज जोशी, सदस्यहरु भूपेन्द्र शिवाकोटी ,राधा बुढाथोकी , पुनम सुवेदी , रमा चापागाईं, श्याम घिमिरे ,हरिभक्त बराल ,रमेश त्रिखत्री लगायतको उपस्थिति रहेको थियोे ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu