सन्तानको निगरानी गर
सम्पादकीय
झापा लागुऔषध दुव्र्यसनका दृष्टिले जोखिमपूर्ण बन्दैछ । विभिन्न तथ्याङकले झापामा बढ्दै गएको जोखिम १० वर्षपछि प्रत्येक घरमा एक जना प्रयोगकर्ता हुन सक्ने विष्लेषण भइरहेको छ । प्रयोगकर्ताको संख्या र कारोवार उपत्यका पछि दोस्रो नम्बरमा झापा रहेको तथ्याङकहरुले देखाएको छ । यतिसम्म कि झापाको कारागारमा अहिले सबैभन्दा बढि कैदीबन्दी यहि मुद्दाका छन् । खुल्ला सिमा नै मुख्य कारण भनिँदै आएको लागुऔषधको समस्या समाधानमा अब प्रभावकारी अभियानको खाँचो भइसकेको छ ।

लागुऔषध दुव्र्यसनमा फसेको उमेर समूह ३० वर्षभन्दा मुनिका छन् । १५ वर्षभन्दा माथि ३० वर्षसम्मका किशोरहरु दुव्र्यसनमा लागेको दर उच्च छ । यो उमेर समूहका किशोर समूह कतै निगरानीको अभावले यता लागेका त होइनन् ? सामाजिक रुपमा यसको खोजी हुन जरुरी छ । सम्पन्नदेखि विपन्न परिवार सबै परिवारमा यसका प्रयोगकर्ता बढ्दैछन् । प्रहरीको तथ्याङकमा सम्पन्न परिवारकै सदस्य दुव्र्यसनमा फसिरहेका छन् । यसको अर्थ, परिवारको उचित निगरानी नै नहुनु हो । आफ्नो सन्तान कुन बाटो हिड्दैछ ? खोजी गर्न ढिला भइसकेको छ ।
छोराछोरीको इच्छा पुरा गर्ने सबै अभिभावकको चहाना हुन्छ । आवश्यक खर्चको व्यवस्थापनमा अभिभावकले खासै अप्ठ्यारो नमान्दा कतै दुरुपयोग त भइरहेको छैन ? सबै आमा बुबाले सन्तानलाई निगरानी गर्न जरुरी । आफ्नो सन्तानको हिडडुल, उठबस को सँग भइरहेको छ ? यसलाई गम्भीर भएर नसोच्ने हो भने तपाईको सन्तान लागुऔषधमा नफस्ला भन्न सकिन्न ? बिर्तामोडका अधिकांश घारीमा प्रयोगकर्ता भेटिन्छन् ? त्यहाँ भेटिएकाहरु तपाईको सन्तान पनि सक्छ । सजग बन्नुहोस्, आफ्नो सन्तानलाई बेलैमा सुरक्षित बनाउनुहोस् ।